धरान/ दुई समुहमा विभाजित बनेको नेकपा एमाले सुनसरीबाट १० औं महाधिवेसन प्रतिनिधी छनौट पनि विवादित बने पछि निर्वाचन हुने पक्का भएको छ । हुन त मनोनयन फिर्ता दाबी को समय आज साझ सम्म भए पनि दुबैको अडान कायमै रहेकाले निर्वाचन हुने देखिएको छ ।
विशेष गरि धरानबाटै समस्या उत्पन्न भए पछि त्यसको प्रभाव जिल्लामै परेको हो । दुई गुटमा विभाजित भए पछि धरानको नगर अधिवेसन दुई स्थानमा गर्दै दुईटै समिती बनेको थियो । जेठ २ अघिको समिती आधिकारिक रहेको दाबी गर्दै आएको रमेश बस्नेत समुह र रेवतीरमण भण्डारीको अध्यक्षतामा बनेको समुह बिच अहिले महाधिवेसन प्रतिनिधी छनौटमा पनि विवाद समाधान हुन नसक्दा अन्ततः
निर्वाचनमै पुगेको हो ।
शनिबार जिल्ला पार्टी कार्यालय इनरुवामा महाधिवेसन प्रतिनिधीका लागि मनोनयन दर्ताको लागि आव्हान गरिएको थियो । दुवै समुहले प्रतिनिधीका लागि मनोनयन गरेका थिए । महाधिवेशन प्रतिनिधि छनौटको उम्मेदवारी मनोनयनमा प्रतिनिधि कोटाभन्दा चार गुणा बढीले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी मनोनयनमा दाबी विरोध र नाम फिर्ताको समय आज साँझ सम्म छ । आज साँझ सम्म पनि सर्वसम्मत हुने स्थिति नभएको नेताहरु बताउँछन् । एमाले सुनसरीले प्रतिनिधि चयनको लागि कार्तिक ३० गते निर्वाचन हुने कार्यतालिका र ४ निर्वाचन क्षेत्रको मतादन केन्द्र तोकिसकेका छ ।
एमाले महाधिवेशनमा निर्वाचन क्षेत्रगतरुपमा प्रतिनिधि चयन हुन्छ । सुनसरीमा ४ वटा निर्वाचन क्षेत्र छ । यहाँबाट कुल ४२ जना महाधिवेशन प्रतिनिधि चयन हुनुपर्ने हुन्छ । तर, शनिबार भएको प्रतिनिधि मनोनयनमा कुल १ सय ८८ जनाले उम्मेदवारी दर्ता गराएको थिए ।
२३ हजार १ सय १४ जना संगठित सदस्य रहेका सुनसरीमा निर्वाचन क्षेत्र नं १ मा खुल्लातर्फ ६ जना प्रतिनिधिमा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा ७ जनाको उम्मेदवारी परेको छ । यस्तै, निर्वाचन क्षेत्र २ मा खुलातर्फ ८ जनाको कोटामा ४२ जना र महिलातर्फ ३ जनाको कोटामा १४ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
निर्वाचन क्षेत्र ३ मा खुलातर्फ ६ जनाको कोटामा ३२ जना र महिलातर्फ ३ जनाको कोटामा ९ जना उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, क्षेत्र नं ४ मा खुलातर्फ ६ जनाको कोटामा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा १२ जनाको उम्मेदवारी परेको छ । यसैगरी, दलित खुलातर्फ ३ जनाको कोटामा ४ जनाको उम्मेद्वारी परेको छ भने दलित महिलातर्फ १ जनाको कोटामा ३ जनाको उम्मेदवारी
परेको छ ।
आज साँझ सम्म दाबी विरोध तथा फिर्ता नभए निर्वाचनमा जाने निर्वाचन आयोगका सदस्य विरेन्द्र बस्नेतले बताए । उनले भने, सहमती नभए साँझ अन्तिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ, त्यस पछि निर्वाचनमा जानेछौं । दुवै समुह बिच भएको छलफलमा सहमती हुन नसक्दा दुबै तर्फबाट प्यानल सहित नामावली सार्वजनिक गरेका छन् । क्षेत्र नम्बर १ मा भण्डारी समुहले ९ जनाको नामावली सार्वजनिक गरे लगत्तै बस्नेत समुहले पनि उम्मेदवार सार्वजनिक गरेको थियो ।
क्षेत्र नम्बर १ बाट दुवै समुहबाट खुल्ला तर्फ ३१ जना र महिला तर्फ ७ जनाले उम्मेदवारी दिएका थिए । भण्डारी समुहबाट सर्वसम्मत चयनका लागि नेता मोतिराज सुनुवारलाई संयोजक तोकिएको थियो । उनले खुल्ला तर्फ ६ जना र महिला तर्फ ३ जना सर्वसम्मत गरिएको बताए । क्षेत्र नम्बर १ बाट प्रतिनिधिका लागि खुल्ला तर्फ खम्ब सिंह गुरुङ, मुरारी सुवेदी, मिन सुब्बा, विजय राई, यज्ञराज खड्का, राम कुमार आङ्बो रहेका छन् भने महिला तर्फ मञ्जु भण्डारी सुवेदी, लहरु जिमी र विणा खनाल रहेका छन् ।
यता बस्नेत समुहले एकलौटी ढंगबाट प्रतिनिधी छनौट गरेको आरोप लगाउदै आफ्नो तर्फ बाट प्रतिनिधि उम्मेदवार घोषणा गरेका छन् । कसै सँग पनि छलफल नगरी जबरजस्ती प्रतिनिधी छनौट गरेको बस्नेत समुहका धरान नगर अध्यक्ष नारायण सुवेदीले बताए । यो समाचार तयार पार्दा सम्म बस्नेत समुहबाट बस्नेत सहित धरानका पुर्व मेयर मनोज मेन्याङ्बो, सान्सद जय कुमार राई, पदम प्रसाद लिम्बू, बराहक्षेत्रका राजु अधिकारी लगायतले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।