धरान । विकट पहाडी क्षेत्रमा रहेका गाउँ गाउँमा सडक सञ्जाल जोडिदा स्थानीय सर्वसाधारणहरुले राहतको महसुस गरेका छन् ।
विगतमा दैनिक जीवनयापनका लागि बजारसम्म पुग्न पनि घण्टौ पैदल हिड्नुपर्र्ने बाध्यता थियो । तर अहिले गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि ग्रामीण भेगका सर्वसाधारणको दिनचर्या नै बद्लिएको छ ।
खासगरी धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा पर्ने मारेक कटहरे तथा चानुवाको सर्वसाधारण गाउ घरमै सडक सञ्जालले जोडिएपछि उनीहरुको दिनचर्या नै बद्लिएको छ।
महालक्ष्मी नगरपालिका वडा नं ४ का महेन्द्र पौडेलले केही बर्ष अगाडिसम्म बजारमा उत्पादन गरेको सागसब्जी, अलैची लगायतका कृषि सामाग्री घण्टौ बोकेर हिले, पाख्रीबाससम्म ल्याएर विक्री गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने–‘सडक सञ्जालले नछोएको समयमा यहाँ उत्पादन भएको सागसब्जी तथा कृषिजन्य सामाग्री बोकेर विक्रीका लागि धनकुटाको पाख्रीबास तथा हिले नै पु¥याउनुपथ्र्यो । जति बोकेर लान सकिन्थ्यो त्यही विक्री हुन्थ्यो, अरु गाइबस्तुलाई दिने गरिन्थ्यो ।’
तर अहिले भने गाउमै सडक सञ्जालले छोएपछि यात्रुवाहक बस, मालबाहक बस घरसम्मै पुग्ने भएकोले पनि आफूले उत्पादन गरेका कृषिजन्य सामाग्री सबै विक्री हुने पौडेल बताउँछन् ।
यस्तै भनाई सोही स्थानका अमृत अधिकारीको पनि छ । जहाँ जाँदा पनि पैदलै हिड्नुपर्ने बाध्यता भएका उनीहरु अहिले प्रत्येक घरमा एउटा मोटरसाइकल रहेको बताउँछन् । उनी भन्छन्–‘विगतमा असुविधा भएकै कारण धेरै तराईतिर बसाई सरे, तर अहिले मधेशभन्दा हाम्रो गाउँ कुनै फरक छैन, विगतमा घरखेत बेचेर ससाई सर्नेहरु पछुताउन थालेका छन् ।’
धनकुटाको महालक्ष्मी नगरपालिका चानुवा पुग्न विगतमा तेह्रथुमको लालीगुरास नगरपालिकाबाट ८ घण्टा, संखुवासभाको मुढेशनिश्चरेबाट ३ घण्टा तथा धनकुटाको हिलेबाट १० घण्टाको पैदल बाटो हिडेर पुग्नुपर्ने थियो । विगतमा चानुवाबाट हिडेरै हिले पुगेर कृषि सामाग्री विक्री गर्ने र विक्री भएको सामानबाट नुन तेल बोकेर ल्याउने गरेका चानुवाका ७५ बर्षीय वीरबहादुर जिमी विगत हेर्दा अहिलेका युवाहरुलाई यो ठाउ स्वर्ग जस्तै भएको बताउछन् । उनी भन्छन्–‘हिजो हामीले १०÷१२ घण्टा लगाएर यहा उब्जाएको सागसब्जी विक्रीका लागि हिले पुगेर विक्री गरेको पैसाले बोकेरेै नुन तेल ःल्याउने गरेका थियौ ।’
तर अहिलेका युवाहरुलाई भने सडक सञ्जालले छोएपछि यो कुरा भन्दा कहानी जस्तै लाग्ने बताउँछन् । उनी भन्छन्–‘अहिले सरर मोटरसाइकलमा जान्छन्, पहिला हिडेर १०-१२ घण्टा लाग्ने ठाउमा १ घण्टामा पुग्छन् एक घण्टामा फर्केर आउछन् ।’
महालक्ष्मी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष भरत चापागाईले गाउँमा सडक सञ्जाल जोडिएपछि धेरै विकास भएको बताउँछन् । उनी भन्छन्–‘५ बर्ष अगाडिसम्म गाउँमा असुविधा नै असुविधा थियो, तर अहिले धेरै सुविधा भएको छ ।’
उनले सबैभन्दा समस्या विरामी हुदा हुने बताए । गाउँमा रहेको चानुवा हेल्थपोष्टमा सामान्य उपचार मात्र हुने भएकोले गम्भीर प्रकृतिका विरामीलाई बोकेर लादा बाटैमा मृत्यु भएका घट्नाहरु पनि धेरै भएको सुनाए । उनले भने–‘विरामी हुदा यहाँ धेरै समस्या थियो, न त राम्रो उपचार हुन्थ्यो न औषधि नै पाइन्थ्यो, तर अहिले गम्भीर विरामी भयो भने ३ घण्टामा धनकुटा जिल्ला अस्पताल र ४ घण्टामा एसियाकै सबैभन्दा ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउन सजिलो भएको छ ।’