धरान । बेला बितेपछि गाउँमै पनि तोरीको साग ‘चिज’ हुन्छ । सिजनमा समेत मुठाको २० रुपैयाँ भन्दा कम्तिमा पाइँदैन ‘तोरीको साग’ । उदयपुरको बेलका–९ कमलाबारीका प्रदीप खड्का घरैमा मुठाको १० रुपैयाँमा साग पाएपछि खुसी भए । तर उनले त्यो सागलाई बीसै रुपैयाँ तिरे ।
छिमेकमा रहेको वरपीपल माध्यमिक विद्यालयका विद्यार्थीले गरेको मिहिनेतले प्रदीप खड्कामात्र होइन, विद्यालय वरपर घर भएकाहरु सबै प्रभावित छन् । घरमा ‘सिन्का नभाँच्ने’ केटाकेटी विद्यालयमा मिहिनेतले सामूहिक खेती गरिरहेका भेटिन्छन् । विद्यार्थीको मिहिनेतको सही मूल्याङ्कन गर्दै खड्काले बीसै रुपैयाँ दिए ।
‘समाजले मिहिनेतको उचित मूल्याङ्कन गर्छ भन्ने सिकाइ विद्यार्थीले सिक्नु आवश्यक छ ।’ खड्काले भने । छिमेकी राजकुमार परियारले पनि विद्यार्थीको शिक्षणसँगैको अतिरिक्त सिकाइको सह्राना गरे । उनले पनि विद्यार्थीको सिकाइको मूल्याङ्कन गर्दै साग किनेर सहयोग गरे ।
कक्षा १० मा अध्ययनरत आस्मा दर्जी र उनका साथीहरुले १ हजार रुपैयाँको तोरीको साग छिमेकमै बेचे । मकर विष्ट, अमृता विक, अर्जुन पोख्रेललगायतका स्थानीय व्यापारीले स्कुलमै आएर विद्यार्थीको हौसला बढाइदिए । उनीहरुको उत्पादनलाई खरिद गर्ने व्यापारीले आश्वासन दिए । ‘थोरै उत्पादन भएकाले बजारसम्म लानु परेन, स्कुलमै बिक्री भयो,’ खुसीको आभा आस्माको अनुहारमा देखियो । उनले भनिन्, ‘साँच्चै मिहिनेतको फल पाएजस्तै भयो ।’
आस्माका साथीहरु प्रशान्त थापा, आसिका फुएल, पवन भन्डारी, सोनी परियार र अनिल राईले श्रमको महत्व बुझेको बताए । वरपीपल माध्यमिक विद्यालयले शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने अभियान थालेको व्यवस्थापन समितिका अध्यक्ष भरत घिमिरेले बताए ।
भविष्यमा उद्यमि, व्यावसायिक, सीपयुक्त एवम् स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन गरेको अध्यक्ष घिमिरेले बताए । घिमिरेले आफ्नो विद्यालयले नौलो कार्यक्रम गरेको दाबी गरे । विद्यार्थीलाई नैतिक तथा सर्वाङ्गिण विकास र जीविकोपार्जनका लागि उत्साह दिने र गरीखाने शिक्षण सिकाइलाई प्रोत्साहन गरेको अध्यक्ष घिमिरेले बताए ।
७ सय विद्यार्थी रहेको विद्यालय बेलका नगरपालिकाको केन्द्रमा छ । विद्यालयसँग उपलब्ध खाली जग्गामा अहिले तोरी, रायो, खुर्सानी, प्याज, आलु, लसुनलगायत तरकारीका किसिम देख्न सकिन्छ । ‘निकट समयमा च्याउ, मौरी र बाख्रासमेत पालन गर्ने योजना छ ।’ कक्षा १० का प्रशान्त थापाले भने ।
विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म ‘पेशा–व्यवसाय’ विषयसमेत पढाइ हुँदै आएको छ । विद्यार्थीले पढाइसँगै खेती पनि सुरु गरेका छन् । जसले उनीहरुलाई रोजगारी र आम्दानी पनि दिलाइरहेको छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिेरे भन्छन्, ‘मुख्य कुरा उद्यम चलाउने साहस बटुलिरहेका छन् । कृषि सबैले हेला गर्ने क्षेत्र होइन भन्ने स्थापित पनि गराइरहेका छन् । विद्यालयले विद्यार्थीलाई पढ्न मात्र नभएर उत्पादन गर्न पनि सिकाइरहेको छ ।’ बेलका नगरपालिकाको सहयोगमा सुरु भएको कार्यक्रममा अहिले विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यार्थी सबै लागि परिरहेका छन् ।
