धरान/ बजेट विनियोजन भएर पनि कोरोनाका कारण कटौती भएको धरान स्थित जिल्ला ट्राफिक कार्यालयको भवन निर्माण योजना पुर्ण रुपमा सेलाएको छ । स्थानीय सरकारले पहल गर्न नसक्दा अन्तै जान लागेको भवन निर्माणको योजना ठप्प भएको हो ।
दुई वर्ष अघि प्रदेश नम्बर १ सरकारले २ करोड ३० लाख रुपैया बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन सँगै धरान १५ स्थित नयाँ रात्रीकालिन बसपार्क परिषरमा ट्राफिक कार्यालयको भवन निर्माण गर्न लागिएको थियो । तर कोरोनाको जोखिम बढ्दै गए पछि बजेट रकमान्तर भएको थियो । ट्राफिक भवन निर्माणका लागि रकम अन्यत्रै लगे पछि भवन निर्माणको काम पनि ठप्प बनेको थियो ।
अहिले कोरोना संक्रमणको जोखिम कम हुँदै गएका छ । विनियोजित बजेटका विकाश निर्माणका योजनाहरु अघि बढेका छन् । तर ट्राफिक कार्यालय भवन बनाउन रकमान्तर गरिएको बजेट पुनः फर्काउन नसक्दा बन्न नसक्ने अवश्थामा रहेको छ । भवन बनाउनका लागि तत्कालिन प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भिम दाहालको अगुवाईमा भवनको डिजाइन समेत भएको थियो । टेण्डर लाग्ने प्रक्रियामा समेत पुगेको थियो । तर धरानमा हुने उपनिर्वाचनका कारण टेण्डर रोकिएको थियो ।
२०६७ साल देखि भाडामा बस्दै आएको ट्राफिक कार्यालयको भवन दुई वर्ष अघि छाड्नु पर्ने भए पछि अन्यत्रै सार्न खोजिएको थियो । स्थायी रुपमा भवन उपलब्ध हुन नसके अन्यत्रै शहरमा जाने सम्भावना बढे पछि तत्कालिन कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीको पहलमा धरान १५ स्थित घरेलुको जग्गामा करिब ३ कट्ठा जग्गा भोगचलनका लागि दिने भएको थियो । सोही अनुसार भवन निर्माणको तयारी शुरु भएको थियो ।
डिटेल नक्सा बनाएर प्रदेशले बजेट विनियोजन पनि गरिसकेको अवश्थामा कोरोनाको कारण प्रोजेक्ट रद्द भएको तत्कालिन प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख भिम दाहाल बताउँछन् । उनले भने, करिब साढे २ करोड अनुमानित बजेट थियो, टेण्डर पनि आव्हान गर्ने तयारी भैसकेको थियो, अण्डर ग्राउण्ड पार्किङ सहितको नक्शा तयार भएको थियो ।’
कोरोना पछि प्रदेश स्तरिय प्रहरी भवन बनाउने योजनाहरु रद्द हुँदा ट्राफिक भवनको निर्माण कार्यको बजेट पनि रोकिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सुमन तिमिल्सीनाको भनाई छ । उनले भने, ‘त्यस पछि केही प्रोगेश छैन्, पछिका सरकारले पनि बजेट विनियोजन गरेन् ।’
मापदण्ड अनुसार जग्गा उपलब्ध भए प्रहरी हेडक्वार्टरले आफै पनि बनाउन सक्ने उनले बताए । उनले भने, ‘त्यसका लागि ३ कट्ठा भन्दा माथि जग्गा चाहिन्छ, भोगचलन मात्रै दिएर हुँदैन्, नम्बरी हिसाबले कार्यालयकै नाममा जग्गा आउनुपर्छ, हामी आफै पहल गछौं, आफै बनाउन सक्छ ।’ कार्यालय धरानमै रहने पनि बताए । उनले भने, ‘सार्ने यताउता हुन्छ भन्ने कुनै कुरा छैन्, तर कार्यालय को नाममा आउने भए भवन निर्माण कुनै कठिनाई हुँदैन् ।’
विगत ८ वर्ष देखि ट्राफिक कार्यालय धरान ८ स्थित भुवनसिंह लिम्बुको घरमा भाडामा लिएर संचालन हुँदै आएको छ । मासिक २५ हजार रुपैया घरभाडा तिर्दै आएको छ । कार्यालयमा रहेका २३ जना दरबन्दी कर्मचारीहरुमा करिब ४÷५ जना बाहिरै कोठा डेरामा बस्नुपर्ने अवश्था रहेको छ । आफ्नै भवनको आवश्यक्ता अन्यन्तै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख भुवन बाबु खड्काले बताए । उनले भने, ‘आफ्नो भवन भए सहज हुन्थ्यो, आराम सँग सुत्न बस्न, खान पाउने व्यवस्था भए पछि कर्मचारीहरुमा पनि मोरल हाइ हुँदा काम गर्न पनि सहज हुन्थ्यो, तनावमुक्त भएर काम गर्न सक्थे ।’
भवनका लागि सम्बन्धित निकाय सँग पहल भइरहेको उनको भनाई छ । उपमहानगरपालिकाले दिएको जग्गामै करिब ८ देखि १० लाख रुपैया सम्मको ट्रस हालेर भवन बनाउने छलफल पनि भएको उनले बताए । तर स्थानीय तहबाट मात्रै सम्भव नभए पछि प्रदेस सरकार सम्म कुरा पुगेको उनले बताए । उनले भने, ‘घरपेटीले निस्कनु पर्ने भयो भन्ने अवश्था पनि छ, मेन्टल्ली प्रेसर छ, अन्य स्थानमा करोडौंको भवन बन्दा यहाँ चै भाडामै चलाउनुपर्ने अवश्था छ ।’ भवन बन्न सबैको चासो र चिन्ताको विषय बन्नुपर्ने उनी बताउँछन् । भवन नै नभएर, बस्ने ठाउँ पनि नहुँदा कर्मचारी अपुग भो भन्दा आउनै नमान्ने अवश्था रहेको उनी बताउँछन् ।