धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
मङ्गलबार एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले स्वदेश तथा विदेशमा रहेका तामाङ समुदाय लगायत सम्पुर्ण नगरबासी दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।
‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता चाडपर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रुपमा रहेका छन्,’ मेयर राईले शुभकामना सन्देशमा उल्लेख गरेका छन्, ‘यस्तो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायमा पनि महत्वपुर्ण मानिन्छ । सोनाम ल्होसारले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
साथै, मेयर राईले कोरोना महामारीको संक्रमणको जोखिमबाट मुक्त भई नसकेको जनाउँदै कोरोनाको संक्रमणबाट सचेत र सजग रहन पनि आम नगरबासीमा आग्रह गरेका छन् । ‘यस्तो प्रतिकुल परिस्थीतिमा स्वास्थ्य सुरक्षाका आवश्यक उपायहरु अवलम्बन गर्दै पर्व मनाउने तर्फ सचेत रहन पनि आग्रह गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।
सोनाम ल्होसार पर्वले नेपालको सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरि स्वच्छ, सुखी र समुन्नत नगर निर्माणको दिशामा अगाडी बढ्न समेत मेयर राईले आग्रह गरेका छन् ।