धरान । आफ्नै अनुयायीलाई जबरजस्ती करणी गरेको मुद्धा खेपिरहेका बराहक्षेत्र चतराधामका सिद्धबाबा कृष्णबहादुर गिरीविरुद्धको मुद्दामा उच्च अदालत विराटनगरले चैत १५ गतेका लागि अर्को पेशी तोेकेको छ ।
उच्च अदालत विराटनगरले मुद्दाको पेशीमा आज भएको गोलाप्रथामा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इजलासमा परेको थियो । उक्त इजलाशमा सुनुवाइपछि मुख्य न्यायाधीश श्रेष्ठले ‘म रहितको इजलाशमा पेश गर्नु’ भन्ने आशयको आदेश गरेका थिए ।
सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा सिद्धबाबा भनिने गिरीले बलात्कार गरेको नभइ मिलेमतोमा करणी गरेको आशय उल्लेख छ । सिद्धबाबाकी भक्तजन पीडित २६ वर्षीय महिलाले आफूमाथि बलात्कार नै भएकोले कारबाहीको माग गर्दै जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गराएकी हुन् । दुई वर्ष अघि २०७६ पुस १० गते सिद्धबाबा विरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो भने २०७७ मङ्सिर २२ गते जिल्ला अदालत सुनसरीले फैसला दिएको थियो ।
न्यायाधीश श्रेष्ठले यसअघि सुनसरी जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाड्न दिएको आदेशलाई बदर गर्ने फैसला गरेका थिए । दोस्रो पटक सोही मुद्दा हेर्न नमिल्ने उनको आदेशमा उल्लेख रहेको उच्च अदालत विराटनगरका रजिष्टार ओमराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार अब उच्चमा भएका १० जना न्यायाधीशमध्ये ५ जनाले मुद्दा हेर्न नमिल्ने भएको छ । सोही मुद्दामा न्यायाधीश प्रेमराज ढकाल र रेणुका साहले नेपाल सरकारले गरेको पुनरावेदनमा दुवै पक्षका झगडिया झिकाउने आदेश दिएका थिए । साह सरुवा भएपनि ढकाल उच्च अदालतमै रहेका छन् ।
यस्तै न्यायाधीश राजन प्रसाद भट्टराईको प्रतिवादीका तर्फबाट बहस गर्ने बरिष्ठ अधिवक्ता रमेश कोइरालाका नातेदार हुन् । उनले पनि सो मुद्दा हेर्न नमिल्ने भएको छ । यस्तै न्यायाधीश कृष्णकमल अधिकारी र जगतनारायण प्रधानले पनि सोही मुद्दामा झगडिया झिकाउने आदेश गरेका थिए ।
गिरीले पनि जिल्ला अदालतको फैसलामा आफ्नो ब्रम्हचार्य तोडिएको फैसला आएको भन्दै त्यस्तो नभएको कारण सफाइको माग गर्दै अर्को मुद्दा दर्ता गराएका छन् । दुवै मुद्दालाई एकै ठाउँमा राखेर अदालतले सुनुवाइ गर्ने भएको छ ।