कांग्रेस प्रदेश एक अधिवेसन: चुनावमा उठाउने नेताले नै दिएनन् भोट "हारेपछि पौडेल समूहमा खैलाबैला"

  • मंसिर २१, २०७८
  • "कुमार लुइँटेल"
alt

विराटनगर/ नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत प्रदेश नं १ को चुनावमा पौडेल–कोइराला समूहबाट सभापतिका उमेदवार गुरुराज घिमिरे दुई मतले पराजित भए ।
उनलाई आफ्नै समूहका केन्द्रीय नेताले मत हालिदिएको भए गुरु दुई मतले विजयी बन्ने थिए । तर, निर्वाचनमा मताधिकारी प्राप्त गरेपनि चार जना केन्द्रीय नेताहरुले मत नहालेपछि घिमिरे पराजित बन्न पुगेको अहिले कांग्रेस समर्थकले सामाजिक संजालमा असन्तुष्टि पोखिरहेका छन् । घिमिरेलाई सभापति बनाउने समूहकै केन्द्रीय नेताले मत नहालेको भन्दै उनका समर्थक असन्तुष्ट बनेका हुन ।
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, महेश आचार्य, बलबहादुर केसी र सुजाता कोइराला च्ुनावका दिन विराटनगरमा उपस्थित भएर पनि मत नहालेको कांग्रेस कार्यकर्ताको आरोप छ । ती सबै नेता प्रदेश अधिवेशन उदघाटनमा भने सहभागी थिए ।

घिमिरे संस्थापन–सिटौला पक्षका उद्धव थापासंग जम्मा दुई मतले हारे । थापाले ८ सय ४४ मत प्राप्त गरे भने घिमिरेले ८ सय ४२ मत प्राप्त गरे । “चार जना केन्द्रीय सदस्यले मत हालेको भए घिमिरेको मत ८ सय ४६ पुग्ने थियो उनी विजयी बन्ने थिए” सामाजिक संजालमा कांग्रेसजनले आफ्नो असन्तुष्टि पोखिरहेका छन् । एक कांग्रेस नेताका अनुसार मतदानका दिन नेता महेश आचार्य काठमाडौतर्फ लागेका थिए । बलबहादुर केसी विराटनगरमै भएर पनि मतदान गर्न गएनन् । डा. शेखर र सुजाताले पनि मत खसालेनन् । उनीहरु सबै पौडेल–कोइराला समूहमा थिए । उनीहरुकै छनोटमा सभापतिसहित पदाधिकारी उमेदवार तय भएका थिए ।

चुनावमा दिन विराटनगरमै रहेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार, कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले भने मत खसालेका थिए । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले पनि मतदान गरे ।

डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले केन्द्रीय नेताले प्रदेश अधिवेशनमा मत हाल्ने विषयमा केन्द्रीय निर्वाचन समितिसंग परामर्श गरेको तर उताबाट प्रस्टसंग मत हाल्न मिल्ने वा नमिल्ने भन्ने जवाफ नपाएको कोइरालाले मत नहालेको बताए । थपलियाले भने,“यस विषयमा डा. शेखरले आफैं केन्द्रीय निर्वाचन समितिसंग परामर्श र छलफल गर्नु भएको थियो तर मत हाल्न मिल्ने नमिल्ने अथवा हाल्नुहोस भन्ने जवाफ आएन् ।”

थपलियाले जिल्ला र क्षेत्र तहमा केन्द्रीय सदस्यले मत हाल्दा पद जाने प्रावधान रहेकोले प्रदेशमा के गर्ने भन्ने अन्योल भएको दाबी गरे । डा. शेखरले सोमबार नै मतदानको विषयमा केन्द्रीय निर्वाचन समितिबाट प्रस्टता नभएका कारण मत हाल्न नपाएको बताउँदै आफूबाट गल्ती भएको भए माफी दिन भनेका छन् । काठमाडौ पुगेकी सुजाता कोइरालाले आफू बिरामी भएकोले प्लेनको टिकट पहिल्यै बुक भएकोले फर्कनु परेको प्रतिक्रिया दिएका छन् । नेता बलबहादुर केसीले पनि आफूहरु अन्योलमा परेको बताएका छन् । उपसभापति विजयकुमार गच्छदार भने लाइनमा उभिएर मतदानमा सहभागी भएको कांग्रेसका स्थानीय नेता भवेश श्रेष्ठले जानकारी थिए ।

अब प्रदेशमै बसेर काम गर्छु ः घिमिरे
विराटनगर । कांग्रेसको प्रदेश सभापति पदमा पराजित भएका केन्द्रीय सदस्य गुरुराज घिमिरेले आफूले चुनावभन्दा प्रक्रियाको गणनाको विषयमा प्रश्न उठाएर पुनः मत गणनाको माग गरेको बताएका छन् ।
सोमबार विराटनगरमा पत्रकारहरुसंग कुराकानी गर्दै घिमिरेले पुनः मतगणनाको माग राखेको विषयलाई प्रदेशस्तरको निर्वाचन समितिले सकारात्मक रुपमा लिएको र केन्द्रीय निर्वाचन समितिले पनि सकारात्मक रुपमा लिएको बताए । भने, “पार्टी नेतृत्व तहमा पनि मेरो मागको विषयमा कुरा पुगेको छ । यसले चांडै निकास पाउँछ भन्ने विश्वास छ ।”

निर्वाचन निष्पक्ष, स्वतन्त्र, मर्यादित र स्वस्थ्य हुन्छ भने परिणामलाई जसले पनि स्विकार गर्नुपर्ने भन्दै परिणामको विषयमा प्रश्न उठेको जिकिर गरे । उनले मतगणनाको विषयमा आशंका उत्पन्न भएर प्रश्न उठेको सुनाए । “प्राविधिक रुपमा आयोजना गरिएको निर्वाचन समस्याका वावजुत सम्पन्न भएको तर राजनीतिक रुपमा पार्टी सभापति प्रधानमन्त्री भएको अवस्थामा सरकार नै एउटा उमेदवारको पक्षमा खुलेर लाग्दा अर्को उमेदवारको के हविगत हुन्छ होला ?” उनले भने, “पार्टीका सिनियर नेता प्रमसंग गठबन्धन बनाएर मन्त्रीहरु नै निर्वाचनमा खटाउनुले मर्यादित निर्वाचनको सुनिश्चिततालाई खलल पुर्याउने र सत्ताको चरम दुरुपयोग गर्ने काम भयो ।” उनले गुट विशेषलाई बलियो बनाउने गरी काम हुँदा आम कार्यकर्तामा निरासा छाएको जिकिर गरे । उनले आफू राज्यको कुनै ओहदामा नपुगेको तर तल्लोस्तरबाट राजनीतिमा उठेकोले आफू निष्ठावान भएर अब प्रदेशमै रहेर काम गर्ने बताए ।

घिमिरेले आफू नैतिक हिसाबले अब कांग्रेसको केन्द्रीय तहको निर्वाचन उठ्न नसक्ने भएकाले तल बसेर राजनीति गर्ने बताउँदै भने, “मैले हासिंल गरेको अनुभवलाई अब प्रदेशमा पार्टीको सुदृढीकरणमा सक्रिय हुनेछु ।” घिमिरेले आफू सबै नेताको निर्णयले उमेदवार बनेकोले कसैलाई खासै के गर्यो भन्ने कुरा अहिले चर्चा गर्ने अवस्थामा नरहेको बताए ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved