धरान/ धरान नगर क्षेत्रमा पानी आपूर्ति हुने मुख्य मुहानहरू सर्दू, खर्दू र तामाखाम जलाधार क्षेत्रमा वनभोज खानेहरूले फोहोर गर्ने गरेका छन् । ती मुहानको सरसफाइमा भने सरोकारवालाहरूले चासो दिएको पाइँदैन ।
जनसरोकार मञ्चले नेपाल खानेपानी संस्थानको शाखा र अहिले खानेपानी बोर्डलाई पटक–पटक ध्यानाकर्षण गराए पनि सम्बन्धित पक्षले यसतर्फध्यान दिन सकेको छैन । मेयर तिलक राईले भने यो विषयमा उपमहानगरपालिका गम्भीर रहेको बताए । ‘जलाधार क्षेत्रमा फोहोर गर्ने हामी धरान नगरवासी नै हौँ’, उनले भने, ‘मुहान क्षेत्र सफा राख्ने सबैको जिम्मेवारी हो ।’ मुहान क्षेत्रमा फोहोर नफाल्न उनले नगरवासीलाई अनुरोध गरे । ‘मुहान सफा गरे सबैको जीवन स्वस्थकर हुन्छ ।’ मेयर राईले भने ।
उनले मुहानलाई स्वच्छ र सफा राख्न उपमहानगरपालिकाले सचेतनामूलक सूचना प्रवाह चाँडै गर्ने बताए । उनले भने, ‘यस क्षेत्रमा धेरै अघिदेखि कुरा उठेको हो, यस विषयमा नगरपालिका गम्भीर छ ।’
धरान–६ को पानबारी क्षेत्रमा खानेपानी आपूर्ति हुने पानीको मुहान मोरङको माङफाङ गाउँ हो । सेहरा खोलाबाट आएको पानी पानबारीवासीले प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय यो मुहानमा पनि धरान तथा वरपरका सर्वसाधारण वनभोज खान पुग्ने गरेका छन् । त्यहाँ जानेले जथाभावी दिसापिसाब गर्ने र प्लाष्टिकजन्य फोहोर फाल्ने गरेको पाइएको छ । पानबारीको खानेपानी दूषित हुन थालेपछि स्थानीय सयपत्री बोइज युनियन क्लबको सक्रियतामा खानेपानीको मुहानमा सफाइ गरिएको छ ।
धरान–६ का बासिन्दाले उपभोग गर्ने खानेपानीको मुहान सेहरा खोलामा अत्यधिक फोहोर भएको कारण सफाइ अभियान शुरु गरिएको क्लबका अध्यक्ष एसपजङ्ग रुम्दालीले बताए । ‘पानीको अभाव भएपछि खोलामै गएर नुहाउने र वनभोज खानेहरूले जथाभावी फोहोर फाल्ने गरेका छन्’, उनले भने, ‘जथाभावी फालेको फोहोर बगाएर गाउँमै आउने भएकाले दूषित पानी खान नपरोस् भनेर हामीले सरसफाइ गरेका हौँ ।’
उनले अघिल्लो शनिबार शुरु भएको सरसफाइ अभियान मुहान पूर्णरूपमा स्वच्छ नभएसम्म जारी रहने बताए । क्लबले पहिलोे शनिबार सेहरा खोलाको झोलुङ्गे पुलदेखि खनाले कुलोको मुहानसम्म सफाइ गरेको थियो । त्यस क्रममा पेय पदार्थको प्लास्टिकका बोतल र बियरका बोतल गरी २० बोराभन्दा बढी सङ्कलन गरिएको छ । गत शनिबार पनि क्लबको संयोजनमा खानेपानी समिति तथा वडा कार्यालयको संयुक्त अभियानमा सेहरा खोला सफाइ गर्दा १० बोराभन्दा बढी फोहोर सङ्कलन भएको छ ।
धरान–६ का वडाध्यक्ष भुवनसिंह बस्नेतले खानेपानीको मुहान नै फोहोर भएपछि वडा कार्यालयको ध्यानाकर्षण भएको बताए । उनले सरोकारवालासँग सहकार्य गरेर सरसफाइ अभियानलाई तीव्रता दिइएको बताए । उनले भने, ‘खानेपानीको मुहान वरिपरि वनभोज स्थल हुँदा धरान वरपरका मानिसले पिकनिक खाएर बढी फोहोर हुन थालेपछि सरसफाइ गर्न थालेका हौँ ।’ उनले यो मुहानको पानी पानबारी, सतिसाले, खैरेनी, देउराली, ठिङ्गाबारीलगायतका क्षेत्रका बासिन्दाले प्रयोग गर्ने गरेको बताए । उनले यस क्षेत्रमा फोहोर नगर्न सचेतनात्मक होर्डिङ बोर्ड राख्ने र निरन्तर सरसफाइ गर्ने जनाए ।