धरान । कोभिडको महामारीमा सरकारले वितरण गरेको भ्याक्सीन वितरणमा विभेद गरेको भन्दै चलचित्रकर्मीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
विषम परिस्थितीमा फ्रन्ट लाइन र ६० वर्ष उमेर माथिका समुहका धेरैले दोस्रो चरणको समेत भ्याक्सिन लगाइसकेको अवश्थामा चलचित्रकर्मीहरुलाई पहिलो चरणकै भ्याक्सिन उपलब्ध नगराएको भन्दै प्रदेश १ का चलचित्रकर्मीहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । चलचित्रकमी हरुलाई राज्यले वेवास्ता गरेको र अहिले सम्म पनि पहिलो चरणको समेत भ्याक्सिन नपाएको भन्दै हिमाल दाहालको संयोजकत्वमा गएको चलचित्रकर्मीहरुको टोलिले प्रदेशका विभिन्न मन्त्रालयहरुमा भ्याक्सिन पाउनु पर्ने माग सहित मागपत्र बुझाएका छन् ।
टोलिमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधान, महासचिव दिनेश कोईराला, महासंघका उपाध्यक्ष तथा प्राविधिक संघ प्रदेश १ का अध्यक्ष प्रकाश सुब्बा सहितको टोलिले मंगलबार प्रदेश १ का सम्पुर्ण चलचित्रकमी हरुले भ्याक्सिन लाउन पाउनु पर्ने माग गरेका छन ।
देशमा भएको जुनसुकै आपत विपदमा पनि सबै भन्दा पहिला चलचित्रकर्मीहरुनै सहयोग लिएर पुग्ने गरेका छन । जुनसुकै अवस्थामा पनि कलाकारिताको माध्यमले होस् या अन्य कुनै माध्यम द्वारा अग्र पंक्तिमा उभिएर काम गर्न अग्रसर भएर अघी बढने चलचित्रकर्मी सधैं तयार रहदै आएका छन् । कलाकारहरुको सुरक्षाको लागि प्रदेश सरकारले जिम्मेवारी वोध गर्दै प्रदेश १ मा भएका सम्पूर्ण चलचित्रकर्मीहरुको जीवन रक्षाको लागि १५ सय ००, कोभिड बिरुद्धको भ्याक्सिन उपलब्ध गराई दिन चलचित्रकर्मीहरुको नामावली सहित प्रदेश सरकारलाई बुझाएका छन् ।
प्रदेश १ मा रहेका चलचित्र क्षेत्रमा कार्यरत निर्माता, निर्देशक, कलाकार, प्राविधिक, संगितकर्मी, नृत्यकर्मी, थारु, मैथली, राजावंशी, खवास लगायत सम्पूर्ण आदिवासी जनजाती चलचित्रकर्मीहरुलाई छिटो भन्दा छिटो पहिलो चरणको भ्याक्सिन उपलब्ध गराउन माग गर्दै पत्र बुझाइएको महासंघका प्रदेश १ अध्यक्ष अरुण प्रधानले बताए ।
सरकारले भ्याक्सिन उपलब्ध गराए प्रदेश १ का सबै चलचित्रकर्मीहरुलाई खोजि खोजि भ्याक्सिन लगाइने कार्यमा खटिने संयोजक हिमाल दहालले जानकारी गराए । महासंघका उपाध्यक्ष प्रकाश सुब्बाले पहिलो चरणको कोरोना महामारीमा महासंघले २२ जनाको कोभिड ईन्सुरेन्सको साथै राहत वितरण गरेको बताए । अहिले दोश्रो चरणको महामारीमा पनि हातेमालो अभियान अन्तर्गत बिभिन्न चलचित्रकर्मी हरुलाई खाद्यान्न, खाना पकाउने ग्यास, स्वास्थ्य समाग्री, अक्सिजन उपलब्ध गराउदै आएको बताए ।
उनले भने, ‘हातेमालो अभियान अन्तर्गत १ सय ५० भन्दा बढि चलचित्रकर्मीहरुलाई सहयोग गरि सकेका छौ ।’ हातेमालो अभियानमा महासंघलाई चलचित्र पत्रकार संघ, प्रदेश १, सुनसरी शाखा, डिथ्री अनलाईन, बिषेश अनलाईन, होप धरान, ईनास यु के, प्रतिभा नक्षत्र यु के ले सहकार्य गर्दै आएको छ ।