विद्यालयमा गजल –२

  • बैशाख १०, २०७८
  • प्रा.डा. भिम खतिवडा
alt

गजल किन हिरो भइरहेछ ?
आजभोलि नेपाली साहित्यको हिरो विधा नै गजल भएको छ । सबैजसो किशोर र युवावर्ग गजलमा नै आकर्षित भएका पाइन्छन् । गजल काव्यिक विधा नै हो । अतः काव्यका कविता, गीत, मुक्तक, हाइकुसँग यसको विधागत साइनो अवश्य छ तर यी कुनै पनि विधा बिगारेर, तन्काएर, छोट्याएर केरमेट गरेर वा जबर्जस्त ढङ्गले गजल बनाउन सकिन्न । यसर्थ गजल अरू प्रचलित विधाहरूबाट भिन्न विशिष्ट विधा हो ।

संक्षेपमा हेरौं कसरी भिन्न छ, कसरी विशिष्ट छ त गजल , भावमय हुन्छ, तर कविता होइन गजल
कविता र गजल दुबै काव्यविधाका सशक्त सन्तान हुन् । यी दुबैका बीच भावमयताको काव्यिक साइनो छ । गजल र कविता दुबै कलापूर्ण सिर्जना हुन् । अभिव्यक्तिको कोमलता, भावात्मकता, प्रस्तुतिमा प्रभावोत्पादकता, बिम्ब र प्रतीकको कलापूर्ण संयोजन, हार्दिकता, आलङ्कारिकता, श्रुतिमिष्ठता तथा सुष्ठु भाषिक प्रयोग गजल र कविता दुबै विधाका समलक्षण हुन् ।

यति हुँदाहुँदै पनि यी दुबैमा पूर्वोक्त समताका अतिरिक्त पर्याप्त विषमताहरू पाइन्छन्, जसले दुबैलाई भिन्न परिचय प्रदान गरेको देखिन्छ । मूलतः यस्ता भिन्नताको आधारसङ्केतकहरूमा आङ्गिक उपकरणहरू, बहर, शीर्षक, एकाइ, आयाम, प्रभाव तथा सम्प्रेष्यता आदि पर्दछन् । रदिफ र काफिया गजलका विशिष्ट प्राविधिक तत्व हुन् भने कवितामा अनुप्रासीयता सामान्य प्रयोगगत सन्दर्भ मात्र हो । मिसरा, मतला, मकता, तखल्लुस आदि गजलका तत्वगत आङ्गिक उपकरणहरू कवितामा प्रयोग नहुने कुरा हुन् । गजलको निम्ति लय पक्ष अपरिहार्य बन्दछ । बहर, छन्द, लोकभाका तथा मौलिक लयमध्ये कुनै एउटाको प्रयोगविना गजलको संरचना तयार हुन सक्दैन भने कविताका लागि पद्य तथा गद्य दुबै शैलीको प्रस्तुति स्वीकार्य छ ।

यद्यपि गद्य कवितामा पनि अन्तःसाङ्गीतिकता रहेकै हुन्छ तथापि हाम्रो सन्दर्भ प्रस्तुतिको श्रुतिजन्य लयात्मकतासँग रहेकोले गजलीय लयले यसलाई कविताबाट विशेष र भिन्न बनाएको हुन्छ । यसैगरी शीर्षकीकरण गजलमा ऐच्छिक बनेको छ भने शीर्षकविनाको कविता लेखिन्न र म शीर्षकविना पनि कविता लेख्छु भन्ने कुनै स्रष्टाको धृष्टताले त झन् कवितामा नयाँ आयामको सस्तो विमर्श सुरु हुने छ । यस्तै गजलको कुनै एकीभूत कथ्य निश्चित हुँदैन तर कविताले शीर्षकमा आधारित भई सोही केन्द्रीयतामा कथ्यको परिक्रमा गर्नुपर्दछ ।

गजल प्रत्येक सेरमा विशिष्ट भावहरू पस्कन्छ भने कविता समग्रतामा सम्प्रेष्य विधा हो । अर्को महत्वपूर्ण कुरा के भने गजलका हरेक सेर आफैंमा पूर्ण हुन्छन् भने कविताका श्लोक वा पङ्क्ति–गुच्छाहरू सिङ्गो रचनाका अवयव मात्र बनेका हुन्छन् । यसरी उस्तै भावनामूल विधा भएर पनि उपकरणगत, शैलीगत, आयामगत, विषयगत आदि दृष्टिले कविताबाट गजलको भिन्नता र विशिष्टता स्पष्ट हुन्छ कि कविता गजल होइन र हुँदैन ।

