इटहरी/ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको एकलौटी हैकमका कारण कार्यकर्ताहरू अलमल्लमा परेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । पार्टीमा समाभति एक्लै हावी भइदिएका कारण सरकारले मनोमानी गर्न पाएको आरोप लगाउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक रहेको दोहो-याए ।
‘ओलीको कदमविरूद्ध एक ढिक्का भएर लागौँ भन्दा सभापति देउवा मान्नुभएको छैन’, नेता पौडेलले थपे, ‘बरू उल्टै निर्वाचनको तयारीमा जुट्न आग्रह गरेको सुन्दा म अचम्ममा परेको छु ।’
सभापति शेरबहादुर देउवाकै कारण अहिले प्रदेश सरकारहरूमा पनि अविश्वासको प्रस्ताव लैजान नसकिएको धारणा नेता पौडेलको छ । फरक प्रसङ्गमा उनले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफू र नेपाली काङ्ग्रेस विश्वस्त रहेको पनि औँल्याए ।
प्रेस युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काङ्ग्रेसका इटहरी सभापति हेमकर्ण पौडेल, तरूण दलका सुनसरी सभापति सिजन गुरूङ, २ नं क्षेत्रीय सदस्य तथा जिल्लाका सक्रिय सदस्यहरू पनि उपस्थित थिए ।