इलाम । इलामको सूर्योदय नगरपालिका–हर्कटे बजार नजिकैको सुकेपोखरीमा बुलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत सुकेपोखरीमा मे १ज ३३०७ नम्बरको बुलेरो जीप सडकबाट तल खस्दा दुईजनाको मृत्यु र सात जना घाइते भएको जिल्ला प्रहरीकार्यालय इलामले जनाएको छ ।
मृत्यु हुनेमा इलामको माइजोगमाई गाउँपालिका–४ का ७६ बर्षीया रामप्रसाद तिम्सिना र सोही ठाउँको ४० वर्षका भरत घिमिरे रहेका छन । दुर्घटनामा परि घाइते भएका दुवैको उपचारको क्रममा झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।
दुर्घटनामा परि घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको समेत बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रोङ गाउँपालिकाको कुटिडाँडाबाट इलाम आउँदै गरेको बुलेरो जीप सडकबाट करिव सय मिटर तल झर्दा दुर्घटना भएको हो । सवारी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।