गाइन्छ, तर गीत होइन गजल
वाचन वा पाठ गरेर पनि गजलको स्वाद लिइन्छ, तर गीतजस्तै मनोहारी स्वरमा गाइएका गजल शक्तिशाली हुन्छन् । त्यस अर्थमा गजल र गीत लय र प्रस्तुति समान देखिन्छन् । गाइने विधा भएकाले दुबैमा रहने भावना र हाद्र्रताको पक्षले उस्तै लाग्नु स्वाभाविक पनि हो । अझ लयको लहरी र अनुप्रासको शब्दमोहनीले दुबै एकै लाग्छन् गायन सुन्दाका बखत । यति भएर पनि न गजल नै गीत हो र न गीत नै गजल हो । यी दुबै आ–आफ्नै विशेषताहरूले विशिष्ट र भिन्न विधाका रूपमा स्थापित भएका हुन् । गजललाई गीतबाट विशेष बनाउने तत्वहरूको विमर्श आवश्यक छ, जसलाई उपकरणगत, कथ्यगत, आयामगत, शैलीगत, संरचनागत आधारहरूमा विशिष्टीकृत रूपमा बुझ्न सकिन्छ ।

मिसरा, काफिया, रदिफ, मकता, मतला, तखल्लुस, सेर, बहरजस्ता उपकरण गजलमा प्रयुक्त हुन्छन् भने गीतमा गेडी र अन्तरा प्रयोगमा आउँछन् । यसरी संरचनाकै तहबाट गीतभन्दा गजल बढी सुदृढ रहेको देखिन्छ । यस्तै कुनै एक कथ्यमा केन्द्रित नहुनु गजलको पहिचान हो भने गीत निश्चित विषयमा केन्द्रित हुन्छ । गजलका प्रत्येक सेरले पाठक, श्रोतामा भिन्न भिन्न प्रभाव पार्न सक्छ तर गीतका अन्तरा त अवयव वा सहकारी मात्र बनेका हुन्छन् सिङ्गो यौटा गीतका निम्ति । गजलको मतला कथ्य केन्द्रित नहुने हुनाले यसको पुनरावृत्ति हुन्न तर गीतको बोल चाहिँ कथ्यकेन्द्री हुने हुनाले अन्तरै पिच्छे यो दोहोरिन्छ ।

गीतमा लयलालित्य प्रमुख हुन्छ भने गजलमा चाहिँ लयसँगै सूक्तिमय भावलालित्य प्रमुख हुन्छ । गीतको मर्म एकीभूत गीतितत्वमा रहेको हुन्छ तर गजलको मर्म भिन्न भिन्न वस्तुभावयुक्त बिम्बात्मक प्रवाहमयतामा रहेको हुन्छ । गीत गाउनकै लागि लेखिने विधा हो तर गजल स्वाधीन विधा भएकाले वाचन गरेर, गुन्गुनाएर र गाएर पनि प्रस्तुत गरिने विधा हो । यसरी गीतभन्दा गजल विशेष भएको स्पष्ट हुन्छ ।
भुतुक्क पार्छ, तर मुक्तक होइन गजल

सुन्दैमा हाम्रो मन पगाल्छ, भुतुक्क पार्छ भावनाका वाणले मुक्तकले जसरी नै गजलले पनि । व्यङ्यात्मकता र आक्रामक तात्क्षणिक संवेदनागत तीव्रताका दृष्टिले गजल र मुक्तक समान देखिन्छन् । संक्षिप्त आयाम, गागरमा सागरविधि, बिम्बप्रयोग तथा भावचेतनाको तिखो प्रवाह आदिका कारण यी दुबै विधाबीच शिल्प र प्रस्तुतिमा अनौठो एकता अनुभूत हुन्छ । सूक्तिप्राणता, तीव्रभावता र समासता अर्थात् विश्लेषण नगर्ने, वाणजन्य प्रहारमा केन्द्रित हुने, पाठक वा श्रोतामा आशुप्रभाव र संवेदनाको झिल्को पार्ने यी दुबैको समान लक्षण भए पनि यी भिन्न र विशिष्ट विधा हुन् । यी दुबैमा अआफ्ना लक्षणगत वा भनौं संरचनागत चिनारी जो छन् तिनले नै दुबैका बीचको विभेद स्पष्ट पार्दछन् ।

