इटहरी/ दुर्गम क्षेत्र भन्दा पनि सुगम क्षेत्रका शिक्षितबाटै लैंगिक हिंसाका घटनाहरू हुने गरेको एक कार्यक्रमका सहभागिहरुले दाबी गरेका छन् ।
देशब्यापी रूपमा बिहीबारदेखि शुरू भएको १६ दिने लैंगिक हिंसा बिरूद्धको अभियान अन्तरगत इटहरीमा आयोजित अन्तरक्रियामा दुर्गम क्षेत्रहरूमा लैंगिक हिंसाका घटनाहरू फाट्ट फुट्ट बाहिरिए पनि सुगम मानिएका शहरहरूमा दैनिक जसो घटनाहरू हुने गरेको सहभागिहरुको दाबी छ ।
कार्यक्रममा महिला अधिकारकर्मी सुभद्रा प्याकुरेलले ग्रमिण भेगमा भन्दा शहर तिर बढी जसो हिंसाका घटनाहरू हुने गरेको बताईन । सुगम मानिएका सुनसरीको इटहरी, तरहरा, धरान, इनरूवामा भने महिला मात्र नभइ पुरूष पनि हिंसाको शिकार बनेको उदहारण थुप्रै रहेको प्याकुरेलले बताइन । सुगम जिल्लामा घरभित्रै हिंसाका घटनाहरू हुने भएकोले सर्वप्रथम घरबाटै हिंसा बिरूद्धको अभियान चलाइनुपर्ने बताइन ।
हिंसा बिरूद्धको अभियान १६ दिन मात्र नभइ ३ सय ६५ दिननै चलाउनुपर्ने सहभागिहरुले जोड दिएका छन् । हिंसाका घटनाहरू घरभित्रबाटै सुरू हुने भएकाले सबैभन्दा पहिला घर घरमा सचेतना जगाउन आवश्यक रहेको नागरिक समाज इटहरीका अध्यक्ष राजु केशीले बताए । उनले बढ्दो सामाजिक सञ्जालको प्रयोगले धेरै जसो किशोर किशोरीहरू हिंसाका शिकार हुनु परिरहेको बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपि खगेन्द्र खडकाले अभियान १६ दिने भनिए पनि प्रहरीका लागि अभियान ३ सय ६५ दिननै चालु हुने बताए ।
अभियान सुरू गरिरहँदा १६ दिनमा गरिने प्रतिवद्धतालाइ कार्यान्वयनमा जोड दिने हो भने हिंसाका घटनाहरू वर्षै पिच्छे घटने डिएसपि खडकाले बताए । प्रहरीको तथ्यांक अनुसार इटहरीमा अघिल्लो वर्षको तुलनामा बढ्दै गएको महिला हिंसा वार्षिक ४ सय ५० वटा घटना सम्बन्धि मुद्धाहरू रहेको बताए । हिंसाका घटना निर्मुलिकरणका लागि स्थानीय सरकार, नागरिक समाज, अगुवा सबै मिलेर अघि बढनुपर्ने उनले बताए ।
कार्यक्रमकी सभापति तथा इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले हिंसाका घटनाहरू निर्मुल गर्नका लागि अघिल्लो वर्ष देखिनै बिभिन्न प्रभावकारी योजनाहरू बनाएर काम गरेको बताइन । उनले लैंगिक हिंसाका घटनाहरू उपमहानगर क्षेत्रमा पनि प्रत्येक वर्ष बढ्दै गएको बताइन । निर्मुलिकरणको प्रयास हदै सम्म सफल भएपनि हिंसाका घटनाहरूमा कमि नआएको उनको भनाई छ ।
लैंगिक हिंसाका घटनाहरू अन्त्यकालागि सामाजिक क्षेत्र देखि बिद्यालय हुदै कलेज सम्म पुगेर अभियाननै सञ्चालन गर्दै आएको बताउदै उपमेयर गौतमले आफ्नै नेतृत्वमा रहेको न्यायिक समितिमा पनि लैंगिक हिंसा सम्बन्धिका मुद्धा वार्षिक ३ सय भन्दा बढि रहने गरेको बताईन् । उनले १६ दिने भनिएपनि अभियान वर्षैभरी सञ्चालन हुने जानकारी दिदै यो वर्ष देखि हिंसाका घटनाहरू निर्मुलिकरणका लागि सबै तह तप्कासंग सहकार्य गरि अघि बढने प्रतिबद्धता जनाईन् ।