धरान÷ नगरका महिलाहरूको साझा सङ्गठन महिला सञ्जाल धरानको पाँचौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पदस्थापन आइतबार सम्पन्न भएको छ ।
महिलासँग सम्बन्धित धरान क्षेत्रमा रहेका ३५ वटा सङ्घ–संस्थाहरूको साझा सङ्गठनको रूपमा रहेको सञ्जालको गत असोज १६ गते सम्पन्न पाँचौँ अधिवेशनबाट पदाधिकारीहरू निर्वाचित भएका थिए । पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष सविता राईले नवनिर्वाचित अध्यक्ष चेतना श्रेङलाई पद हस्तान्तरण गरेकी थिइन् भने अन्यलाई अबिर र माला लगाएर शुभकामना दिइन् ।
२०६६ सालमा स्थापना भएको सञ्जाल आजको दिनसम्म आउन थुप्रै चुनौतीहरूको सामना गरेको सञ्जालकी पूर्वसचिव कोपिला भट्टराईले बताइन् । कार्यक्रमकोे अवसरमा अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चको अवसरमा सञ्जालले गत फागुन १८ गते गराएको उच्च माविस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेतालाई प्रमाणपत्र र पुरस्कार पनि वितरण गरिएको थियो ।
प्रतियोगितामा प्रथम भएकी स्वस्तिका धमलालाई ५ हजार, दोस्रो तृष्णा विकलाई ३ हजार, तृतीय पुष्पा कटुवाललाई २ हजार र सान्त्वना स्थान प्राप्त गर्ने मेनुका दर्जीलाई १ हजार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा सञ्जाललाई सहयोग गरेका डा राजेन्द्र शर्मा, सञ्जालकी संस्थापक गङ्गा बराल, महिला अधिकारकर्मी मिना पुलामी मगर र पूर्वअध्यक्ष शिला बज्राचार्यलाई सम्मान पनि गरिएको थियो ।