मोरङ/ विराटनगर महानगरपालिका–१८ का २३ वर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसँग १० लाख रुपैयाँ फिरौती माग गर्ने तीनजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विराटनगर–२० का २० वर्षीय रोहित मण्डल, विराटनगर–१६ का अजय यादव र विराटनगर–६ की २८ वर्षीया सन्ध्या शर्मा रहेको प्रहरीले बताएको छ ।
उनीहरूले शनिबार दिउँसोदेखि कामतलाई बन्धक बनाएको र परिवारसँग फिरौती रकम माग गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । सो टोलीले कामतलाई सूचना पाएको दुई घण्टाभित्रै विराटनगर–६ बाट सकुशल उद्धार गरेको प्रहरीको भनाइ छ ।
मानिस बन्धक बनाएको आरोपमा पक्राउ परेका उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।