मोरङ/ भूगोल र जनसंख्याको आधारमा मोरङको उर्लाबारी नगरपालिकामा दुई वडा थप गर्नेमा स्थानीय राजनितिक दलहरु सहमत भएका छन् ।
। राज्य पुनर्संरचना अनुसार उर्लाबारी नगरपालिकामा तत्कालीन राजघाट गाविस र मधुमल्ला गाविसको वडा नं. ७, ८ र ९ मिसाएर नगरपालिका घोषणा गरिएको थियो । अब ९ वटा वडालाई बढाएर ११ वटा बनाउन दलहरु एकजुट भएका हुन् । उर्लाबारी नगरपालिकाको आयोजनामा शुक्रबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकमा वडा संख्या बढाउने सहमति जुटेको हो ।
नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा बसको बैठकले हाल ९ वटा वडा रहेको उर्लाबारीमा र त्यसका लागि वडा वडामा गएर छलफल चलाउने निर्णय भएको छ । मधुमल्लाबाट समायोजन भएको हालको वडा नं. १ को भूगोल ठूलो भएको, बीचमा बक्राहा खोलाका कारण समस्या भएको, तत्कालीन राजघाटलाई समायोजन गरी बनाइएको वडा नं. ८ र ९ को भूगोल पनि ठूलो भएकोले वडा संख्या बढाउनका लागि सर्वदलीय सहमति खोजिएको नगर प्रमुख फागोले बताए । वडा नं. १ को बक्राहा पश्चिमका भाग वडा नं. ४ मा मिसाउने, वडा नं. ४ को तल्लो भागलाई वडा नं. ८ मा मिसाएर राजघाटतर्फ वडा थप्ने विषयमा छलफल केन्द्रीत भएको थियो ।
वडा वडामा छलफल गरी साझा धारणा बनाएर वडा थप गर्न प्रदेश हुँदै संघीय सरकारमा सिफारिस गर्ने प्रक्रियाको थालनी गर्ने बैठकले निर्णय गरेको छ । वडा कायम हुनका लागि ६४ सय जनसंख्या हुनुपर्ने प्रावधान रहेको छ । उर्लाबारीको पछिल्लो तथ्यांक अनुसार ७५ हजार हाराहारीमा जनसंख्या रहेकोले दुई वडा थप गरी ११ वटासम्म बनाउन सकिने विषयमा छलफल भएको छ ।