विराटनगर । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शन गरेको छ ।
कांग्रेस जिल्ला कार्यसमिति मोरङको आयोजनामा तीनपैनी चौकमा भेला भई कांग्रेस नेता तथा कार्यकर्ताले विरोध जुलुस प्रदर्शन गरेका हुन । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन संविधान विपरीत भएको कांग्रेसको ठहर छ । विरोध जुलुसको नेतृत्व मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले गरेका थिए ।
जुलुसमा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे, सार्वजनिक लेखा समिति प्रदेश १ का सभापति शिवनारायण सिंह गन्गाई, प्रमुख सचेतक केदार कार्की लगायत नेता सहभागी थिए । सहभागीले प्रम केपी ओलीको विरोधमा नारावाजी गर्दै नगर परिक्रमा गरेका छन । विरोध प्रदर्शनपछि विराटनगरको महेन्द्र चौकमा विरोध सभा आयोजना गरिएको छ । सभामा बोल्ने वक्ताले संसद विघटन गणतन्त्रमाथि नै प्रहार भएको बताए ।
‘प्रधानमन्त्री अधिनायकवाद उन्मुख’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सदस्य डा. शेखर कोइरालाले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै यसलाई स्विकार गर्न नसकिने बताएका छन ।
उनले असंवैधानिक कदम गरेका प्रधानमन्त्रीले जनादेशको समेत खिल्ली उडाएको बताएका छन ।
कोइराला निवास विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी कोइरालाले वर्तमान राजनीतिक परिदृश्यबारे भने, “संविधानको कुनैपनि धारामा संसद विघटन गर्ने उल्लेख छैन तर प्रधानमन्त्रीको सिफारिस सर्वसत्तावाद हुँदै अधिनायकवादतर्फ उन्मुख हुन संविधान विपरीत काम भएको छ ।” कोइरालाले अहिले गरे जसरी संसद विघटन हुने प्रावधान नै नभएको जिकिर गरे ।
संविधानको धारा ७६ को १ देखि ७ सम्म कतै संसद विघटनको बारे उल्लेख नभएको भन्दै उनले पार्टी भित्रको द्वन्द्वलाई थेग्न नसकेर प्रधानमन्त्रीले संविधानमाथि नै प्रहार हुने गरी काम गरेको बताए ।
संसद विघटनको कदमले प्रतिगामीलाई सहयोग पुग्ने भन्दै कोइरालाले देशको निम्ति खतरा सिर्जना भएको बताए । उनले भने, ‘काग्रेसले कुनै हालतमा यसलाई स्वीकार गर्देन । त्यसको विरुद्ध आन्दोलन हुन्छ ।’