विराटनगर/ नेपाली कांग्रेस मोरङको मतदान सकिएको छ । सभापतिमा तीन जना उमेदवारबीच प्रतिस्पर्धा भएपछि अब दोस्रो चरणको मतदान हुने संभावना चुलिएको छ ।
मोरङमा सभापतिका कुनै पनि उमेदवारले बहुमत ल्याउने संभावना टरेकोले दोस्रो चरणको मतदान हने सम्भावना अधिक देखिएको छ ।
अब मत गणनामा कांग्रेसजनको ध्यान गएको छ । आइतबार कार्यसमिति चयन गर्न विराटनगरमा भएको चुनाव लगत्तै पार्टी कार्यालय मोरङमा रातिबाटै मतगणना शुरु गरिएको छ भने पहिलो चरणमा सभापतिको गणना हुने सचिव मोदराज घिमिरेले जानकारी दिएका छन् । कांग्रेसको संशोधित विधान अनुसार कुनै पनि उमेदवारको बदर बाहेक कूल खसेको मतबाट एकाउन्न प्रतिशत नआए कम मत ल्याउने तेस्रो उमेदवार बाहिरिन्छन् । त्यसपछि पहिलो र दोस्रो बढी मत ल्याउने बीच पुनः चुनावी प्रतिस्पर्धा हुन्छ । मतदानमा दुई जनालाई फेरि क्षेत्रीय प्रतिनिधिहरुले मत हाल्नु पर्छ ।
निर्वाचन समितिका अनुसार कूल ३ हजार ५ सय ४६ मतमध्ये ३ हजार ४ सय १२ मत खसेको छ । चुनावमा संस्थापन पक्षबाट दिलिप गच्छदार, संस्थापन इतरबाट डिगबहादुर लिम्बू र यदुकुमार विष्टले उमेदवारी दिएका थिए । संस्थापन इतरबाट एक जनामात्र उमेदवार बनाउन शनिबार दिनभर प्रयास भएको थियो । तर, लिम्बु र विष्ट दुवैले चुनावमा लड्न अडान लिएका थिए ।
मोरङको नेतृतवको लागि सभापतिमा लिम्बूलाई कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालको समर्थन छ । विष्ट नेता कृष्णप्रसाद सिटौला र गच्छदार देउवा पक्षीय नेताहरुको साथ र समर्थनमा चुनावी मैदानमा उठेका हुन् । सभापति विष्टले आफूले पार्टीमा नीति र सिद्धान्तलाई अझ दर्बिलो बनाउन आफू चुनावी मैदानमा उत्रिएका बताएका छन् । यसैगरी लिम्बूले कांग्रेसलाई नयाँ समय र परिस्थितिको माग अनुसार नेतृत्व दिन आफू उम्मेदवार बनेको बताए । गच्छदारले युवाको नेतृत्व र राजनीतिक सक्रियता तथा कांग्रेसको विगतलाई अझ दह्रो बनाउने आफ्नो अभियान रहेको जिकिर गरे ।
उपसभापतिमा नागेश कोइराला र भक्तिनाथ माझी लिम्बूको प्यानलबाट उठेका छन् । यसैगरी राजु मास्के विष्टको समूहबाट उमेदवार बनेका छन् । गच्छदारको प्यानलबाट उपसभापतिमा गोपाल थापा र सुबोधकुमार सिंह उठेका छन् । सचिवमा मोदराज घिमिरे, ललित श्रेष्ठ, रविन राई, मनोज बस्नेत, अर्जुन निरौला, शिवप्रसाद ढकाल र ज्ञानेन्द्र ढकाल उमेदवार बनेका छन् । घिमिरे, श्रेष्ठ, राई र बस्नेत संस्थापन इतरका उमेदवार हुन । दुई जनाको लागि सचिवमा चार जनाको उमेदवारी परेको छ । अर्जुन निरौला र शिव ढकाल संस्थापका उमेदवार हुन । ज्ञानेन्द्र ढकाल विष्ट नजिक छन् ।
सहसचिवमा विशाल गौतम, अशोक रिजाल, थीरप्रसाद फुयाँल, भुवनेश्वर मण्डल, सन्जयकुमार मण्डल र सुभाष भण्डारी चुनावी मैदानमा छन् ।