प्रदेश एकमा पाँच जिल्ला सभापति चुनावमा उठ्न नपाउने

  • असार २५, २०७८
  • "कुमार लुइँटेल"
alt

विराटनगर/ नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइराला लगातार पार्टीको दुई कार्यकालदेखि नेतृत्वमा छन् । प्रदेश नम्बर १ मा प्रमुख विपक्षी कांग्रेस संसदीय दलका नेता पनि हुन, उनी । कांग्रेस विधान अनुसार अब कोइरालाले जिल्लामा नेतृत्व दाबी गर्न मिल्दैन ।

तर, पार्टीको १४ औं महाधिवेशन नजिकिएसँगै कोइराला पार्टीको माथिल्ला पदमा उठ्ने योजना साथ तयारीमा केन्द्रीत भएको बताउँदै भन्छन्, “मध्य बर्खा छ, महाधिवेशन पनि नजिकिसक्यो, अब जिल्ला नेतृत्वभन्दा पनि माथिल्ला पदमा जाने तयारी गर्दैछु, साथीभाई र नेतृत्वसँगको छलफल गरेपछि कुन पदमा उठ्ने भन्ने तय गर्नेछु ।” क्रियाशील सदस्यता सम्बन्धी विषय निरुपण गरेर आफू भर्खरै काठमाडौबाट फर्किएको र केन्द्र अथवा प्रदेशतिर उम्मेदवार बन्न सक्ने संभावना अधिक रहेको उनले सुनाए ।

कोइराला जस्तै झापाका उद्धव थापा, ओखलढुंगाका प्रदीप सुनुवार, पाँचथरका नरेन्द्र केरुङ र तेह्रथुमका गोबिन्द ढुंगानाले जिल्ला सभापतिको रुपमा १४ औं अधिवेशनमा उम्मेदवारी दिन पाउने छैनन् । उनीहरु लगातार दोस्रो कार्यकालमा रहेकोले उम्मेदवारी दिन नपाउने भएका हुन । तर, बीचको कार्यकालमा सभापति नभएका तर यो पटक दोस्रो कार्यकालको जिम्मेवारीमा रहेकाहरु भने उम्मेदवार बन्न सक्नेछन् ।

नेपाली कांग्रेसको विधान अनुसार जिल्ला अधिवेशनले कम्तिमा दश वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको केन्द्रीय महाधिवेशन प्रतिनिधि मध्ये बाट जिल्ला सभापति निर्वाचित गर्ने प्रावधान छ । सभापतिको पदमा निर्वाचित हुन खसेको मतको पचास प्रतिशतभन्दा बढी मत ल्याउनु पर्छ । पहिलो चरणको निर्वाचनमा कसैले पनि पचास प्रतिशत भन्दा बढी मत नल्याएमा, सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारबीच पुनः मदतान गरी बढी मत ल्याउने विजयी हुने व्यवस्था छ । निरन्तर पाँच वर्ष क्रियाशील सदस्य भएका जिल्ला अधिवेशनका प्रतिनिधि मध्येबाट उपसभापति दुई, सचिव दुई र सह–सचिव दुई जना निर्वाचित हुन्छन् । सभापतिले जिल्ला कार्यसमितिका निर्वाचित मध्येबाट नाम प्रस्ताव गरी एकजना कोषाध्यक्ष चयन गर्छन ।

कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसंगै प्रदेश १ मा पनि चुनावी पारो तात्न शुरु भएको छ । आफ्नो उम्मेदवारीको विषयमा जानकारी गराउने र मत माग्ने क्रमसमेत शुरु भईसकेको छ । तर, जिल्ला कार्यसमितिमा लगातार दुई कार्यकाल बिताएका सभापतिहरु भने पार्टीको उपल्लो पद हत्याउने तयारीमा लागेका हुन् ।

पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अन्य प्रभावशाली नेताहरुको समूहको निक्र्योल नहुन्जेल जिल्लामा प्रस्ट कित्तामा खुलेर उम्मेदवारी घोषणा गर्ने क्रम भने शुरु भईसकेको छैन ।

संविधान सभा सदस्य तथा नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बू पार्टीको माथिल्लो पद अथवा फेरि जिल्ला सभापतिमा दोहोर्याउने विषयमा आफूले निर्णय लिई नसकेको बताउँछन् । दोस्रो कार्यकाल जिल्ला नेतृत्वमै रहने अथवा माथि अघि बढ्ने भन्नेबारे योजना बनाउँदै गरेको सुनाउँदै भने,“क्रियाशील सदस्यता सम्बन्धी विषयको टुंगो लगाउन अहिले काठमाडौमा नै छु । अब विवाद समाधान गरी जिल्ला फर्किएर आई केही निर्णय गर्नेछु ।” लिम्बू कोरोना महामारीका बेला संगठनलाई चलायमान गराउन र ओली सरकारका गलत कदमविरुद्धको मोर्चाबन्दीमा अग्रपंक्तिमा सक्रिय नेता पनि हुन । उनलाई शालिन र भद्र नेता मान्ने गरिएको छ ।

नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्यले १३ औं जिल्ला अधिवेशनमा ३ सय ६७ मत ल्याएर विजयी भएका थिए । उनका निकटम प्रतिद्वन्दी भेषराज आचार्यले २ सय ६४ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका जिल्ला सभापतिमा लगातार दुई कार्यकाल व्यतित गरेका कर्माचार्यले बीचको कार्यकालमा नेतृत्व नसम्हालेकोले उनलाई १४ औं अधिवेशनमा सोही पदमा उठ्न रोक छैन । कर्माचार्य लामो समय देखि पार्टीमा संघर्षशील, जुझारु अनि अनुभवी नेता मानिन्छन् । संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नं १ मा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसंग प्रतिस्पर्धा गरेका उनी पछिल्लो पटक उनी इलाम नगरपालिकाको मेयर पदमा समेत प्रत्यासी थिए ।

कर्माचार्यलाई प्रदेश र केन्द्रमा बलियो प्रत्यासीको रुपमा हेरिने गरेको छ । लामो समयसम्म नेतृत्व गरेको हिसाबले प्रभावशाली मानिने गरेका झापाका उद्धव थापा पनि आफ्नो अबको उम्मेदवारीको विषयमा खुलिसकेका छैनन् । जिल्लामा दुई कार्यकाल सफल रुपमा व्यतित गरेका थापालाई केन्द्र र प्रदेशतर्फको दह्रो उम्मेदवारको रुपमा हेरिएको छ ।

 

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved