विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापा र मोरङका गुरुराज घिमिरेबीच सभापतिमा पदमा प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समूहबाट थापा र रामचन्द्र पौडेल–डा. शेखर कोइरालाको समूहबाट गुरुराज घिमिरे उठ्ने तय भएको हो । संस्थापन पक्षले थापाले उमेदवारी दिने बुधबार निर्णय गरेको थियो ।
घिमिरेलाई उमेवदार बनाउन कोइराला–पौडेल समूहको बिहीबार विराटनगरमा बैठक बसेको थियो । सभापतिमा सुनसरीबाट यही समूहका राजिव कोइरालाले समेत दाबी गरेका थिए । तर, केन्द्रीय सदस्य डा. शेखर कोइराला, महेश आचार्य, मिनेन्द्र रिजालसहितका नेताको बैठकले घिमिरेलाई उमेदवार बनाउने निर्णय गरेका हुन । राजिव कोइराला कांग्रेस संसदीय दल प्रदेश नं १ का नेता हुन् ।
घिमिरे विद्यार्थी आन्दोलनबाट राजनीतिमा माथि उठेका नेता हुन । उनले नेपाल विद्यार्थी संघको नेतृत्व सफल ढंगल संचालन गरेका थिए । संघीय राजधानीमा कांग्रेसको केन्द्रीय राजनीतिमा खारिएका उनी युवामाझ निकै लोकप्रिय छन् । स्पष्ट वक्ता र भाषणकलामा निपूण घिमिरेले प्रादेशिक संरचनाअनुसार अब पार्टीलाई चुस्त बनाउन आफू सक्रिय हुने बताएका छन । घिमिरे भन्छन्,“संघीय संचरनामा गएको पार्टी संगठनलाई प्रदेशमा अझ दह्रो बनाउन म भूमिका खेल्नेछु ।”
उता संस्थापन र सिटौला समूहबाट उमेदवार बनेका थापाले नेपाली कांग्रेसलाई बदलिँदो परिवेशमा लोकतान्त्रिक मूल्य मान्यतासहित दर्बिलो रुपमा अघि बढाउने आफ्नो प्रयास हुने बताए । दुई पटक झापा जिल्लाको पार्टी सभापतिको जिम्मेवारी पूरा गरेका थापा अब आफू प्रदेशको संगठन संचालन गर्न योग्य रहेको बताउँछन् । उनले भने,“अब नयाँ संचनाअनुसार पार्टीलाई प्रदेशस्तरमा अझ सशक्त बनाउँदै जनसमक्ष पुग्नु नै मेरो लक्ष्य हुनेछ ।”
वि. सं. २०३४ सालमा काठमाण्डौंको शंकरदेव क्याम्पसबाट नेविसंघ इकाईबाट राजनीतिक जीवन शुरु गरेका उनी २०३५ को जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्व बहुदलीय ब्यवस्थाको पक्षमा सक्रिय थिए । थापाले विपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेर काम गरेका थिए ।
प्रदेश चनावअन्तर्गत शुक्रबार बिहान ८ बजेदेखि १ बजेसम्म मोरङ पार्टी कार्यालयमा उमेदवारी दर्ता गर्ने र त्यही दिन अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।
प्रदेश पदाधिकारी चयन गर्न विराटनगर अस्पताल छेउको मैदानमा शनिबार बिहान ८ बजेदेखि चुनावी प्रक्रिया शुरु हुनेछ । चुनावमा एक हजार ७ सय प्रदेश प्रतिनिधिहरुले मत खसाल्ने छन् । जसमा शुभेच्छुक संस्थाबाट १७ र भ्रातृ संगठनका प्रतिनिधि १३ ले समेत मत खसाल्न पाउने छन् ।
कांग्रेसको प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह–महामन्त्री एक महिलासहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खसआर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेशी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारुतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसंख्यक र अपांगमा एक सदस्य पदका लागि निर्वाचित हुने छन् ।