विराटनगर । एक इँटा व्यवसायीमाथि उच्च अदालत विराटनगरको गेटमै खुकुरी प्रहार भएको छ ।
मोरङको कटहरीमा इँटाभट्टा संलान गर्दै आएका व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार खुकुरी प्रहार भएको हो । घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लामाको विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको अवस्था भने खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा विराटनगर आइपुगे लगत्तै विराटनगरमा आक्रमण भएको हो । उनले कटहरी गाउँपालिका–६ मा मोरङ राजधानी इँटा उद्योग संचालन गर्दै आएका छन् । त्यहाँ उनले दुई वर्षदेखि लगानी गरिरहेको बतााइएको छ ।
प्रहरीका अनुसार वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल–फर्मबाट निस्किएर उच्च अदालतको गेटअगाडि पुगेपछि लामामाथि दुई जना युवाहरूले एक्कासि खुकुरीले आक्रमण गरेका थिए । घटना हुँदा लामासँग उनका साथी मोरङको कटहरी–६ का ४१ वर्षीय सुवास सरदार पनि साथै थिए । झडप छुट्याउने क्रममा उनको शरीर र लुगामा रगत लागेको छ ।
इँटा उद्योगका विषयलाई लिएर पछिल्लो समय विवाद रहेको बताइएको छ । यसअघि उद्योग मोरङको नोचाका मोहम्मद साजितले संचालन गर्दै आएका थिए । त्यसमा साजित र उनकी श्रीमतीको ५०÷५० प्रतिशत शेयर थियो । उनले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आधाआधा शेयर रहेको उद्योग नै पछि पाँच वर्षका लागि लामालाई साजितले लिजमा दिएको पाइएको छ । त्यसवापत उनलाई लामाले वार्षिक ५० हजार थान इँटा दिने सर्तनामा थियो ।
तर पछिल्लो समय उद्योग एकलौटी बनाउने प्रयास साजितले गरिरहेको पाइएको प्रहरीको भनाइ छ । उद्योगबाट लामालाई निकाल्न र लामाको नाममा रहेको शेयर हडप्न साजितले विभिन्न खेल खेलिरहेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार दुई जनाबीच यही विषयलाई लिएर विवाद भइरहन्थ्यो । इँटा उद्योगसँग सम्बन्धित कामले विराटनगर आएका बेला पुरानो विवादलाई लिएर लामामाथि खुकुरी प्रहार भएको प्रहरीको दाबी छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले घटनामा सजितको योजना वा संलग्नता छ कि छैन भन्ने बारेमा खुल्न बाँकी रहेको बताए । घटनापछि साजित सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ । लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्की पक्राउ परेका छन् ।
डिएसपी श्रेष्ठका अनुसार घटनामा प्रयोग भएको खुकुरी कार्कीलाई पक्राउ गरिएको हो । भाग्दै गरेको अवस्थामा कार्कीलाई विराटनगरको कोसी अस्पताल नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भनिएका अर्का एक युवा फरार छन् । पहिचान खुल्न बाँकी रहेका ती युवाको खोजी तीव्र पारिएको श्रेष्ठले बताए ।