विराटनगर । मनपरी ढंगले क्रियाशील सदस्या वितरण गरेको भन्दै युवाले नेपाली कांग्रेसको ४ नम्बर क्षेत्रीय समितिको कार्यालयमा तालाबन्दी गरिदिए ।
पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ व्यवस्थापन कलेज विराटनगर र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ इकाईले असन्तुष्टि जनाउँदै तालाबन्दी गरिदिएका हुन । यो पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्याको संसदीय निर्वाचन क्षेत्र पनि हो ।
‘बुथबाट सिफारिस भई गएका नामावाली पाखा लगाई मनोमानी ढंगले क्रियाशील सदस्य वितरणको घटनाप्रति खेद व्यक्त गर्न चाहन्छौं’ भन्ने व्यहोरोको विज्ञप्ति प्रकासित गरी नेपाल विद्यार्थी संघ व्यवस्थापन क्याम्पसका सभापति पाश्चर घिमिरे र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ्गका सभापति मिलन श्रेष्ठले विरोध जनाए ।
कांग्रेस क्षेत्रीय कार्यालयले ‘तानाशाही ढंगले क्रियाशील सदस्यता विरतण गरेको र आफ्ना नजिकका व्यक्तिहरुलाई मात्र वितरण गरेकोले विरोध गर्नु परेको’ युवा विद्यार्थी योगराज दाहालले बताए । कोरोना महामारीबीच नै युवाहरुको टोली विराटनगर–४ स्थित नेपाली कांग्रेसको कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए ।
उनीहरुले यस विषयमा छानबिन गर्न आफ्ना माग कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति, कांग्रेसको केन्द्रीय कार्यसमिति र कांग्रेसको मोरङ जिल्ला समक्ष पनि राखेका छन् ।
महाधिवेशनको मिति समेत तोकिएको र यसको विधिको विषयमा छलफल भई रहेको बेला कांग्रेसको तल्लो तहसम्म क्रियाशील सदस्यता वितरणको विषयमा असन्तुष्टि आगो जस्तै सल्किएको छ । ‘आफन्त, आसेपासे र गुटभित्रका लाई मात्र सदस्यता दिइएको’ भन्ने असन्तुष्टि सतहमै मुखरित हुन थालेका छन् । प्रदेश १ को राजधानी अवस्थित मोरङ जिल्लासहित धेरै ठाउँमा कार्यकर्ताको यही असन्तुष्टि देखिएको छ ।
नेपाली कांग्रेस विराटनगर महानगर समितिका सचिव प्रकाश दाहाल भन्छन्,“नेतैच्छिेका स्वार्थका कारण सच्चा रुपमा पार्टीमा खटिएका र पाउनु पर्ने कार्यकर्ताले पनि क्रियाशील नपाएको विषयले ठूलो असन्तुष्टि सिर्जना भएको छ ।” उनले यस्तो परिस्थितिले पार्टीभित्रको मात्र नभएर स्थानीय, प्रदेश र संघीय आम निर्वाचनमा समेत घात अन्तरघातको अवस्था आउने खतरा भएको बताए ।
मोरङ कांग्रेसका अगुवा इन्द्रमणि थापाले अहिले क्रियाशील सदस्यताको विषयले कांग्रेसको राजनीति नै गिजोलिएको अवस्था पुगेको बताए । “पहिले चुनावमा अन्तरघात गर्नेहरुको नाम पराजितहरुले पार्टी संगठनमार्फत सिफारिस गरे । कतिलाई कार्वाही भयो कतिलाई भएन तर पहिलेका असन्तुष्टि अनि सम्बन्ध सुधार भएको छैन,” उनले भने,“अहिले फेरि क्रियाशीलको विवाद उठेको छ । यसले पार्टीको आन्तरिक जीवनमा मात्र नभएर आउने चुनावमा समेत असर गर्ला कि भन्ने पिर थपिएको छ ।” जहाँ शक्ति पुग्छ त्यहाँ आफ्ना खाले मानिसलाई क्रियाशील सदस्य दिने तर समूहबाहेककालाई नदिने काम भएकोले पनि यसले कांग्रेसको चुनावी महाधिवेशनलाई असर गर्ने थापाले सुनाए ।
