धरान । तत्कालिन धरान नगरपालिकाले गुरुयोजना अनुसार पर्यटकीय गन्तव्यको रुपमा विकाश गर्न २१ वर्ष अघि सप्तरंगी पार्क बनाउन थालेको हो । धरान १७ मा रहेको सप्तरंगी पार्कले अहिले सम्म पनि पुरा हुन नसक्दा अझै लथालिंगनै छ ।
विडिआर भन्ने संस्थासंग सहकार्य गरेर ६२ विगाहा जग्गामा सुविधा सम्पन्न सहिद स्मारक पार्क, बाल उद्यायन, खेलकुदका गतिविधि लगायतका ठूलो महत्वांकांक्षी गुरु योजना बनाएर उपमहानगरपालिकाले थालेको काम बीचैमा रोकिएको थियो । तत्कालिन अवश्थामा करिब ३ करोड रुपैया लगानी गरेको थियो ।
यतिबेला संप्तरंगी पार्कको जग्गा समेत अतिक्रमणमा परेको छ । ६२ विगाहा जग्गा अहिले ९ विगाहा क्षेत्रफलमा मात्रै संप्तरंगी पार्कका लागि घेराबारा लगाएको छ भने बनेका भौतिक संरचना समेत जीर्ण बन्दै गएका छन् । डिपिआर बिना नै शुरुवात गरिएकाले पार्क अहिले सम्म जीर्ण रहेको स्थानीय बताउँछन् ।
२०५५ सालमा विडिआर संस्थासंग सम्झौता भए पनि यसको काम भने २०६७ सालमा शुरु गरिएको थियो । अहिले त्यहा बनाइएका पिकनिक स्पोर्ट, सहीद स्मारक पार्क तथा त्यहा भएका भौतिक संरचना जीर्ण बनेका छन् । अब भने धरानको स्वामित्वमा रहेको ६२ विगाहा जग्गालाई एकीकृत गरी डिपिआर तयार गरेर अगाडि बढ्ने योजना रहेको धरान उपमहानगरपालिकाका योजना विकास प्रमुख इन्जिनियर सुरज श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘सप्तरंगी पार्कको निर्माणलाई पूर्णता दिन अब उपमहानगरपालिका चाडै लाग्ने छ । निर्माण पश्चात धरानको रमणीय पर्यटकीय स्थलको रुपमा विकास हुन्छ ।’
गुरु योजनामा परेको सप्तरंगी पार्कको भौतिक संरचना जीर्ण बन्नु दुखद् रहेको बताउँदै श्रेष्ठ भने, ‘६२ विगाहा जग्गा अतिक्रमण भएर ९ विगतमा खुम्चिएकाले जग्गा एकीकृत गरेर डिपिआर पछि नयाँ परिवेश अनुसार काम शुरु गरिनेछ ।’ शुरुवात ताका २ देखि ३ करोड लाग्न अनुमान गरिएको यो पार्क अब भने २५ देखि ३० करोड लाग्ने अनुमान गरिएको छ ।
राजनीतिक खिचातानीका कारण र व्यक्तिगत स्वार्थका कारण पार्क निर्माण हुन नसकेको स्थानीय बताउँछन् । स्थानीय सुरज राईले विकासका नाममाा भागबण्डा नमिल्दा खिचातानी हुने गरेका कारण समयमै कुनै पनि काम हुन नसकेको आरोप लगाए । उनी भन्छन्, ‘धरानको गौरबको आयोजना अन्तर्गत रहेको सप्तरंगी पार्क निर्माणमा पक्कै ढिलाई भएको हो, ढिलाई हुँदा बनिसकेका भवन समेत जीर्ण बन्दै गएको छ, यसतर्फ उपमहानगरपालिकाको ध्यानकर्षण हुन आवश्यक छ ।’
अहिले सप्तरंगी पार्कमा विभिन्न जातिको रुखहरु रोपिएका छन् । प्रवेश गर्ने स्थानदेखि केही तलसम्म विभिन्न जातका फूल रोपेर फूल वगैचा जस्तो बनाएको छ । बाँकी ठाउँमा जताततै घास उम्रिएका छन् । अहिले धरान उपमहानगरपालिकाले पार्क घुम्न आउनेलाई प्रतिव्यक्ति १० रुपैया लिने गरेको छ । जीर्ण अवश्थामा रहे पनि पार्कमा दैनिक ५० देखि ६० जनासम्म आउने गरेको कर्मचारी बताउँछन् ।
गुरुयोजना परेको पार्कमा उपमहानगरपालिकाले गम्भीरता नदेखाएकै कारण विभिन्न संघ संस्था, सुकुम्बासीहरुको अतिक्रमणमा परेको छ । सप्तरंगी पार्कका जग्गा समेत ६२ विगाहाबाट खुम्चिएर ९ विगाहा भएको छ । यसतर्फ पनि नगरपालिकाले समयमै ध्यान पु¥याउन आवश्यक रहेको स्थानीयहरुको भनाई छ ।