धरान/ केही समययता महिलाहरू आत्मनिर्भर बन्न थालेका छन् ।
पुरुषबाट चलेको घरमा परिवारको आवश्यकता पूरा हुने गरे पनि धेरै महिला घरेलु हिंसाबाट पीडित बन्ने गरेका छन् । यस्तो अवस्थालाई अन्त्य गर्दै व्यावसायिक पशुपालनमार्फत् आत्मनिर्भर बन्ने उद्देश्यले लेटाङ नगरपालिकाका महिलाहरू समूह नै बनाएर बाख्रापालन गरिरहेका छन् । व्यवसायमा सफलता हात पार्न थालेपछि उनीहरू बजारको खोजी गर्दै धरानको कृषि उपज बजारमा आइपुगेका छन् ।
लेटाङ नगरपालिकाकी दिलमाया तामाङ स्थानीय महिलालाई समूह बनाएर आत्मनिर्भर बनाउन अग्रसर भइन् । २५ वर्षअघि अर्थात् २०५२ सालमा २५÷३० जनाको समूह बनाएर दैनिक ५–१० रूपैयाँ सङ्कलन गरेर उनीहरूले बाख्रा फर्म नै सञ्चालन गरे । त्यसैलाई व्यावसायिक बनाउँदै सहकारीको रूप दिए । महिलाहरूमात्र सहभागी सो सहकारीमा अहिले सदस्य सङ्ख्या १ सय २६ पुगेको तामाङले बताइन् ।
अहिले समूहमा रहेको हरेक महिलाले वार्षिक १–२ लाख रुपैयाँ कमाइ गर्ने तामाङ बताउँछिन् । ‘सहकारी खोलेपछि समूहमा रहेका महिलाहरूले अहिले वार्षिक २ लाखसम्म कमाउँछन्’, उनले भनिन्, ‘घर खर्च चलाउन कसैको बाटो हेर्नु पर्दैन ।’
उनीहरूको मेहनत देखेर अहिले पशुपंक्षी निर्देशनालयबाट ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ भने हाटबजार सञ्चालनका लागि नगरपालिकाले १० लाख रूपैयाँ सहयोग गरेको छ । ‘सहकारी खोलेपछि बजार सञ्चालन गर्न कठिनाइ हुँदो रहेछ’, तामाङको भनाइ छ, ‘त्यही भएर अहिले बजार कसरी सञ्चालन भइरहेको छ भन्ने विषय बुझ्न कृषि बजार आएका हौँ ।’
हाटबजार कसरी सञ्चालन गर्ने, पालिएका बाख्राहरूलाई कसरी राख्ने, व्यावसायिक बन्न के गर्नुपर्छलगायतका विषयमा बुझ्न आफूहरू धरान आएको उनले जनाइन् । ‘यहाँका व्यवस्थापक लक्ष्मण भट्टराईसँग भेटेर हामीले सम्पूर्ण कुरा बुझेका छौँ’, उनले भनिन्, ‘हामीले धेरै कुरा बुझ्यौं, बजार सञ्चालन गर्न अब केही सहज हुन्छ ।’
निम्न आय भएका महिलाहरूको जीवनस्तर उकास्न सकिन्छ भन्ने उद्देश्यले बाख्रापालन सहकारी सञ्चालन गरिएको सहकारीकी सचिव मृदुला गौतम बताउँछिन् । उनले कृषि बजारमा प्राप्त जानकारीका आधारमा काम गर्ने बताइन् । ‘बजार सञ्चालन गर्न कठिन रहेछ’, उनले भनिन्, ‘यहाँबाट हामीले धेरै कुरा सिक्यौँ, अब त्यहीअनुसार हामी अगाडि बढ्छौँ ।’
उनीहरूको सोचलाई धरानको कृषि उपज बजारले समेत प्रशंसा गरेको छ । बेलाबेलामा लेटाङ पुगेर व्यावसायिकताबारे प्रशिक्षण दिने गरेको कृषि बजारले महिलाहरू आफैँ उत्सुक भएर यहाँसम्म आउनु सकारात्मक भएको जनाएको छ । बजार व्यवस्थापक भट्टराईले बाख्रापालनमा भएको समस्या र आवश्यक पूर्वाधारबारे जानकारी दिइएको बताए । उनले भने, ‘कृषि बजारका तर्फबाट उहाँहरूलाई सहयोग गर्न हामी तयार छौँ ।’
अन्य क्षेत्रका महिलाले समेत यस्ता काम गर्न सके महिलाहरूले पुरुषको मुख ताक्नु नपर्ने र आत्मनिर्भर बन्न सहयोग पुग्नेमा दुई मत छैन । यसमा सरकारी सहयोग पुग्न सके महिलाका काममा अझ सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।