धरान /गौरबको आयोजना २ सय २० केभी कोशी कोरिडोर प्रसारण लाईन आयोजनाले धरानमा बनाउने सवस्टेशनको प्रक्रिया अघि बढेको छ ।नेपाल विद्युत प्राधिकरणले धरान १७ मा सबस्टेशनका लागि जग्गा खरिद गरि प्रारम्भीक वातावरणीय परिक्षणका लागि सम्झौताको तयारी गरेको छ । गत कार्तिक २० गते मन्त्रीपरिषदले धरानमा २२०÷३३ केभी क्षमताको विद्युत सब स्टेसन बनाउने निर्णय गरे पछि सवस्टेशन बनाउने योजना अघि बढेको हो ।
योजनाले धरान १७ सर्दु खोला पारि घोपा ४ घ मा पर्ने गरि २ विगाहा १४ कट्ठा जग्गा लिइसकेको छ । कोशी कोरिडोर प्रसारण लाईन विस्तार गरिएकै क्षेत्रमा पर्ने गरि सबस्टेशन बनाउन जग्गा खरिद गरिएको हो । सबस्टेशन प्रोजेक्ट मेनेजर रघवेन्द्र झाका अनुसार वैशाख महिना भित्र आइईका लागि सम्झौता गर्ने भएको छ । प्राधिरकणकै वातावरणीय मुल्यांकन शाखाले सबस्टेशनका लागि आइई गर्ने भएको छ । झाले भने, वैशाख महिना भित्र सम्झौता सकेर आइइ गर्न ६÷७ महिना लाग्छ, त्यस पछि सबस्टेशन बनाउन टेण्डर आव्हान गरिन्छ ।’सबस्टेसनका लागि प्राधिकरणले ९ करोड रुपैयाको लगानीमा जग्गा खरिद गरेको हो । नेपाल सरकारले अन्य कार्यका लागि ५० लाख रुपैया बजेट विनियोजन गरिदिएको थियो । शुरुवातमा परियोजनाले १ सय ३३ केभीको सबस्टेशन धरानमा बनाउने जनाएको थियो । तर २ सय २० केभी प्रसारणलाईनबाट सिधै ३३ केभीको सबस्टेशन बनाउँदा धरान लगायत आसपासका क्षेत्रलाई सहज हुने भएकाले २२०÷३३ केभी सबस्टेशन बनाउन लागेको हो । धरानमा सबस्टेशन बनाउन करिब १ अर्ब ७० करोड रुपैयाँको अनुमानित बजेट रहेको छ । धरानमा विद्युत् भोल्टेजको समस्या सुधार गर्ने लक्ष्यसहित उक्त क्षमताको सबस्टेशन स्थापना गर्न लागिएको हो ।
कोशी कोरिडोर प्रसारण लाइन विस्तारले धरानको पर्यटकीय गन्तव्यहरू प्रभावित हुने भन्दै धरान–२० का स्थानीयले विरोध गर्दै आएका थिए । विवाद अन्त्यका लागि मुख्यमन्त्री शेरधन राई र नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले धरानमा सबस्टेशन बनाउने प्रस्ताव ल्याएपछि विवाद थामिएको थियो । तत्कालिन धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले आयोजना, प्राधिकरण, ऊर्जा मन्त्रालयमार्फत धरानमा सबस्टेशन बनाउन प्रस्ताव गरेकी थिईन् ।
कोशीकोरिडोरबाट आएको लाईनलाई सिधै सबस्टेशनमा जोडिने भएकाले धरान लगायत बराहक्षेत्रका उपभोक्ताहरुलाई फाइदा पुग्ने झाले बताए । उनले भने, ‘लोड सबै त्यही हुन्छ, १ सय ३२ को अर्को लाईन बनाउनु परेन्, २२० बाट ट्यापिङ गरेर ३३ केभीको बनाउन इनरुवाबाट ल्याउनुपर्ने झण्झटबाट मुक्त हुन्छ ।’ सिधै मुख्य प्रसारणलाईनबाट लोड लिदाँ पछि आवश्यक परेको खण्डमा लोड बढाउन पनि सकिने उनले बताए । आवश्यक्ता अनुसार १ सय मेगावाट सम्म लोड गर्न सकिने उनको भनाई छ ।
कोशी कोरिडोर प्रसारण लाइन सम्पन्न हुन अब ३ वटा मात्रै टावर बन्न बाँकी छ । सवस्टेशनहरु पनि धमाधम बन्दै गएका छन् । उनका अनुसार संखुवासभाको तुम्लिङटारको बानेश्वरमा सबस्टेसन बनिसकेको छ भने बसन्तपुरमा सवस्टेशनको तयारीको छ ।
धरानमा विद्युत भार नपुगेर बेला बेलामा विद्युत अवरुद्ध हुने समस्याबाट यो सब स्टेसन निर्माण भएपछि समाधान हुने धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी बताउँछिन् । ‘सबस्टेशन बनेपछि धरानमा चौबीसै घण्टा बिजुली उपलब्ध हुनेछ भने भोल्टेज समस्या पनि हुनेछैन,’ उनले भनिन्, ‘जसले गर्दा धरानमा निर्माण हुन लागेको औद्योगिक ग्राममा उद्योग, कलकारखानालाई सहज हुनेछ भने नयाँ लगानीकर्ता पनि धरानमा आकर्षित हुनेछ ।’ यस्तै बिजुलीमा आधारित उद्योग, कलकारखाना धरानमा आउने र रोजगारी सृजना अपेक्षा उनले गरिन् ।