धरान । एक साता भन्दा लामो समय अगाडिदेखि कमिशनको विषयलाई लिएर आन्दोलित व्यवसायीको आन्दोलनका कारण ठप्प रहेको पेट्रोलिय पदार्थमा विस्तारै सहज बन्दै गएको छ ।
लामो समयदेखि ठप्प रहेको पेट्रोलियम पदार्थ धरानमा सोमबार विक्री वितरण गर्दा सर्वसाधारणको लाइन हेर्न लायकको थियो । लामो समय सम्म आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायी बिच भएको छलफल पश्चान पेट्रोलियम पदार्थको सहजताका लागि आइतबार राति धरानका विभिन्न पेट्रोल पम्पमा ३२ हजार लिटर पेट्रोल आएको थियो । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका केन्द्रीय सदस्य गोपाल श्रेष्ठका अनुसार तीनकुने पम्पमा ४ हजार, अरुण पेट्रोल पम्पमा ५ हजार, अटल पेट्रोल पम्पमा ५ हजार, हिमालय पेट्रोल पम्पमा ५ हजार, राजेश पेट्रोल पम्पमा ८ हजार र श्यामभक्त पेट्रोल पम्पमा ५ हजार लिटर पेट्रोल आएको थियो ।
पेट्रोलियम पदार्थ पम्प आएको सुन्ने वित्तिकै सर्वसाधारण राति एक बजेदेखि नै लाइनमा लागेका थिए । धरान १५ का लक्ष्मण थापाले ६ बजे हिमालय पेट्रोल पम्पमा आएर लाइन लाग्दा पनि पालो आउने बेलामा तेल सकिएर फर्किनु परेको बताए । उनले भने, ‘स्कुटरमा एक थोपा तेल पनि थिएन, तेल आयो भनेर लाइनमा बसे, अन्तिममा मेरो पालो आउने बेलामा तेल सकियो, नहाली फर्किए ।
यस्तै टेम्पो चालक हेमराज भुजेलले पेट्रोल सहज रुपमा नपाउदा अप्ठ्यारो परेको बताए । उनले भने, ‘टेम्पोमा पेट्रोल नै छैन, लाइन लागेको पनि दुई घण्टा भइसक्यो, अबचाहि पालो आउन लाग्यो ।’ उनले पेट्रोल अभावका कारण गरिखान समेत मुस्किल भएको बताए । जसले आन्दोलन गरे पनि गरिब मजदुर, सर्वसाधारण नै मारमा पर्ने बताए । थापामा मात्र हैन पेट्रोल आएको सुन्ने मोटरसाइकल चालक, ट्याम्पा चालक, लगायतका सवारी साधनका धनीहरु पम्पमा तेल हाल्नकै लागि लाइनमा बसेका थिए ।
एसोसिएसनका सदस्य श्रेष्ठले धरानमा दैनिक २५ देखि २८ हजार लिटर पेट्रोल खपत हुने गरेको बताए । उनले एक हप्तासम्म सहज रुपमा पेट्रोलियम पदार्थ नआउदा आएको ३२ हजार लिटरले कति पनि नपुगेको बताए । उनले भने, ‘सबैलाई मिलाएर दिने उद्देश्यले हामीले एउटा मोटरसाइकललाई ५ सय रुपैया, ट्याम्पोलाई ७ सय रुपैया र चार चक्के सवारी साधनलाई १ हजार रुपैया बराबरको पेट्रोल वितरण गरिएको बताए ।