विराटनगर । प्रदेश नं १ का विपक्षी दलका सांसदले कोरोना महामारीमा दुई पटक संसद विघटन गरेर संविधानको खिल्ली उडाउने काम भएको भन्दै जनताले प्रदेश सरकारको ठेगाना नपाएको टिप्पणी गरेका छन् ।
साना दलका सांसदले बजेट अधिवेशनलाई शुभकामना दिंदै प्रदेश सरकार संघीय सरकार छायाँ जस्तो मात्र बनेको बताउँदै माथिको सरकारको सिको गरेर अघि नबढ्न चेतावनी दिएका छन् ।
राजिव कोइरालाले आफूले प्रदेश सरकारले ल्याएको यसअघिका बजेट र कार्यक्रममा विपक्षी दलको नाताले आफूहरु पनि जोडिएको तर काम गर्न नसकेको बताउँदै भने,“सरकारले ल्याएको बजेट र सांसदको नाताले कतिपय कार्यक्रम छुटिएको भएपनि बजेट नपाइएकोले म जनतासंग माफ गर्न चाहन्छु ।” सरकारले कतै सदन बहिष्कार गर्छ ? भन्ने प्रश्न गर्दै कोइरालाले शुरुका दुई तीन वर्ष निक्कै राम्रो काम गरेको तर अहिले भने हराएको भन्दै मुख्यमन्त्रीलाई नजिकैको कार्यालयबाट प्रदेशसभा सम्म आई पुग्न ६ महिना लागेको भन्दै कटाक्ष गरे ।
“के हो यो दुई तिहाई ? वहुमत ६ वटा प्रदेशमा थियो कहाँ गयो त्यो उत्साह उमंग । प्रश्नको जवाफ दिनुपर्दैन,” कोइरालाले भने,“ढुंगा गिटी र चुरे दोहन गरेर उतै पठाउने हो भने के रह्यो त ?” देश भनेको भुगोलमात्र नभई जनतासमेत भएकोले प्रदेश २ को सरकारले बोलेजस्तै त्यस्त विषयमा सरकारले स्पष्ट धारणा राख्न सुझाव दिए । संघीयताको पहिलो अभ्यास गर्ने जिम्मेवारीमा आफूहरु निर्वाचित भएर आएकोले भरोसा कायम गर्नुपर्ने अवस्था सिर्जना आएको सुनाए ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्वोले अध्यादेशमार्फत बजेट र नीति तथा कार्यक्रममाथिको छलफलको औचित्य नभएको भन्दै सरकार आफ्नो स्थायित्वको गठजोडमा मात्र सीमित रहेको आरोप लगाए । उनले भने,“महामारीका बेला जनतासंग गएर सोध्ने हो भने उनीहरुले प्रदेश सरकारको ठेगाना जनताले भन्न सक्दैनन् । हामीले संसद अधिवेशन आह्वानको माग गर्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराउनु पर्यो ।” सरकार सत्ताको जोडघाटाउको कारणले हराएको भन्दै आङ्बोले विपक्षी दलले रचनात्मक सहयोगको कुरा गर्दासमेत सस्तो प्रचारको लागि भएको भन्ने सरकारका मन्त्रीले टिप्पणी गरेको सुनाए ।
“मुख्यमन्त्रीले सबै सिको प्रधानमन्त्रीको जस्तो नगरेकै भए हुने थियो । कलाविहीन रुपमा अध्यादेश आएको छ,” उनले भने,“कोभिड नियन्त्रण गर्न प्रदेश सरकारको उस्थिति देखिएन । जनताले प्रत्यक्ष अनुभूति गर्न सकेनन् । जनता मरेका मर्यै छन् । संघीय सरकार लुटमै रमायो, स्थानीय सरकारले आफूले सकेसम्म कोसिस गरेका छन् तर प्रदेश सरकार जसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्दथ्यो गर्न सकेन ।”
मान्छे अक्सिजन नपाएर छट्पटाएर मरिरहेको, अस्पताल छिर्दा शुरुमै रकम जम्मा गर्नुपर्ने बाध्यता रहेको तर स्वास्थ्य सम्बन्धी जिम्मेवारी वहन गर्नुपर्ने सामाजिक विकास मन्त्रालउ रक्सी कार्यदल खोजेर बसेको भन्दै टिप्पणी गरे । निश्चित नेता र निश्चित निर्वाचन क्षेत्रमा मात्र केन्द्रीत भएर बजेट खन्याउने काम भएको अनि सरकार चालू बजेट कार्यान्वयनमा समेत फिताले देखिएको बताए । भने,“मन्त्रीको काम झन्डा मात्र हल्लाउने जस्तो भएको छ ।”
जनता समाजवादी पार्टी नेपालका सांसद जयराम यादवले यतिन्जेल नभेटिएको प्रदेश सरकार प्रदेश सभामा भेटिएको भन्ने टिप्पणी गर्दै भने,“जनतलाई पनि आज प्रदेश सरकार भेटिन्छ कि भेटिदैन भन्ने थियो । नीति तथा कार्यक्रमको कुनै पनि नाराले पूर्णता नपाएकोले संघीय गणतन्त्रलाई रक्षा गर्नुछ भने तपाई गर्न नसक्ने भए विपक्षीलाई सरकार चलाउनु दिनुहोस ।”
