धरान । धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट सुरु भएको छ । धरानको वार्ड नं. २० मा रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका रोजगारदातालाई धरान उपमहानगरका मेयर, उपमेयर, वडाध्यक्ष र सामाजिक शाखाका प्रमुखसहितको टोलीले आज (विहीबार) आवश्यक पर्ने औजार सामाग्रीहरु हस्तान्तरण गरेर सुरु भएको हो ।
नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रोजगार कार्यक्रम रहेको बताउँदै यो वर्ष धरान उपमहानगरपालिकाका १ सय ५७ जनाका लागि एक सय दिनको रोजगारी दिने भनेर बजेट प्राप्त भएको सामान्य महाशाखाका बरिष्ठ अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिए ।
बरिष्ठ अधिकृत खतिवडाका अनुसार एक जना रोजगारदाता बराबर ५ सय १७ रुपैयाँ पारिश्रमिक पाउनेछ ।
उनले भने, ‘हामिले धरान उपमहानगर भरिका १५, १६ वटा आयोजनाहरु छनौट गरेका छौं, त्योमध्ये एउटा महत्वपूर्ण योजना ड्रेनको माटो सफा गर्ने रहेको छ, २० नं. वार्डमा ।’ २० नं. वार्डमा १५ जनाले रोजगार पाएको छ । उनीहरुले आजबाट काम गर्न थालेको खतिवडाले बताए ।
उनले क्रमशः धरान उपमहागरका १ सय ५७ जनालाई नै एक सय दिनका लागि काम दिने बताउदै भने अरु वार्डहरुमा कामहरु गर्दै जाने जानकारी समेत दिए । यसपछि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छुट्टै बजेट आउने समेत जानकारी दिए ।
‘यो यूवाको कार्यक्रममा विशेष गरी १८ वर्ष नाघेको र ५९ वर्षभित्रको मात्र अहिले काम गर्ने रहेको छ ।, उनले भने, त्योदेखि पछाडी अर्को प्रधानमन्त्री रोजगार कार्यक्रममा ५९ वर्ष नाघेका मानिसहरुले पनि काम गर्न सक्छ । त्यसमा थप आयोजनाहरु छनौट गरेर काममा लगानेछौं ।’
उनका अनुसार अरु वार्डहरुमा काँहि ड्रेन सफा गर्नेछ, काँहि खहरे खोला सरसफाई गर्नेछ, ४ नं. वार्डमा एउटा बाटोको ट्रयाक बनाउनेछ । क्रमशः २० वटै वार्डहरुमा छनौट भएका कामहरु गर्दै जाने उनले बताए ।
धरान उपमहानगरका मेयर तिलक राईले एक सय दिनको कामले कम्तिमा रोजगारदाताको गुजारा चल्ने बताएकाछन् । मेयर राईले भने, ‘आफ्नै घरगाउँको नाला, ड्रेन खन्ने, तपाईको रोजगारी दिने, समाजमा काम पनि देखिने गरि राज्यले यस्तो परिकल्पना ल्याएको हो ।’
गतवर्ष धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत थोरै बजेट र ढिलो योजना आएको कारण त्यति धेरै प्रभावकारी हुन सकेको थिएन । तर यस वर्ष भने थुप्रै मानिसहरु रोजगारबाट लाभाम्वित हुने अपेक्षा गरिएको उनले बताए । धरान उपमहानगरले रोजगार कार्यक्रम अन्तर्गतको काम आजबाट सुरु गरेको बताउँदै मेयर राईले अबदेखि रोजगारदाताहरु राज्यको सुचिमा परेको ्बताए ।
‘यो काम मेरो अधिकार हो । ठेकेदारको काम होईन ।’ उनले भने । मेयर राईले निरन्तर सय दिन खटेर आफ्नो जिम्मेवारी, कर्तव्य र अधिकार पुरा गर्न आग्रह समेत गरेका छन् ।
उपमेयर मञ्जु भण्डारी सुवेदीले स्वदेशभित्र रोजगारीका पर्याप्त अवसरहरुको सिर्जना र कामलाई सम्मान गर्ने संस्कृतिको विकास गरी रोजगारीका लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यस कार्यक्रमको लक्ष्य रहेको बताइन् ।
वार्ड नं. २० का वडाध्यक्ष मणिराम राईले आफ्नो वडाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३१ जनाले फारम भरेकोमा १५ जना छनौट भएको जानकारी दिए । उनका अनुसार विष्णुपादुका सडक अन्र्तगत देविगाउँदेखि भञ्ज्याङसम्मको ड्रेनको माटो फाल्नु पर्नेछ । लगभग ४.६ किलो मिटर छ ।
उहाँले रोजगारदातालाई आफ्नो काम, आफ्नो गाउँ आफै बनाउ भन्ने उद्देश्य लिएर काम गर्न सुझाव समेत दिए । उपमहानगरपालिकाको तर्फ त्यहाँ खटिएका श्रमिकहरुलाई माटो फ्याल्ने ठेलागाडा २ थान (आवश्यक अनुसार थप्ने), बेल्चा ५ थान, सेफ्टी टोपी र एप्रोन समेत हस्तान्तरण गरिएको थियो ।