धरान । धरानमा स्थानीय चुनावको रौनक शुरु भएको छ । आगामी वैसाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी दलहरुले आफ्नो सक्रियता बढाएका छन् ।
कस्तो उमेद्वारलाई आगामी निर्वाचनमा उमेद्वार बनाउने देखि कुन–कुन दल गठबन्धन गरेर जानेसम्मका छलफलहरु चल्न थालेका छन् । केन्द्रमै सत्ता गठबन्धन गरेका दलहरुले गठबन्धनलाई बलियो बनाउन स्थानीय तहमा पनि गृहकार्य शुरु गरेका हुन् ।
यसैबीच सत्ता गठबन्धन दलहरुले धरानमा संवाद समिति गठन गरेर गठबन्धन गृहकार्य शुरु गरेका छन् । संवाद समितिमा गठबन्धनका नगर अध्यक्षहरु रहेका छन् । धरान २ मा रहेको काँग्रेसको पार्टी कार्यालयमा भएको संवाद समितिमा नेपाली काँग्रेसको तर्फबाट नगर सभापति श्याम पोखरेल, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), जसपाका तर्फबाट अध्यक्ष ताजुब लिम्बु र एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष रेवतीरमण राईलाई गृहकार्यको जिम्मा दिइएको छ । समितिमा काँग्रेसमा १० जना, नेकपा माओवादी केन्द्रमा ४ जना, जनता समाजवादी पार्टीमा ७ जना र नेकपा एकीकृत समाजवादीका ९ जनाको टिम रहेको छ ।
विगतको निर्वाचनलाई हेरेर गठबन्धनले कसरी तयारी गर्ने विषयमा छलफल गरिएको संवाद समितिमा रहेका नेपाली काँग्रेसका सभापति श्याम पोख्रेलले बताए । उनले भने, ‘चुनाव नजिकिदै जादा केन्द्रले समेत गठबन्धनमै जाने निर्णय गरिसकेको अवस्थामा यहा पनि त्यसको तयारीका लागि छलफलमा जुटेका हौं ।’ ०७४ सालको स्थानीय चुनाव र मेयर तारा सुब्बाको निधनपछि ०७५ सालमा भएको उपनिर्वाचनलाई हेरेर कसरी जान सकिन्छ भन्ने कुरामा छलफल केन्द्रित भएको उनको भनाई छ ।
पाच बर्षे कार्यकालमा सर्वसाधारणले निर्वाचित जनप्रतिनिधिहरुले काम गर्न नसकेको आरोप लागि रहेका बेला दलहरुले साझा धारणा बनाएर अघि बढ्नकै लागि छलफल शुरु गरेको जनाइएको छ ।
धरान ‘लालकिल्ला’ भएपनि तत्कालीन मेयर तारा सुब्बाको निधनपछि भएको उपनिर्वाचनमा ‘लालकिल्ला’ तोडेपछि एमालेभित्र पनि चुनौति थपिएको छ । फेरि पनि एमालेलाई स्थानीय सरकारमा आउन नदिन गठबन्धन दलहरु छलफलमा जुटेका हुन् ।
धरानमा २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर र उपमेयरसहित बहुमत १४ वडामा एमालेले जितेको थियो भने ५ वटा वडामा कांग्रेस र एउटा वडामा नेकपा माओवादीले जितेको थियो । मेयर तारा सुब्बाको निधनपछि भएको उप निर्वाचनमा काँग्रेसले मेयर पद जितेको थियो । जसरी भएपनि यसपटकको स्थानीय चुनावमा एमालेलाई पाखा लगाउनकै लागि सत्ता गठबन्धन पार्टी छलफल र गृहकार्यमा जुटेको छलफलमा सहभागी एक नेताले बताए ।