शीर्षकविहीनता वा ऐच्छिक शीर्षात्मकतामा अनेक सेरका एकाइहरूमा भिन्न भिन्न भावसम्प्रेष्यता गजलको पहिचान हो भने मुक्तक चाहिँ शीर्षकयुक्त अनुच्छेद मात्रमा रचिन्छ । काफियाविना गजल बन्दैन तर मुक्तकमा भावतीव्रताबाहेक विशेष प्राविधिक शब्लावलीहरूको संरचनागत उपस्थिति हुँदैन, तिनको प्रयोग छैन त्यहाँ । मिसरा, मतला, मकता आदिको प्रयोग गजलको शरीर निर्माणमा अपरिहार्य हुन्छ तर मुक्तकमा अनुप्रासबाहेक अन्य कुरा अनिवार्य छैनन् ।

यस्तै लय पक्ष पनि गजलमा जस्तो मुक्तकमा अत्यज्य मानिन्न । गजल लयबद्ध दुई दुई हारीका मुक्तकहरूको संग्रहजस्तो हुन्छ भने मुक्तक चाहिँ ऐच्छिक पङ्क्तिप्रयोग हुने गद्य पद्य दुबै शैलीमा लेखिए पनि विशेष गरी गद्यमा रचना गरिने विधा हो । मूलतः गजल गेय हुने हुनाले लयात्मकताको मूलाधारमा यो प्रभावी बन्छ भने पाठ्य विधा मुक्तक वाचन शैलीमा भर पर्छ । गजल मानवीय प्रेमका बहुआयाममा केन्द्रित, कलात्मक, साङ्गीतिकतायुक्त विधा हो भने मुक्तक चाहिँ परिवेशकेन्द्रित, व्यङ्ग्यपूर्ण काव्यिक विधा हो । यसरी प्रभाव पक्षको तीव्रताले उस्तै लाग्ने यी दुबै विधाको विशिष्टता छर्लङ्ग हुन्छ ।

गजल र अन्य विधा
यसै गरी हाइकु, केस्रा, रुवाइजस्ता सबैजसो काव्यिक विधाहरूसँग गजलको कुनै न कुनै रूपले केही समानता देखिन सक्छ, तर यी सबैलाई अआफ्नै शारीरिक स्वरूपले भिन्न बनाएको छ नै । खास गरी कविता, गीत र मुक्तकसँग गजलको समरूपताले कतिपय नवसर्जकहरूमा समेत अन्यौल देखिनाले पूर्वोक्त विमर्शमा सो स्पष्ट गर्ने प्रयत्न गरिएको हो । यसको नौनीरूप भन्ने हो भने गजल कविता, गीत तथा मुक्तकको यौटा सुन्दर कलापूर्ण संयोजनायुक्त विधा हो जहाँ कविताको भावगंभीरता, गीतको लयात्मकता र मुक्तकको तीव्र प्रभावोत्पादकताको मीठो सन्तुलन रहेको हुन्छ । गजल कविता, गीत र मुक्तक तीनवटै विधाको स्वाद दिने सशक्त विधा बनेको छ ।

लेखौं है अब हामी पनि गजल

साहित्यले समाजमा जागरण ल्याउँछ । सचेत र जागरुक समाज मात्र सभ्य, शान्त र समृद्ध बन्नसक्छ । सिर्जनाले मनहरू जोड्ने सामथ्र्य राख्छ । त्यसैले गजलजस्तो सजिलो विधाबाट साहित्यमा प्रवेश गर्न सजिलो छ । नबुझीकन कुनै पनि विधामा हात हाल्नु भनेको पौरन नजानीकन पोखरीमा पस्नु र डुब्नु भनेजस्तै खत्रा काम हो, त्यसैले सामान्य संरचना बुझौं र गजलतिर लागौं । कतिपय दाजुहरूले गजललाई बिगार्ने, खिसिट्युरी गर्ने, झारपात भन्ने गल्ती गरिरहनुभएको हामीले सुनेका छौं ।

हो, त्यो आफूले नजानेका विधामाथि अन्याय गरेर हेपायती गरेको मात्र हो । अनि अरू कसैले चाहिँ धेर जान्ने भएर गजललाई नानावली नाम दिएको पनि देखिन्छ । जे होस्, हाम्रामा जसरी भए पनि गजल चर्चामा नै छ । यो राम्रै कुरा पनि हो । धेरै भएपछि हल्लाखल्ला भइरहन्छ । राम्रा राम्रा गजल लेख्नेहरू लेखिरहेकै छन् । साधना हो नि साहित्य पनि । ल आउनुहोस्, किशोर साथीहरू ! अब हामी पनि भाँती मिलाएर गज्जपका गजल लेख्न थालौं ।
bhim-khatiwada

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 लेखक भिम खतिवडा

[email protected]

 

 

 

 

 

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved