धरान । नेपालीहरुको महान चाड तिहार घरघरमै भित्रिइसकेको छ । झिलीमिलीको पर्वको रुपमा रहेको तिहारमा फूलको व्यापक प्रयोग गरिन्छ । घर सजाउन होस या यमपञ्चक अन्तर्गत लक्ष्मी पुजा वा कुकुर, गाई तथा दाजुभाईलाई भाइटिका लगाउँदा फूलकै प्रयोग गरिन्छ । समग्रमा भन्नुपर्दा झिलीमिली फूलको पर्व भनेर तिहारलाई चिनिने गरिएको छ ।
नेपालीहरुको महान चाड तिहारमा नेपाली फूलले बजार पाउनु भन्दा पनि भारतीय फूलहरुले बजार पाएको छ । यसको प्रमुख कारण नेपाली फूल कृषकलाई राज्यले प्रोत्साहन गर्न नसक्दा नेपाली कृषकहरुले पर्याप्त फूल उत्पादन गर्न सक्दैनन् । जसले गर्दा भारतीय फूलले नेपाली बजार पाएको फूल कृषक बताउँछन् ।\
मोरङको केराबारी गाउपालिका वडा नं.५ देवी गाउँका पदम विश्वकर्माले व्यवसायीक रुपमा सयपत्री फूलको खेति गरेको ५ बर्ष भयो । फूल खेतीबाटै आफ्नो परिवारको खर्च धान्दै आएका छन् । तर यस बर्ष भने फूल विक्रीबाट पर्याप्त आम्दानी नहुने बताउँछन् । ४ कट्ठामा फूल खेती लगाएका विश्वकर्माले वेमौसमी वर्षाले फूलहरु सखाप बनाएका कारण मासिएको बताए । अर्कोतर्फ भारतीय फूलहरु छ्यापछ्याप्ती बजारमा आएकाले बजार नपाउँदा मूल्य पनि नपाउने अवस्था आएको बताए । उनले भने, ‘पाँच बर्षदेखि फूल खेती गर्दै आए पनि यस बर्ष बर्षाद्ल्े सबै फूल सखाप बनायो ।’
देवी गाउँमा अन्य खेती नहुने भएकाले तिहारको समयमा फूल खेतिनै पर्खिनुपर्ने बाध्यता रहेको बताउँछन् । यस वर्ष भने फूल खेतिबाट प्रसस्त आम्दानी गर्न नसकेको बताउँछन् । तर यस बर्ष प्रसस्त फूल नफुलेका कारण नेपाली फूलको माग बढी भएपनि भारतीय फूलले बजार पाउने सम्भावना बढेर गएको बताए । उनले भने, ‘बर्षादले फूल कम फुल्यो, अहिले बजारमा पर्याप्त मात्रामा भारतीय फूल भित्रिएको सुनिएको छ, यसले गर्दा नेपाली फूलको मूल्य पक्कै कम हुन्छ, मेहनत त्यसै खेर जान्छ जस्तो छ ।’
अघिल्लो वर्षहरुमा तिहारको समय १० देखि १२ लाख सम्म फूल खेतिबाट आम्दानी हुने भएपनि यस बर्ष भने ३ देखि ४ हजार मात्र आम्दानी भएको स्थानीय सीतामाया विकको भनाई छ । केराबारी गाउपालिका वडा नंंं ५ की वडासदस्य समेत रहेकी उनले ५ कट्ठामा फूल खेति लगाएकी छन् । फूल खेतिमात्रै त्यस क्षेत्रका कृषकहरुको जिउने आधार हो । उनले भनिन, ‘अन्य नगदे बाली लगाउँदा बादरले दुःख दिन्छ, यही फूल खेति यहाँका कृषकहरुको जिउने आधार हो, यहाको समस्याको विषयमा पटक पटक नगरसभामा कुरा राखे, तर कसैले वास्तै गर्दैनन् ।’
सरकारले फूल खेति गर्ने कृषकलाई प्राथमिकतामा नराख्नु र बजारको व्यवस्था नगरिदिदाँ व्यवसायीक फूल कृषकहरु मारमा परेका छन् । जसले गर्दा नेपालमा व्यवसायीक फूल खेति गर्ने कृषकहरु समस्यामा छन् । नेपाली कृषकहरुले उत्पादन गरेको फूल कम आउने सम्भावना बढेकै कारण अहिले भारतमा उत्पादन भएका फूलहरु प्रसस्त रुपमा भित्रिएको धरान स्थित कृषि उपज बजार स्थलले जनाएको छ ।
यमपञ्चकको पहिलो दिन कृषि बजारमा मात्र १ लाख फूलका मालाहरु भित्रिएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनले भने, ‘तीन लाख फूल आउने तयारीमा रहेको यम पञ्चककै पहिलो दिन १ लाख फूलमा माला भित्रिसकेका छन्, अहिले ती फूलका माला व्यापारीले कोल्डस्टोरमा राखेका छन्, लक्ष्मी पूजाको दिन नेपाली फूल नआएमा यो फूलले बजार पिट्ने सम्भावना बढेर गएको छ ।’
बर्षेनी भारतबाट फूलको माला सहित खरिद गरेर ल्याएका व्यापारी शैलेन्द्र चौधरीले भारतीय फुलको लाच्छा ३८ रुपैया प्रतिगोटा परेको बताउँछन् । उनले भने, ‘विगतका बर्षहरुमा विक्री नभएर फाल्नुपरेको अवस्था थियो, तर यसबर्ष भने त्यस्तो अवस्था नआउँला जस्तो लाग्छ ।’
भारतीय फूललाई विस्थापित गर्दै नेपाली फूलको उत्पादनलाई बढाउन कृषकलाई प्रोत्साहन गर्ने नीति नेपाल सरकारले ल्याए पनि सम्भव हुन सकेको छैन । सरकारले कृषकलाई दिने अनुदान समयमा नदिनु, प्राविधिक समस्याको समाधान नगरिदिनु नै यसको प्रमुख कारण भएको व्यवस्थापक भट्टराईको ठम्याई छ ।