धरान÷ समयले धेरै फड्को मा-यो, राजनीतिक परिवर्तन धेरै भए, देशमा संघीयता लागू भयो, स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाइयो तर नागरिकको जीवनमा भने कहिल्यै परिवर्तन आएन ।
यस्तै नियति भोगेका छन् धरान ६ पानबारीका बासिन्दाले ।
साविक पानबारी गाउँ विकाश समिती २०७० सालमा धरान उपमहानगरपालिकामा गाभिएर ६ नंं वडा बन्यो । तर उपमहानरपालिकाको वडाको समस्या भने ज्यूँका त्यूँ रहेको छ । समय परिस्थितिले कोल्टे फेरे पनि त्यहाका सर्वसाधारणका बर्षौदेखिको खानेपानी समस्या कहिल्यै हटेन ।
पानबारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उचित व्यवस्थापन गर्न नसक्दा पानबारीबासीले बर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छन् ।
खानेपानीको समस्या घरधुरी बढेर भने होइन, समितिले व्यवस्थापन गर्न नसक्दा समस्या चुलिएको सर्वसाधारण बताउँछन् । स्थानीय समेत रहेका खानेपानी प्राविधिक भीम खनाल शेराखोलाको मुहान सुक्दै जानु र अन्य स्रोत पहिचान गरी समस्या समाधानमा नलाग्नु मुख्य कारक बनेको बताउछन् । उनी भन्छन्, ‘समस्या समाधानमा कोही पनि गम्भीर नबन्दा बर्षेनी सुख्खा मौसममा खानेपानीको अभाव हुने गरको छ ।’
२ हजार घर परिवार रहेको वडामा खानेपानी समस्याका लागि दीर्घकालीन समाधानमा स्थानीय तहले समेत केही गर्न नसकेको जनप्रतिनिधिहरु नै स्वीकार्छन् । धरान ६ का वडाध्यक्ष भुवनसिंह बस्नेतले साविकको अवश्था र अहिलेको अवश्थामा केही फरक नभएको बरु खानेपानीको समस्या दिनप्रतिदिन चुलिदै गएको बताउँछन् । उनी भन्छन्, ‘पानबारी बासीका लागि खानेपानीको समस्या दिनप्रतिदिन चुलिदै गएको छ, यसको समाधान गर्न सकिएको छैन ।’
पानबारीमा करिब २ करोड लिटरको फिल्टर ट्यांकी रहेको छ । बर्षादका समयमा पाइप बगाउने समस्याले टयांकीमा पर्याप्त पानी हुदैन भने हिउँदमा पानीको स्रोत सुकेर जम्मा हुन सक्दैन । दैनिक अढाइ करोड पानीको आवश्यकता पर्ने पानबारीमा वैकल्पिक स्रोत नहुदा बाह्रैमास पानीको समस्या हुने गरेको छ ।
धरानमा सञ्चालन भएको एडिवी परियोजनाको भूमिगत पानी पनि पर्याप्त नहुनु र वैकल्पिक स्रोत पहिचान गर्न नसक्नु धरानको समस्याको मुख्य जड मानिन्छ । अब स्थानीय सरकारले वैकल्पिक स्रोतको पहिचान गरी खानेपानीको सहज वातावरण मिलाई उपमहानगरमा बसोबास गरेको आभाष कहिल्यै गर्न नपाएकोमा पानबारीवासीको गुनासो यथावत नै रहेको छ । स्थानीयहरूले खानेपानीको समाधानमा सम्बन्धित पक्ष चाडो लाग्न माग समेत गरेका छन् ।