धरान/ विगत दुई वर्ष देखिको कोरोना महामारीका कारण धरान स्थित पिण्डेश्वर मन्दिरमा बोलबंम धार्मिक मेला हुन सकेका छैनन् ।
यस वर्ष पनि कोरोना संक्रमण पुर्णरुपमा नियन्त्रण आउन नसके पछि मेला नलाग्ने भएको छ । विगत ४० वर्ष देखि साउन महिनामा बोलबंम मेला लाग्दै आएको धरान १४ स्थित विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा कोरोनाको महामारी शुरु भए सँगै मेला बन्द गरिएको छ ।
निषेधाज्ञा खुकुलो भए पनि संक्रमणको दर बढ्दै गएकाले यस वर्ष पनि बोलबंम मेला नलगाउने पिण्डेश्वर बाबाधाम समितीका अध्यक्ष विकाश बनेपालीले बताए ।
वनेपालीका अनुसार बोलबममा एकै दिन हजारौं भक्तजनहरु आउने र दुरी कायम गर्न नसकिने, पानीले भिजिने भएकोले मेला गर्नु स्वास्थ्यको हिसाबले जोखिमपुर्ण रहेकाले बन्द गरिएको हो । धरानमा पनि कोरोना कम नभएकाले बाहिरबाट आउने धर्मावालम्बीहरुमा संक्रमण हुन सक्ने भएकाले मेला जोखिम पुर्ण हुने भएकाले बन्द गरिएको उनको भनाई छ ।
अघिल्लो वर्ष असोज १ गते देखि लकडाउन केही खुकुलो भए पछि मन्दिर खुल्ला गरिएको थियो । पुनः दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्न थाले पछि यस वर्ष पनि वैशाख १७ गते देखि मन्दिर पुर्ण बन्द रहेको छ ।
प्रत्येक बर्ष साउनमा शिवालयहरुमा जल चढाउने भक्तजनहरुको घुँइचो लाग्ने गर्छ । धरानको पिण्डेश्वर मन्दिरमा एक महिनामा नै लाखौं भक्तजनहरु आउने गर्छन् । कोशी नदीबाट जल ल्याएर शिवलिंगमा चढाउन नेपालबाट मात्र नभै, भारत र भुटानबाट समेत गेरु वस्त्रधारी भक्तजनहरु आउने गर्छन् । बोलबंम मेला बन्द हुँदा मन्दिर परिषरमा फुलपाती व्यवसाय गर्ने साना व्यवसायीहरु प्रभावित भएका छन् भने मन्दिरको आयस्रोत पनि गुम्दै गएको छ ।