धरान । कृषिजन्य उत्पादनको बजारीकरणका लागि धरानमा सुविधा सम्पन्न शुभम कृषि उपज बजार शुरु हुने भएको छ ।
दैनिक उपभोग्य बस्तुहरु एकै स्थलमा पाईने सुविधा सहित धरान ७ को भौडी नजिकै कृषिउपज बजार संचालनमा आएको हो ।
करिव १० कठ्ठा जग्गामा ११ वर्षका लागि लिजमा लिएर व्यवसायी काजी गिरी, रुद्र न्यौपाने, दिल बहादुर राई र मुक्ति बन्धु अधिकारीले बजार शुरु गरेका हुन् ।
धरान आसपासका कृषकहरुलाई र विभिन्न ठाँउमा छरिएर रहेका व्यवसायीहरुलाई सिधै सम्पर्क गर्ने र उपभोक्ताहरुलाई शुलभ मुल्यमा सागसब्जी उपलब्ध गराउन बजार संचालनमा ल्याउने तयारी भएको संचालक काजी गिरीले बताए ।
बजारमा शौचालय, पार्किङ्ग, सुरक्षा गार्ड, सिसी क्यामेरा सहित नियमित सरसफाईको व्यवस्था गरिएको छ । ५९ वटा कोठा रहेको बजारमा जिउँदो माछा, सफा स्वास्थ्यकर मासु लगायत कृषिजन्य उत्पादनहरुको बिक्रि वितरण गरिने भएको छ ।
करिव ८० लाख रुपैयाको लगतमा निर्माण गरिएको वजारमा १० हजार, ७ हजार र ५ हजार रुपैया सम्मको कोठा भाडा रहेको छ । बजारले कृषक, व्यवसायी र उपभोक्ता तिनै पक्षलाई फाईदा पुग्ने र धरानको विकासमा समेत टेवा पुग्ने संचालकहरुको अपेक्षा रहेको छ ।