इलाम/ सोमबार मृत भेटिएकी उच्च अदालत विराटनगर इलाममा कार्यरत बिमलादेवी पराजुलीको हत्या आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।
मंगलबार जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गर्दै मुख्य न्यायाधीशका सुरक्षा गार्डका रूपमा कार्यरत धनकुटा होलीखर्क–५ का प्रहरी युवराज बानियाँलाई पक्राउ गरेको जानकारी दिएको हो । मृतक पराजुली र प्रहरी बानियाँबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ ।
अभियुक्तलाई सोमबारनै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर मारेको स्वीकारेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।
कार्यालय समयपछि सबै आफ्नो घरतर्फ गए पनि मृत फेला परेकी महिला उच्च अदालत भित्रै रहेको तरकारी बारी तर्फ गएको बताइएको छ । दुई जनाबीच भनाभन भएको र घटना घटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक महिलाले लगाएको दुई तोलाको सिक्रीसमेत बानियाँको कोठाबाट बरामद गरिएको छ ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमला देबी पराजुली केही समय अघिदेखि उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत थिइन। अभियुक्त बानियाँले हत्या गरेको स्वीकार गरे पनि बलात्कार नगरेको प्रहरीसमक्ष बयानमा बताएका छन् ।