धरान । खोटाङको हेलसी तुवाचुङ नगरपालिकाले लैङ्गिक असमानतार्ला हटाउन उदाहरणीय काम शुरु गरेको छ ।
नगरपालिकाले छोरा र छोरीमा विभेद नहोस् भन्ने उद्देश्यले छोरी जन्मिनासाथ १२ हजार रुपैयाँ प्रदान गर्न थालेको छ । नगरपालिकाले ‘बालिका बचत’ कार्यक्रमअन्तर्गत १२ हजार बालिकालाई उक्त रकम दिने गरेको हो ।
नगरपालिककाले १२ हजार प्रदान गर्ने भएपनि एकै पटक भने दिने गरेको छैन । प्रदान गरिने रकम चार बर्षभित्रमा १२ प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यसका लागि छोरीको नाममा बैंकमा खाता खोल्ने र आमा गर्भवती हुँदा नियमित स्वास्थ्य परीक्षण गरेको र बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रमाण सम्बन्धित वडा कार्यालयमा उपलब्ध गराउनुपर्ने नियम राखेको छ ।
नगरपालिकाकाका एक कर्मचारीका अनुसार सम्बन्धित पक्षले उपलब्ध गराएको प्रमाणका आधारमा वडाले सिफारिस दिने र वडाको सिफारिसका आधारमा नगरपालिकाले सम्बन्धित बालिकाको नाममा रकम जम्मा गर्ने गरेको छ । जम्मा गरिएको भौचर भने सम्बन्धित आमालाई दिने गरेको नगरपालिकाले जनाएको छ ।
समाजमा लैङ्गिक हिंसा बढ्दै गएपछि यसको अन्त्य गर्न यो अभियान चलाइएको नगरपालिकाकी उपमेयर विमला राईले बताइन् । उनले भनिन–‘समाजमा अझै पनि छोरा र छोरीबीचको विभेद विद्यमान छ, यसको अन्त्य गर्न पनि हामीले यो योजना अगाडि बढाएका हौं ।’
उनले छोरी जन्माएको भन्दै आमालाई हेला गर्ने चलन अझै समाजमा कायमै रहेको बताउदै यस्ता कार्यक्रमले समाजमा लैङ्गिक असमानता हटेर जाने विश्वास व्यक्त गरिन् ।
उनले यो कार्यक्रम प्रभावकारी बन्दै गएको दाबी गरिन् । उनले भनिन–‘हामीले अघिल्लो वर्षबाट सुरु गरेको ‘बालिका बचत’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रम सुरु भएयता हालसम्म नगरपालिकाका १ सय २९ बालिकाको नाममा खाता खोलेर रकम बचत भइसकेको छ ।’
नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले काअ नुसार हालसम्म ४६ जना बालिकाको नाममा खोलिएको बचत खातामा दोस्रो किस्ता र ८३ जनाको खातामा पहिलो किस्ताबापतको रकम जम्मा भएको छ । छोरी जन्माउने प्रायः सबै आमा बैंकमा खाता खोलेर नगरपालिकाको कार्यालयमा आउने गरेका राई बताउछिन् ।
उपप्रमुख राईले यो कार्यक्रम ल्याएपछि नगरपालिकाभित्र मातृ तथा शिशु मृत्यु दरमा समेत कमी आएको दाबी गरिन् । उनले भनिन्–‘नगरपालिकाले ‘बालिका बचत’ कार्यक्रम सुरु गरेदेखि मातृ तथा शिशु मृत्युदरमा समेत कमी आएको छ ।’