धरान/ पछिल्लो समय धरानमा खैरो हेरोइनका प्रयोगकर्ता बढ्न थालेका छन् । सामान्य रूपमा प्रयोग गरिने लागूऔषधको तुलनामा खैरो हेरोइनको प्रयोग अत्यधिक हुन थालेको छ ।
केही समययता यहाँ पनि खैरो हेरोइनको प्रयोगमा वृद्धि भएको पाइएको छ । धरान प्रहरीले दैनिकजसो खैरो हेरोइनसहित प्रयोगकर्ता पक्राउ गर्नुले यसलाई पुष्टि गर्छ । अहिले खैरो हेरोइनको लहर नै चल्न थालेको छ । धरान प्रहरीले मङ्गलबार एकै दिन पाँचजनालाई खैरो हेरोइन कारोबारमा पक्राउ गरेको छ । उनीहरूको साथबाट ८ दशमलव ४ मिलीग्राम खैरो हेरोइन बरामद गरेको छ । एकै दिन पक्राउ परेका आठजना लागूऔषध कारोबारीमध्ये तीनजना सामान्य प्रकारका लागूऔषधसहित पक्राउ परेका छन् ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा हालसम्म लागूऔषधका कुल २८ मुद्दामा खैरो हेरोइनका १५ वटा मुद्दा छन् । लागूऔषध मुद्दामा पक्राउ परेका ४० मध्ये २५ जना खैरो हेराइनकै कारोबारी रहेको प्रहरीको तथ्याङ्क छ । प्रयोगकर्ताले नयाँ–नयाँ लागूऔषध खोजी गर्न थालेकाले पनि पछिल्लो समय खैरो हेरोइनको कारोबार वृद्धि हुँदै गएको धरान इलाका प्रहरी कार्यालयका डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए । उनले भने, ‘खैरो हेरोइनले बढी ट्रिप दिने भएकाले पनि महङ्गो भए पनि प्रयोग बढेको हो ।’
पछिल्लो समय धरानमा खैरो हेरोइनका प्रयोगकर्ताहरू बढी देखिएको र प्रहरीले पनि नियन्त्रणमा सक्रियता देखाएकोले करोबारीहरू पक्राउ पर्न थालेको डीएसपी बस्नेत बताउँछन् । उनका अनुसार १८ वर्षदेखि ४० वर्षसम्मका युवा खैरो हेरोइनको कारोबारमा देखिएका छन् । भारतीय नाकाहरू खुल्ला भएकाले पनि कारोबारीमा सहजता थपिएको उनको भनाइ छ । ‘खुल्ला नाकाहरूबाट थोरै मात्रामा लुकाएर ल्याउन सजिलो हुन्छ’, उनले भने, ‘चेकजाँचको क्रममा पनि लुकाउन सजिलो भएकाले यसतर्पm आकर्षित बनेका हुन् ।’
धरान प्रहरीले सोमबार खैरो हेरोइन प्याकिङ गर्दै गरेको अवस्थामा धरान–३ का ३० वर्षीय विनय तामाङ, २५ वर्षीय उत्सव श्रेष्ठ र ३० वर्षीय उमेश श्रेष्ठलाई पक्राउ गरेको छ । बिक्रीका लागि प्लाष्टिकमा खैरो हेरोइन प्याकिङ गर्दै गरेको अवस्थामा उनीहरू विनयको कोठाबाट पक्राउ परेको डीएसपी बस्नेले जानकारी दिए ।
त्यस्तै, सोमबार नै धरान–७ बाट २६ वर्षीय ओमप्रकाश कार्की पनि खैरो हेरोइनसहित पक्राउ परेका छन् । उनलाई १ ग्राम ६ सय मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । सोमबार नै धरान–१५ को सयपत्री मार्गबाट ४० वर्षीय कृष्ण थापा मगर पनि १ ग्राम ८ सय मिलीग्राम खैरो हेरोइनसहित समातिएका छन् ।
प्रहरीले धरान–८ लाङ्घाली चोकबाट ४५ वर्षीय यज्ञबहादुर खड्का र २८ वर्षीय आकाश श्रेष्ठलाई पनि लागूऔषधसहित पक्राउ गरेको छ । खड्काको कोठाबाट डाइलक्स डीसी १०० एमएल २ बोतल, नाइट्रोजन ट्याब्लेट १६५ चक्की र स्मास्मो प्रोक्सिभन ७२ क्याप्सुल प्रहरीले बरामद गरेको छ भने आकाशबाट डाइलक्स डीसी २ बोतल बरामद गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।