वरपिपल माध्यमिक विद्यालयमा अहिले सुनसरी र उदयपुर जिल्लाका विभिन्न ठाउँबाट विद्यार्थी नियमित पढ्न आउँछन् । ‘नेपालमा समुदायमा आधारित शिक्षा उपयुक्त छ । शिक्षा क्षेत्र पनि समुदायले चलाएको हो । समुदायलाई पनि शिक्षित, जिम्मेवार बनाउनुपर्छ,’ विद्यालयका प्रधानाध्यापक चन्द्रनारायण तामाङले भने, ‘राजनीतिक नेतृत्वलाई उत्तरदायी र शिक्षकहरुलाई प्रतिबद्ध बनाउन सकेमात्रै नेपालको शिक्षा जीवनोपयोगी हुन्छ, शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्दै लानुपर्ने अवस्था छ ।’
टाढाका विद्यार्थीलाई साइकल
नियमित र टाढाबाट आउने विद्यार्थीलाई विद्यालयले साइकल उपलब्ध गराएको छ । विद्यालयले छोटो समयमा उल्लेखीय भौतिक पूर्वाधारको विकास गरेको छ । गुणस्तरीय शिक्षामा अग्रणी रूपमा रिजल्टसमेत दिंदै आएको प्रधानाध्यापक तामाङ बताउँछन् ।
विद्यालयमा विज्ञान प्रयोगशाला र कम्प्युटर प्रयोगशाला छ । विद्यालयले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने र बाँझो जमिनलाई खाली नराखी कृषि उद्यमलाई प्रोत्साहन गरिरहेको छ । ‘विद्यालयले महामारीको समयमा पनि घर–घरमा गएर विद्यार्थीलाई सेवा दिंदै आएको छ,’ प्रअ तामाङले भने, ‘विद्यालयहरु उद्यमशील हुनुपर्छ । किताब पढाउने, पाठ घोकाउने कार्यमा मात्र सीमित हुनु हुँदैन, पढेको कुरा व्यवहारमा लागू गर्ने र सँगसँगै आय आर्जन गर्ने वातावरण पनि हुनुपर्छ ।’
विद्यालयको उत्थानमा जसरी व्यवस्थापन समितिका अध्यक्ष घिमिरे र प्रधानाध्यापक तामाङ लागिपरेका छन् उसैगरी समुदाय पनि लागिपरेको छ । नमूना विद्यालय निर्माणका लागि बेलका नगरपालिकाका शिक्षा शाखाका प्रमुख सुनिल निरौला र वडाध्यक्ष मोहनप्रसाद घिमिरे पनि तदारुकताका साथ लागेका छन् । ‘कोरोनाले गर्दा आफूले सोचेको केही भएको छैन नत्र केही नमूना र सुन्न, हेर्न लायक विद्यालय बनाउने सोच हो मेरो ।’ व्यवस्थापन समिति अध्यक्ष घिमिरेले भने ।
व्यवस्थापन समितिको अध्यक्षका रुपमा घिमिरेको कार्यकाल २ वर्ष बितेको छ । उनी आएपछि विद्यालयको नयाँ भवन बनेको छ । ३६ लाख रुपैयाँमा एउटा २ तले र ६ कोठे भवन निर्माण सम्पन्न भएको छ । विद्यालयमा दरबन्दी पनि थप भएको छ । माध्यमिक तहमा ३ वटा, आधारभूत तहमा १ वटा र बाल शिक्षामा १ वटा दरबन्दी थपिएको छ । विद्यालयबाट टाढा रहेका ३० जना विद्यार्थीलाई नगरपालिकाको सहयोगमा साइकल वितरण गरिएको छ । कोभिड सङ्क्रमणका कारण हाल विद्यालय बन्द अवस्थामा छ । विद्यालयका योजनाहरु थाँती नै छन् । ‘कक्षा १ देखि ५ सम्मका ३ सय विद्यार्थीलाई ब्याग वितरण गर्ने योजना बनाउँदा बनाउँदै विद्यालय बन्द गर्नुपर्यो।’ अध्यक्ष घिमिरे भन्छन् ।
विद्यार्थीको ‘पढ्दै कमाउँदै अभियान’ बाट संकलित रकमलाई कोषका रुपमा निर्माण गर्ने विद्यालयको योजना छ । ‘जम्मा भएको रकमलाई एउटा कोष बनाउने भनिएको छ,’ छात्रा सोनी परियारले भनिन्, ‘विद्यार्थी बिरामी भएको बेला आपत् परेको बेला सहयोग गर्ने र केही रकम स्कुलको विकासका लागि पनि खर्च गर्ने हाम्रो योजना छ ।’