इटहरी/ गत बिहीबार इटहरीबाट भाटभटेनी तर्फ हुइकिएको एक सफारीलाइ मालबाहक ट्रकले ठक्कर दिदा सफारीमा सवार ३ जना मध्ये २ जना घाइते भए । दुर्घटना इटहरीको मुख्य चौक अन्तरगत पश्चिम दिशा तर्फ बनाइएको जेब्राक्रसिङमा भएको थियो ।
त्यस्तै शनिबार को ४ प ३१६२ नं को मोटरसाइकलले इटहरी ३ का सुमन न्यौपानेलाइ ठक्कर दिदा उनी घाइते भए । जेब्राक्रसबाट बाटो काटने क्रममा उनलाइ मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट उनी सामान्य घाइते बनेका छन् ।
दुर्घटना न्युनिकरण तथा सर्वसाधरणका लागि बाटो काटन सहज होस भन्ने उद्देश्यले बनाइएको जेब्राक्रसिङ पछिल्लो समय सर्वसाधरणका लागि काल बन्न थालेको छ । इटहरीमा गएको असोज १० गते देखि कार्तिक १० गते सम्मको दुर्घटना बिवरण हेर्ने हो भने जेब्राक्रसिङमा मात्रै ६ वटा सवारीहरू दुर्घटनामा परेका छन । जसमा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन ।
दशैको अवधिभर भएको सवारी दुर्घटनाकै बिवरण अनुसार इटहरी आसपास बनाइएको जेब्राक्रशमा धेरै जसो दुर्घटनाहरू हुने गरेको पाइएको छ । दशैको अवधिमा इटहरीभित्र १० वटा सवारी दुर्घटना हुँदा बिभिन्न् स्थानमा रहेका जेब्राक्रसिङमा ४ वटा दुर्घटना भएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । त्यस्तै गएको एक महिनाको अवधिमा इटहरीभित्रै २३ वटा सवारीसाधनहरू दुर्घटना भएका छन् ।
इटहरीमा ट्राफिक सचेतनाको कमि सँगै नियम पालना गर्ने तर्फ कसैको ध्यान जान नसक्दा धेरैजसो सर्वसाधरणहरू जेब्राक्रसिङमै अल्मलिने गरेका छन । मुख्य राजमार्गहरूमा बनाइएको जेब्राक्रसिङबाटै सवारी चालकहरूले तिब्र गतिका साथ सवारी गुडाइदिदा पैदलयात्रीहरु बाटो काट्ने क्रममा दुर्घटनामा पर्ने गरेका छन् । इटहरी क्षेत्रमा बनाइएका अधिकांस जेब्राक्रसिङहरू अहिले देखिनै छाडेका छन् जसका कारण पैदलयात्रीहरू दुर्घटनाको जोखिममा पर्ने गरेका छन । इटहरीको धरान लाइन, बिराटनगर रोड र पूर्व लाइनमा जेब्राक्रसिङ मेटिएका हुन् ।
ट्राफिक प्रहरीहरू २४ सै घण्टा ड्युटिमा खटिए पनि सवारी चालकहरूलाइ ट्राफिक नियम पालना गराउने तर्फ भने कसैको ध्यान जान सकेको छैन् । इटहरीमा बिगतको वर्षहरूमा पनि बिभिन्न सामाजिक संस्थाहरूले ट्राफिक सचेतना सम्बन्धि कार्यक्रमहरू गर्दै आएका छन् ।
पछिल्लो समय कोरोना कहरका कारण कुनै सचेतनाका कार्यक्रमहरू भएका छैनन । ट्राफिक प्रहरीले पनि सवारी चालकहरूलाइ राखेर जेब्राक्रसिङ साथै बिभिन्न नियमहरूको बारेमा सचेतना जगाउन नसक्दा इटहरीमा सवारी चालकहरूको लापर्वाहि बढदै गएको छ । यता प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाका अनुसार इटहरीमा मात्र नभइ प्रदेश एकका बिभिन्न जिल्लाहरूमा अहिले पनि ट्राफिक नियम पालना भइरहेको दाबि गरेका छन ।
प्रदेश एकको धेरै जसो दुर्घटना हुने क्षेत्रहरू सुनसरी, मोरङ र झापामा सम्बन्धित प्रहरी कार्यालयका प्रमुखहरूकै उपस्थितिमा टाफिक सचेतना गराइ रहेको डिएसपी तिम्सिनाले दावि गरेका छन ।