विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिव तथा प्रदेश १ मा मुख्यमन्त्रीका दाबेदार भीम आचार्यले प्रदेश सरकार लथालिंग हिसाबले चलेकोले फेर्न प्रयास थालनि भएको बताएका छन ।
उनले सरकार ठिक ढंगले नचलेको र पार्टी चोइटिएर जाने अवस्था आएकोले अब आफूहरुले सरकार बनाउने पहल थालेको स्पष्ट गरेका छन । नेकपाको प्रदेश १ कार्यालय विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै नेता आचार्यले भने,“अब वैकल्पिक नेतृत्व चाहिने भएको छ । कसैलाई गाली गलौच गर्नु पनि छैन । आलोचना गर्नु छैन ।
संघीयताका पक्षधर हौं । लोकतन्त्रका पक्षधर पनि हौं । यसलाई बचाउन अब सबै लाग्नु पर्ने अवस्था आएको छ ।” जनमत प्राप्त सरकार ठिक ढंगले नचलाउँदा अहिलेको समस्या आएको भन्दै बैसाखमा चुनाव हुने अवस्था नरहेको र केपी ओलीको नेतृत्वमा हुने चुनाव कसैले नमान्ने अवस्था रहेको सुनाए ।
“समय कम छ चुनाव हुने अवस्था छैन । केपी ओली नेतृत्वको चुनाव कसैले नमान्ने देखिन्छ,” उनले भने,“अनि फेरि खिलराज रेग्मी जस्तो बुख्यांचा ल्याएर चुनाव गर्नुपर्ने अवस्था आउनु प्रतिगमन नै हो ।” प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएको र यसले प्रतिगामीदेखि नेपालको हित नचाहने विदेशी अनि दरबारियालाई खुसी दिलाएको बताए।
प्रदेश सरकार लथालिंग भएको, बजेट पनि आधा कटौती गर्ने अवस्था आएको भन्दै चुप लागेर बस्ने अवस्था नभएको बताए । “सरकार र संसदीय दलमा पनि अविश्वास प्रस्ताव राखेका छौं । प्रतिगामी तत्वहरु सल्बलाएका छन ।
देशको हित नचाहने खुसी भएका छन । दरबारिया खुसी भएका छन । अस्थिरतावादी खुसी छन,” आचार्यले भने,“तर स्थिरतावादी जनता बेखुसी छन । संघीय गणतन्त्रवादी जति भनेपनि काम बिगारेको छ । यो सरकार फेर्न पर्छ ।” उनले लोकतन्त्रलाई ध्यानमा राख्दै सहमतिको प्रयास शुरु गरेको र संकट आएकोले लोकतन्त्र पक्षधर सबै एक ठाउँमा बसेर समस्या समाधान गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।
अंकगणितीय हिसाबले मात्र नभएर राजनीतिक अवाश्यकताको आधारमा सबैसंग मिलेर अघि बढ्नुको विकल्प नभएको भन्दै प्रदेश १ मा सरकार गठनका लागि अन्य दलसंग पनि छलफल गरिरहेको बताए ।