स्तम्भकार झमक र ०६५ को आफ्नै परिवेश

  • बैशाख २४, २०७८
  • भीम खतिवडा
alt

विषय र सीमा
साहित्यकार झमक घिमिरेका विधाका कृतिहरूको मात्र परिचय, विश्लेषण तथा मूल्याङ्कन भइरहेको सन्दर्भमा स्तम्भकारका रूपमा उनले कान्तिपुर राष्ट्रिय दैनिकमा ‘आफ्नै परिवेश’ स्तम्भमार्फत् व्यक्त गरेका बहुविषयसम्बद्ध धारणाहरूको अध्ययन अवलोकन तथा मूल्याङ्कन प्रस्तुत विषयको प्रयोजन बनेको छ । स्तम्भकार झमकका ‘कान्तिपुर’मा प्रकाशित ‘आफ्नै परिवेश’ स्तम्भका सामाग्रीहरूलाई मात्र प्रस्तुत अध्ययनको विषयक्षेत्र बनाइएको छ । स्तम्भप्रकाशनको निरन्तरतालाई ध्यानमा राखी वि.सं. २०६५ सालभरिमा प्रकाशित आफ्नै परिवेशका सामग्रीहरूलाई मात्र अध्ययनका निम्ति छनौट गरिएको छ ।

व्यक्तित्व
साहित्यकार झमक घिमिरेलाई जन्म उमेर, लिङ्ग, र शारीरिक अवस्थाका आधारमा अब चिनाइरहनु परोइन । नेपाली समाजको राजनैतिक, सांस्कृतिक परिवर्तनको संक्रमणका बीच अद्वितीय प्रतिभाका रूपमा आफ्नू बहुआयामिक साहित्यक, सामाजिक, र स्वतन्त्र लेखकीय व्यक्तित्व विस्तार गर्न सफल श्री घिमिरेलाई हामी सबैका निम्ति प्रेरणा र प्रोत्साहनको ज्वलन्त नमूनाका रूपमा लिनुको विकल्प छैन । उनको व्यक्तिगत मात्र नभएर पारिवारिक, सामाजिक तथा अन्तराष्ट्रिय बहुआयामिक व्यक्तित्व आधाआकाशको सबल स्तम्भ र समग्र मानवसभ्यताकै उत्कृष्ट प्राप्तिका रूपमा लिन सकिन्छ । उनको प्रातिभ क्षमताबाट उत्पादित शब्दसामथ्र्यका दृष्टान्त बनेका समग्र प्रकाशित कृतिहरूको बहुपक्षीय समीक्षा र मूल्याङ्कन जति आवश्यक छ, त्यतिकै अप्रकाशित रचनाहरूको प्रकाशन तथा नयाँनयाँ रचनाहरूको निर्माणका लागि अझ अनुकूल वातावरण अपरिहार्य छ भन्ने लाग्छ ।

