धरान । गत जेठ १ गते देखि एक साताका लागि बन्द रहेको धरान स्थित कृषि उपज बजार स्थल आज देखि दुई घण्टाको लागि खुल्ला गरिएको छ ।
तरकारीजन्य वस्तुहरुको अभाव हुन थाले पछि बजारमा स्टक राखिएको तरकारीहरु बजार सम्म पुर्याउन दिनको दुई घण्टा थोक बिक्रिका लागि खुल्ला गरिएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।
उनका अनुसार बिहान ४ बजे देखि बिहान ६ बजे सम्म मात्रै बजार खुल्ला रहनेछ । विहिबार धरान उपमहानगरपालिकामा बजारका प्रतिनिधी सहित सुनसरी उद्योग वाणिज्य संघ, धरान उपमहानगरपालिकाका प्रतिनिधीको छलफलबाट आज देखि बजार दुई घण्टा थोक बिक्रिका लागि खुल्ला गर्ने निर्णय गरेको थियो ।
बजारबाट आज करिब २ सय बोरा आलु, २ सय बोरा प्याज सहित एक पिकअप टमाटरको कारोबार भएको भट्टराईले बताए । उनले भने, ‘खुद्रा बजार भने खुल्ला हुनेछैनन्, तर घर घरमा घुमेर बिक्रि गर्न पाइनेछ ।’
धरानमा अझै पनि कोरोना संक्रमणको जोखिममै रहेको छ । स्वास्थ्यविज्ञहरुले पनि बजार खुल्ला गर्न नहुने सुझाव दिएका छन् । तर उपभोग्य वस्तुहरुको सहजताका लागि बजार खुकुलो पार्नुपर्ने उद्योगी, व्यवसायीको सुझाव अनुसार बजार दुई घण्टाको लागि खुल्ला गरिएको छ ।