विराटनगर । नेकपाका प्रदेश १ का इन्चार्ज भीम आचार्यले प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि कांग्रेससंग मुख्यमन्त्रीको को बन्ने भन्ने विषयमा छलफल हुने बताएका छन ।
उनले शेरधन राई सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पारित हुने पनि दाबी गरे ।
राजनीतिक एजेण्डा मिलेका र संसदमा भएका दलसंग मिलेर अविश्वासको प्रस्ताव पारित गर्ने बताउँदै आचार्यले अब प्रदेश १ मा पनि नयाँ सरकारको अपेक्षा जनस्तरबाट समेत भईरहको चर्चा गरे ।
नेकपा प्रदेश कमिटीले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा विपक्षी दलसंग आफूले छलफल गरेको बताउँदै आचार्यले भने“कतिपय दलको केन्द्रबाट निर्णय भएर आउन बाँकी रहेको छ ।”
उनले राजनीतिक परिवेशमा असंवैधानिक कदमको विरोधमा रहेको कांग्रेस पनि अविश्वासको प्रस्तावको पक्षमा मत हाल्ने बताए ।
अहिले सरकारको विरुद्धमा आन्दोलन गरेका सबै दलको राजनीतिक एजेन्डा प्रतिगमनको विरोध रहेकोले सरकार गठनमा पनि उनीहरु सबै एकै ठाउँ हुने चर्चा गरे ।
“पहिले अविश्वास प्रस्ताव पारित गराउने छौ”, उनले भने,“त्यसपछि कांग्रेससंग पनि मुख्यमन्त्री दिने लिने विषयमा छलफल हुनछ । जनता समाजवादी पार्टीले त अविश्वासको प्रस्तावकै पारित गराउन मतदान गर्ने घोषणा नै गरिसकेको छ ।
अरु साना दलसंग पनि हामी छलफल गरिरहेका छौं ।” नेता आचार्यले माघ १६ गते विराटनगरमा गर्ने तय भएको विरोधसभामा नेकपाका अध्यक्ष सहभागी हुने र यसमा साठी हजारभन्दा धेरै सर्वसाधारण तथा पार्टीका शुभचिन्तक प्रदेश राजधानी आउने दाबी गरे ।
नेता आचार्यले प्रधानमन्त्रीको असंवैधानिक कदमले लोकतान्त्रिक प्रक्रिया नै अवरुद्ध भएको बताए । नेकपाले माघ १६ गते विराटनगरमा विरोध सभा गर्दैछ । पार्टीका अध्यक्षको उपस्थितिमा जनप्रदर्शन गर्ने र त्यसको तयारी पुरा भएको नेकपा प्रदेश १ का अध्यक्ष घनेन्द्र बस्नेतले जानकारी दिएका छन ।