आफ्नै परिवेश
झमक घिमिरेको स्वतन्त्र विचारहरूको प्रस्तुतिको माध्यम बनेको देखिन्छ , यो स्तम्भ । समाजशास्त्र, मानवशास्त्र राजनीति, संस्कृति, दर्शन भर्मm रीतिजस्ता यावत् विषयहरूमा मुक्त दृष्टिकोण पाठकहरू समक्ष सम्प्रषण गर्नु ‘आफ्नै परिवेश’को उद्देश्य देखिन्छ । विषयगत विविधता यसको विशेषता हो भने सामाजिक सांस्कृतिक परिष्कार र राष्ट्रसमृद्धिको चिन्ता यसको अन्तर्वस्तु बनेको भए तापनि ‘आफ्नै परिवेश’ मा झमकको कलम राजनैतिक संकीर्णताबाट मुक्त स्वतन्त्र प्रबुद्ध नागरिकको दायित्वले निर्देशित देखिन्छ । झन्डादौडमा लागेका पीपलपाते सर्जकहरूको स्वार्थी दौडाइप्रति झमकको कलम एउटा मीठो व्यङ्ग्य बन्न सक्छ । स्तम्भकार बनेर निश्चित झण्डाको बुई चढेर अरूलाई सत्तोसराप गर्ने नामी शब्दपण्डितहरूका निम्ति पनि आफ्नै परिवेशका विविधापूर्ण जीवनवादी, माटोवादी, कर्मवादी विषयहरू स्वतन्त्र लेखकीय कर्तव्यको पाठ पढाइरहेका छन्, निश्चय नै ।
०६५ का ‘आफ्नै परिवेश’का विषयहरू
१) वैशाख १, २, ३ अप्रकाशित), ४. मातृभूमिको प्रेम
२) ज्येष्ठ २ (अप्र) १. पुस्तकमेला र मोफसलको पुस्तक रहर ३. सरिलो गणतन्त्र ४. स्वच्छ वातावरण, स्वस्थ जीवन ५. पेट्रोलियम पदार्थको मूल्यवृद्धि
३) आषाढ ३. (अप्र) १. सहमतिबाट राष्ट्रपति २. बन्द गरौं बन्द ४.न्याय छिटो
४) श्रावण २,४,५ (अप्र), १ (अप्राप्त) ३. मजदुरबाट सिक्नुपर्ने पाठ
५) भाद्र १,२,३,(अप्र) ४. नयाँ नेपालमा साहित्य
६) आश्विनका सबै अङ्क अप्राप्त
७) कात्र्तिक ३ (अप्र) १. जनताको सहभागिता २. वाईसियल र युथर्फोसको झडप ४. यात्राभित्रको पात्र
८) मार्ग ३,४(अप्र) १. नयाँ नेपालको पूर्वाधार २.विकासनिर्माणमा युवा
९) पौष २ अप्राप्त १. प्रधानमन्त्रीका अभिव्यक्ति ३. देवकोटाप्रति शव्दश्रद्धाञ्जली ४. पशुपतिमा नेपाली हिस्सा
१०) माघ ३ (अप्र), ४ अप्राप्त १.सुरक्षाप्रति संवेदनशील २. संविधान र खान पाउने अधिकार
११) फाल्गुण २. अप्रकाशित १. महाधिवेशनमा समावेशीकरण ३ मनभित्र घाम झुल्काउनु पर्छ ४. नारी र पहिरन
१२) महिनाभरि नै अप्रकाशित

टिप्पणी
सर्सर्ती हेर्दा आफ्नै समयाभाव, असावधानी र अन्य कतिपय कामजोरीका कारण ०६५ सालभरिमा सात अङ्क प्राप्त गर्न नसकिए तापनि जम्मा २० वटा अङ्क चाहिँ स्तम्भ प्रकाशित नभएका पाइए । ‘कान्तिपुर’ को उपेक्षा वा लेखकका व्यस्तताका कारण स्तम्भले निरन्तरताका बीच पनि नियमितता नपाएको जस्तो देखिन्छ । ०६५ भरिमा जम्मा २४ अङ्क ‘आफ्नै परिवेश’ स्तम्भ प्रकाशित भएको देखिन्छ ।
स्तम्भको वार्षिक अध्ययनबाट के देखिन्छ भने स्तम्भकार घिमिरेको सबैभन्दा बढी ध्यान सामाजिक चेतना र सुरक्षामा केन्द्रित देखिन्छ । उनी राजनीतिलाई पनि जनचेतनाको माध्यमका रूपमा लिएर बिग्रँदो परिवेशप्रति सजग बन्न सम्बद्ध पक्षहरूसँग आग्रह गर्छिन् । उनको दोश्रो महत्त्वको क्षेत्र साहित्य, कला र संस्कृति बनेको देखिन्छ । साहित्य र कलाका माध्यमबाट सामाजिक चेतनाको जागरण र सांस्कृतिक रूपान्तरणसँगै नयाँ सामाजिक मूल्यको स्थापनामा जोड दिनु उनको ध्येय देखिन्छ ।