प्रदेश सरकार गतिहीन भएको बेला जनतालाई आफूहरु सरकारमा नभएको भन्दै जवाफ दिदैं हिंड्नु परेको बताए ।
यो समयमा प्रदेश सरकार कहाँ छ ? भनेर खोज्न आफूहरु नै प्रदेश प्रमुखकोमा पुगेका बताउँदै भने,“प्रदेश सरकारलाई खोजिदिनुस भनेर प्रदेश प्रमुख समक्ष आग्रह गर्नु पर्यो । कोभिडको दोस्रो लहरको कोरोना संक्रमणमा प्रदेश सरकारले एक पटक पनि विपक्षीसंग छलफल गरिएन । जनताको जिउधनको रक्षा गर्न नसक्ने हो भने हात उठाएर भन्नुहोस अरुलाइ रोज्नुहोस भन्नुहोस । विकल्प दिन सक्छौं । यत्तिको समयमा पनि प्रदेश सरकारको उपस्थिति देखिएन भने कहिले हुन्छ ।” अध्यादेशमार्फत गरिएको आर्थिक कार्यविधि ऐन संशोधनको विषयमा गम्भीर आपत्ती भएको सुनाए ।
‘माछी ताके हाउ, चोर ताके दाउ’ भने जस्तै प्रदेश सरकारको अवस्था रहेको टिप्पणी गर्दै यादवले संघीय सरकारलाई सत्ता जोगाउने खेलबाहेक केही नभएको र जनताले सोध्दा हाम्रो सरकार छैन् भन्नु पर्ने अवस्था आएको टिप्पणी गरे ।
प्रदेश नं १ को आठौ तथा बजेट अधिवेशन सोमबार शुरु भएको छहो । सभामुख प्रदिपकुमार भण्डारीले अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएपछि शुरु भएको बेठकमा भण्डारीले नेकपा माओवादी केन्द्रद्वारा शेरधन राई नेतृत्वको सरकारलाई दिएको समर्थन जेठ २३ गते समर्थन फिर्ता लिएको भन्ने जानकारी सदन समक्ष गराए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चकी सांसद विष्णु तुम्बाहाम्फेले संसघ विघटन गरेर दुई पटक संविधानको खिल्ली उडाउने काम भएको बताइन । भनिन,“राजनीतिक दलहरु असफल भईसकेका छन ।
थ्रेसहोल्ड खारेज हुनुपर्छ । दलहरुको खिचातानी संसदमा मात्र नभएर सर्वोच्च अदालतसम्म पुगेको छ । अदालतमा पनि खुला राजनीति हुन थालेपछि राजनीति कहाँ पुग्यो होला ? नागरिकताको विषयमा प्रदेश सांसद रमित हुन सक्दैन । सत्ताको लागि जे पनि गर्ने ? देश बचाउनु पर्दैन ।” उनले अहिले प्रदेश सांसदहरु हाईहाई काड्दै बस्नु परेको अवस्था आएको र भ्रष्टाचार बढेर प्रदेशलाई कमजोर भएको बताइन ।
चुरे क्षेत्र उत्खनन् गर्ने कार्य बन्द होस भन्दै उनले देशै बेचेर व्यापार घाटा गर्ने भनेर कसरी सोचेको होला भन्दै प्रशन गरिन । उनले कोभिड सहज भएपछि नेपाली जनताको आक्रोस र सरकार तथा कर्मचारीतन्त्र प्रति सामना गर्नुपर्ने अवस्था आउने बताइन । भनिन्,“कोभिडको लागि खट्दा खट्दै मुख्यमन्त्री र मन्त्रीहरु नै थाक्नु भयो भन्ने सन्देश जाओस छ न ! तर, संघीय सरकारले संस्कृतिमाथि पनि हस्तक्षेप गर्दै आएको छ ।” उनले ताप्लेजुङको विमानस्थलको नाम फेर्ने कुराको विरोध गर्ने र पहिचान विरोधी काम मान्य नहुने सुनाइन ।
राप्रपा सांसद इन्दिरा राईले विश्वमा कतै नभएको राजनीतिक अन्योलमा रुमलिनु परेको बताउँदै देशको अस्मितामाथि स्वेत व्याधिले ग्रसित तुल्याएको टिप्पणी गरिन । भनिन्,“संघीय र प्रदेश सभामा निर्वाचित भएका नेतृत्व विदेशीका दलाल भई व्यक्तिगत स्वार्थमा लागेको देखिएको छ ।
देश र जनता प्रति नुनलौरो बाहेक केही दिन नसकिएको अवस्था छ ।” उनले हेलचेक्र्याई र ख्यालठट्टा गर्दागर्दै नेपाल संक्रमण दर उच्च हुने देशको रुपमा दरिएको राईले बताइन । तीन महिनाभित्र कोरोना नियन्त्रण गर्ने कार्यनीति लिन सरकारलाई सुझाव दिइन ।