इलाम: अमला, लप्सी र मेल बिक्री नभएर गाउँभरि कुहिएर खेर गइरहेका छन् । न किन्न कोही पुग्छ, न त बिक्री र त्यसको सदुपयोग नै गर्न सकिन्छ ।
फलफूल र जडीबुटी बजारमा बिक्री नभएपछि यसबाट आम्दानी हुन्छ भन्ने आश पनि मरिसकेको थियो, तर अब गाउँका खेतबारीमा कुहिरहेका फलफूल र जडीबुटी खेर फाल्नुपर्ने छैन ।
इलाम सदरमुकामको अग्र्यानिक नमुना कलेक्सन कोसेली घरले अचार उद्योग सञ्चालन गरेको छ । गाउँघरमा सदुपयोग हुन नसकेका फलफूलबाट कोसेली घरले अचार बनाएर बिक्री गरिरहेको उद्योग सञ्चालक चुँडा रिजाल बताउँछन् ।
उद्योग नै सञ्चालन गरेर फलफूलबाट अचार बनाइन थालेपछि अब गाउँघरमा फलफूल खेर फाल्नु नपर्ने भएको हो ।
यहाँ विभिन्न जडीबुटी र फलफूलहरू बोझो, तुलसी, खनक्पा, चिङफीङ., सीलटिमुर, टिमुर, पाखनबेद, मेल, अमला, लप्सी, किबी, अकबरे खोर्सानी र कागतीजस्ता अग्र्यानिक उत्पादनबाट स्वादिलो अचार बनाउने गरिएको रिजालको भनाइ छ ।
उद्योगमा उनले चारजनालाई रोजगार पनि दिएका छन् । उद्योगले विभिन्न फलफूलसँगै अकबरे खोर्सानीको पनि अचार बनाउने गरेको छ । इलाम आउने पर्यटकले कोसेलीको रूपमा यहाँबाट अचार लैजाने गरेका छन् ।
कोसेली घरले उत्पादन गरेका अचार इलाम सदरमुकाममा मात्र होइन, जिल्लाका अन्य बजार र जिल्ला बाहिरसम्म पुग्ने गरेको रिजाल बताउँछन् । मुख्यगरी इलामका फिक्कल, हर्कटे, पशुपतिनगरलगायतका बजार र जिल्लाबाहिर झापा, धरान, काठमाडौँसम्मका बजारमा यहाँका अचार पुग्ने गरेका छन् ।
यहाँ उत्पादित अचार धेरैजसो इलाम आउने पर्यटकहरूले कोसेलीका रूपमा लैजाने हुँदा आन्तरिक बजारमै अचार खपत हुने गरेको छ ।
जिल्लामा घरेलु उद्योगका रूपमा अचार उद्योग धमाधमस्थापित भइरहेकाछन् । जिल्लामा १२ वटा अचार उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।