लेखनगत प्रवृत्ति
जनचेतना र उद्बोधन
विकृतिमाथि विमति
सामयिक सन्दर्भ र टिप्पणी
कृतिगत तथा विषयगत समीक्षा
लैङ्गिक विभेदको विरोध
सामाजिक सांस्कृतिक विषयमा प्रकाश
तटस्थ र स्वतन्त्र विचार सम्प्रेषण
मौलिक चिन्तन
‘आफ्नै परिवेश’का आवधिक रचनाहरूको अवलोकनबाट स्तम्भकार झमक घिमिरेलाई स्वतन्त्र, तटस्थ, जनतावादी, राष्ट्रवादी प्रबुद्ध लेखकका रूपमा लिन सकिन्छ । जनचेतना तथा सामाजिक उद्बोधन उनका लेखहरूको मूल उद्देश्य रहेको छ । समाजसुधार र सांस्कृतिक परिष्कारले प्रेरित उनको कलम राजनैतिक अस्थिरता, संक्रमणले निम्त्याउन सक्ने आन्तरिक तनाब र विश्रृङ्खलता तथा राष्ट्र–विखण्डनकारी सम्भावित दुर्घटनाप्रति सतर्क र सचेत पाइन्छ ।
वैशाखको चौथो साताको ‘मातृभूमिको प्रेम’ शीर्षकीय आलेखमा लाहुरे समुदायको राष्ट्रप्रतिको योगदानको कदर गर्दै उनीहरूको साहित्यप्रेम व्यक्त भएको छ र जेठमहिनाका सबैजसो लेखहरू जनसरोकारका र सरल विषयसम्बद्ध छन् । ‘रसिलो गणतन्त्र’ ‘स्वच्छ वातावरण स्वस्थ जीवन’ ‘पुस्तक मेला’ आदिले जति जनतासँग सरोकार राख्छन् त्योभन्दा बढी ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि’को विषयले जनविरोधी सरकारी कदमको आलोचनासँग जनताको साझा आवाज प्रस्तुत गरेको देखिन्छ ।
असारका रचनाहरूमा छिटो न्याय नदिने दीर्घसूत्री अदालती प्रक्रियाको आलोचना दशकौं वर्षपछि मुद्धा छिनिएकी एउटी बूढी आमैको सन्दर्भमा प्रामाणिक तवरले उठाइएको छ । बन्द हड्तालको संस्कार बन्द गर्ने आह्वान तथा मिलेर श्रम गर्ने मजदुरहरूको प्रवृत्तिबाट राजनैतिक सामाजिक क्षेत्रका कार्यकर्ताहरूले सन्देश लिनुपर्ने कुरा असार र साउनका रचनाहरूले उठाएका छन् ।
भदौमा प्रकाशित ‘नयाँ नेपालमा साहित्य’ ले ‘साहित्य, कला र संस्कृतिमार्फत् जीवनै राष्ट्रलाई समर्पण गर्ने स्रष्टाहरूलाई राज्यले विशेष व्यवस्था गर्नुपर्ने कुरा जोडदार ढङ्गले उठाएको छ । साहित्यसम्बद्ध कात्र्तिकको चौथो साताको ‘यात्राभित्रको पात्र’ ले पुनर्जीवन पाएका साहित्यकार जगदीश घिमिरेको बहुचर्चित कृति ‘अन्र्तमनको यात्रा’ को समीक्षात्मक टिप्पणी सटिक ढङ्गले गरेको छ । पुस तेस्रो साताको ‘देवकोटाप्रति शब्दश्रद्धाञ्जली’ आलेख कलमजीवीहरूको जीवनकै सुरक्षा, संरक्षण र सम्मानको प्रसङ्गसँगै जीवनभरि उपेक्षित स्रष्टाहरूलाई मृत्युपश्चात् गोहीका आँसु र फूलहरूको वर्षाले साँचो सम्मान गरेको नमानिने तर्क गर्दै देवकोटाजस्ता महान् स्रष्टाको घर आँगनलगायतको लथालिङ्ग अवस्थाप्रति दुःखेसो व्यक्त गरिएको छ ।
नारीको अस्तित्व र मूल्यको चर्चा ८ मार्चको सन्दभृमा उठाइएको छ । ‘पशुपतिमा नेपाली हिस्सा’ नेपाली पुजारी नियुक्तिको प्रसङ्ग तथा ‘प्रधानमन्त्रीका अभिव्यक्ति’ तत्कालीन प्र.म. प्रचण्डका हावादारी भाषणहरूप्रतिको प्रतिवादसँग सम्बद्ध पुसभरका रचनाहरूको मूल उद्देश्य पनि जनताको जागरण नै देखिन्छ ।

