विराटनगर । मिटरब्याजीलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दै पीडितहरुले अदालतको ध्यानाकर्षण गराएका छ । मोरङ जिल्ला अदालत परिसरमा पीडितले प्लेकार्ड बोकेर आफूहरुलाई न्याय दिलाई दिन माग गरेका हुन ।
ठगी गरेको आरोपमा पक्राउ परेका मन्टु भनिने सञ्जय रौनियारलाई कारवाही गर्न माग गर्दै मंगलबार पीडितहरुले मोरङ जिल्ला अदालत परिसरमा धर्ना दिएका हुन । उनीविरुद्ध सरकारी वलिकको कार्यालयले अपराधिक लाभ र ठगी मुद्दा दर्ता गराएको छ ।
रौनियारले चर्को ब्याजमा ऋण दिएर जबर्जस्ती असुल गर्ने गरेको र धेरैको विल्लीबाठ गराई दिएको पीडितको भनाइ छ । उनी विराटनगर– ९ घोगापुल चोकका बासिन्दा हुन । प्रहरीले पीडितहरुको उजुरीको आधारमा एक महिनाअघि पक्राउ गरेको हो । उनीविरुद्ध १७ वटा मुद्दा दर्ता छ ।
धनपालथान गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय विनोदकुमार सिंहले आफूहरुलाई रकम लगानी गरेर अनधिकृत रुपमा रकम असुल गर्ने रौनियारले धेरैलाई दुःख दिएकोले कडा कारवाही हुनुपर्ने आफूहरुको माग रहेको बताए ।
उनले चिनेजानेका मान्छेमार्फत पैसा अभाव भएकाहरुलाई धनीपूर्जा राखेर महंगो ब्याजमा पैसा दिने, धम्काएर पैसा असुल्ने र पैसा तिर्न सक्ने नसके जग्गा आफ्नो नाममा पार्ने गरेका थिए ।