यो भाषबाट पार्टीलाई बाहिर निकाल्नु पर्छ भन्दै कार्यकर्ता तहबाट क्रियाशील सदस्यता वितरणको विषयमा उचित छानबिन हुनुपर्ने माग समेत बढेको छ । महाधिवेशनमा जेनतेन कुनै पदमा विजयी भएर पुगेपनि आउने चुनावहरुमा भने यसले क्षति पुग्न सक्ने धेरै कार्यकर्ताको अड्कल छ । “विभेदरहित ढंगले क्रियाशीलको समस्या निरुपण गरिनु पर्छ,” नेपाल प्रजातान्त्रिक महासंघ मोरङका अध्यक्ष रामचन्द्र गौतम भन्छन्,“पार्टीमा आफ्ना कुरा राख्न पाइँदैन भने के लोकतान्त्रिक पार्टी र कम्युनिष्टमा के फरक भयो र ? क्रियाशील सदस्यहरुको सन्दर्भमा क्षेत्र नम्बर ४ मा फाराम भर्नेलाई नदिएको ताल्चा लगाउनेसम्कको काम भएको भएको छ ।”
कांग्रेस पुराना कार्यकर्ता भूपेन्द्र प्रसाद चौधरी नेपाली कांग्रेसले अहिलेसम्म देशको राजकाग चलाउने अवधि गणना गर्दा ७० प्रतिशत नेतृत्व लिएको बताए । राज्यको नेतृत्वदायी भूमिका निर्वाह गरेको तर कांग्रेसले यो अवधिमा के गर्यो भनेर आम रुपमा प्रश्न उठ्ने गरेको सुनाए । भने,“कांग्रेसले गरेका गल्तीका परिदृश्य अहिले देखिन थालेको हो । कांग्रेसले शुरु गरेका गल्ती कमजोरीका कारण अहिले देश खराब अवस्थामा पुगेको छ । गल्ती गरेको कुरालाई स्विकार गर्नुपर्छ । पार्टीमा नेतृत्वदायी भूमिका कमजोर बन्दै गएकोछ । यसलाई सुधार गरेर लैजानु पर्छ । संधैभरि व्यक्ति, विशेष र चरित्र नेतृत्वमा रहने होइन । म मात्र र सर्वोपरि मै हुँ भन्ने घण्ड त्याग्नु पर्ने बेला भएको छ ।” उनले क्रियाशील सदस्यताको वितरणमा देखिएको समस्याले कांग्रेसलाई झन् कमजोर बनाउन सक्ने भएकोले यसबारे पार्टी नेतृत्वले विशेष ध्यान दिन जरुरी भएको सुनाए ।
अन्तरघातको विजारोपण क्रियाशील वितरणमै देखिएको भन्दै महिला नेतृविजेता अधिकारी ‘यसको निचोड के हो त ?’ भन्दै प्रश्न गर्छिन । कार्यकर्ताको मनोभावको कदर हुनुपर्ने र सानो क्षेत्रबाट नेताहरु बाहिर निस्कनु पर्ने उनको सुझाव छ । “नेताले सानो समूहलाई लिएर हिंड्ने गर्नाले पार्टीको लागि काम गर्नेहरु कता जान्छन् कता । नेता सबैको मियो हुनुपर्छ सबैलाई समेटेर लिएर अघि बढ्नु पर्छ,” उनले भनिन्,“क्रियाशीललाई राम्रो छानबिन गरेर कसले काम गरेको हो त्यसले प्राप्त गरोस । भोटको लागि मात्र दिने नगरियोस । व्यक्तिगत लालसाका कारण पार्टी छिन्नभिन्नको अवस्थामा पुगेको हो ।”
कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले महाधिवेशन कोरोना महामारीको जोखिमको अवस्थामा पनि हुनैपर्ने भएकोले अहिले यसको तयारी नै थालिएको बताएका छन । महाधिवेशन नगरी अब भाग्ने अवस्था नरहेको बताउँदै उनले भने,“कांग्रेसले सबैको सल्लाह र मान्य निर्णयहरु गरिरहेको छ । कांग्रेसले नै संविधानको रक्षा गर्न सक्छ । यो महाधिवेशन उपलब्धिपूर्ण तरिकाले सम्पन्न गर्नुबाहेक अर्को विकल्प छैन ।
केन्द्रीय नेताहरुले समेत छलफल गरिरहनु भएको छ र विधिको विषयमा छलफल भईरहकेो छ । वौधानिकता जोगाउनको लागि पनि कांग्रेस चुनाव हुनैपर्छ ।” अर्यालले कम्युनिष्टको तानाशाहीपूर्ण शासन प्रणालीका कारण जनतासमेत दिक्क भएको बताए । क्रियाशील सदस्यता वितरणको प्रक्रिया अनि विवादको विषयमा केन्द्रीय समितिको बैठकमा गभ्भीर रुपमा उठाउने अर्यालले बताए ।