मूल्याङ्कन
समग्रमा घिमिरेका मुक्त विचारहरू मौलिक भएर पनि पाण्डित्यको प्रक्षेपणमा किमार्थ केन्द्रित छैनन् । स्वतन्त्र छन् तर जनताबाट टाढा छैनन्, मौलिक छन् तर सबैले सोचे, सम्झे र भोगेकै कुरा छन् । सरल छन् तर अप्ठ्यारा समस्याहरूको समाधानतर्फ प्रेरित छन् । सबैखाले विकृतिहरूको विरोध उनको लेखकीय धर्म देखिन्छ । जातिगत, भाषिक, लैङ्गिक, धार्मिक, सांस्कृतिक, समग्रखाले विभेदकारी सामाजिक प्रवृत्तिहरूको विरोध गर्ने उनको आग्रह समतामूलक, उन्नत तथा मेलमिलापपूर्ण नयाँ नेपालको निर्माणमा सबैको ध्यन पुगोस् भन्नेतर्फ केन्द्रित देखिन्छ । ‘आफ्नै परिवेश’ एउटा सानो बाटो मात्र हो, जुन बाटोबाट झमक घिमिरेका जनमुखी दृष्टिकोणहरू जनसमक्ष सम्प्रेषित भएका छन् ।
एकीकृत रूपमा यी आलेखहरूको सङ्ग्रह प्रकाशन हुनु अझ राम्रो हुने छ । कलासम्बद्ध उनका विचारहरू काव्यिक कृतिहरूका माध्यमबाट प्रकट भइरहेकै छन् । औपचारिक अध्ययनको विषयगत विशिष्टता नदेखिए पनि ज्ञानविज्ञानको आधारशिला जीवनभोगाइ र सामाजिक चेतनाको पुञ्ज अन्तर्हृदयको झङ्कार पनि हो । हातले कलम समाएर फुकीफुकी अघि बढ्नेहरूलाई घिमिरेको कलम जीवनभरिको कि त प्रेरणा हो कि त मीठो व्यङ्ग्य । आस्थाको यात्रामा आफ्नै परिवेशको निरन्तरताको हार्दिक कामनासँगै अक्षरको निर्विकल्प हतियार बोकेको घिमिरेभित्रको साहसी स्रष्टालाई सलाम अभिवादन भन्दै उक्त स्तम्भमा प्रकाशित २०६५ सालभरका साहित्यसम्बद्ध भाद्र १७ र पौष १८ का दुई थान क्रमशः ‘नयाँ नेपालमा साहित्य’ र ‘देवकोटाप्रति शब्द श्रद्धाञ्जली’ शीर्षिकीय आलेखलाई स्तम्भकार श्री घिमिरेको अग्रज साहित्यकारहरूप्रतिको सादर स्मृतिसम्मानका रूपमा लिन आग्रह गर्दै बिदा हुन्छु ।

[email protected]

bhim-khatiwada

 

 

 

 

 

 

 

 

 

 

 

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved