विराटनगर । विवादबीच नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश १ को निर्वाचन सम्पन्न भएको छ । शनिबार ढिलो गरी मतदान शुरु भएको थियो । निर्वाचन समितिका अनुसार मत गणनता शनिबार बिहान ८ बजे कांग्रेस पार्टी कार्यालय मोरङमा हुनेछ । निर्वाचन समितिका अनुसार कूल एक हजार ८ सय ४ मतमध्ये एक हजार ७ सय ५२ खसेको छ ।
मतपत्रमा तीन जना उमेदवारको नाम छुटेपछि निर्वाचन शुरु हुन ढिलो भएको थियो । शनिबार बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन तालिका थियो । तर मध्यान्ह सबा २ बजेमात्र मात्र मतदान शुरु भएको थियो । निर्वाचन समितिका प्रमुख भरत थापाले भने,“प्राविधिक त्रुटिका कारण तीन जना उमेदवारको नाम मतपत्रमा छुट्न गएछ त्यही उल्झनले केही ढिलो हुन गयो । नेता ज्यूहरुको सहमतिमा नाम छुटेका उमेदवारलाई सर्वसम्मत बनाईपछि विवाद मिल्यो ।”
थापाका अनुसार उमेदवारहरु श्याम खड्की, शान्तिकला तामाङ राई र जीवन नेपालीको नाम मतदाता सूचीमा छुटेको थिो । उनीहरुको नाम समावेश गरेर फेरि मतपत्र पुनःछाप्ने भन्ने तयारी भईरहँदा नेताहरुबीच सहमति जुटेपछि निर्वाचन प्रक्रिया अघि बढेको हो । मतदानमा ढिलाई भएपछि असन्तुष्ट बनेका उनीहरुले अपरान्ह मतदानस्थल विराटनगर अस्पताल छेउको मैदानमा केहीबेर नाराबाजी नै गरे ।
चुनावमा संस्थापन र पौडेल–कोइराला समूहले प्यानल खडा गरेर भाग लिएका छन् । सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा, दुई उप–सभापतिमा गोबिन्द ढुंगाना, टंक राई, विश्नाथ रिजाल र रमेशजंग रायमाझी, दुई महामन्त्रीमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्वा छन् ।
यसैगरी सह–महामन्त्रीतर्फ एक महिलामा प्रमिला गच्छदार र सीता कार्की छन् । यसैगरी सहमहामन्त्री खुला दुईतर्फ खड्ग फागो, रोहितकुमार साह, बिनोदकुमार बस्नेत, वीरकाजी राई र शुभचन्द्र राई छन् ।
सभापति पदमा पौडेल–कोइराला समूहबाट मोरङका गुरुराज घिमिरे र संस्थापनबाट झापाका उद्धव थापा छन् । अधिवेशनको व्यवस्थापनको जिम्मा पाएका नेपाली कांग्रेस मोरङका अध्यक्ष डिगबहादुर लिम्बूले प्रतिनिधिहरुको बास र खानपानको राम्रो प्रबन्ध गरिएको बताए ।