विराटनगर । प्रदेश १ संसदमा प्रमुख विपक्षी कांग्रेसले तुरुन्तै प्रदेशसभा अधिवेशन शुरु गरी बजेट संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारलाई दबाब दिएको छ ।
संसदीय दलको कार्यालयमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी कांग्रेसले अहिलेको बजेट कार्यान्वयन नै हुन नसक्ने भन्दै यसलाई संशोधन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
विपक्षी दलका नेता राजीव कोइरालाले भने, “सरकारले पहिले ल्याएका कतिपय कार्यक्रममा बजेट कार्यान्वयन हुने अवस्था देखिएको थियो तर आर्थिक मामिला मन्त्रालयले नै आधामात्र बजेट कार्यान्वयन गर्न भन्दै मन्त्रालयहरुलाई पत्राचार गरेकोले अब बजेट संशोधन गरेर जानुपर्छ । कार्यान्वयन हुन मुश्किल देखिएको छ ।”
कोइरालाले पुल–पुलेसा, मुख्यमन्त्री ग्रामीण सडक, सामुदायिक भवन र प्रदेश सरकारका महत्वका भनिएका योजनामा पनि बजेट खर्च हुने अवस्था नदेखिएको भन्दै टिप्पणी गरेका छन ।
प्रदेश सरकारका मन्त्रालय तथा कार्यालयहरुले साधारण खर्च मात्र गरिरहेको बताउँदै प्रमुख सचेतक केदार कार्कीले अब सरकारले अर्को बजेट संसदमा ल्याउनु पर्ने बताए । उनले भने, “उपभोक्ताबाट गराइएको कामको भुक्तानी भएको छैन । निर्माण कम्पनीबाट गराइएका कामको त्यही हालत छ, कसरी बजेट कार्यान्वयन हुन्छ ।”
कार्कीले मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री र भौतिक पूर्वाधार राज्यमन्त्रीका गृहजिल्ला तथा निर्वाचन क्षेत्रमा भुक्तानी दिइएको तर बाँकी ११ जिल्लामा रोकिएको बताए । भौतिक पूर्वाधार राज्यमन्त्रीले नै कुनै पनि टेन्डर आह्वान नगर्न मातहत कार्यालयलाई निर्देशन दिएकोले बजेट कार्यान्वयनमा जान नसक्ने आफूहरुको ठहर रहेको उनले बताए ।
प्रदेश सरकारले असोज २ गते सबै मन्त्रालयहरुलाई परिपत्र गरी चालु वर्षको बजेटमा विनियोजन भएका विभिन्न शिर्षकका बजेटहरु खर्च नगर्न निर्देशन दिएको छ । अस्वभाविक अंक सहित प्रस्तुत गरिएको बजेटको विषयमा उ बेलै टिकाटिप्पणी भएको कांग्रेसको ठहर छ ।
कार्की भन्छन्, “प्रदेश सरकारले संघबाट प्राप्त गर्ने भनेको ५ अर्ब ऋणको अत्तोपत्तो छैन, गत आ.ब.को रु. ५ अर्ब मौज्दातको साटो सरकारले उल्टै ३ अर्ब रुपैया बढी भुक्तानी दिनु पर्ने अवस्था भएको छ ।” प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड रुपैयाँको बजेट ल्याएको थियो । अहिले १३ अर्ब रुपैया भन्दा बढी स्रोत अभाव भइसकेकोले बजेट परिमार्जन गर्नुपर्ने ठहर भएको प्रमुख सचेतक कार्कीले बताए ।
चालु आ.व.को पहिलो चौमासिक अवधिमा प्रदेश सरकारले ७ अर्ब ३३ करोड ९९ लाख ५३ हजार ८८ रुपैयाँ मात्र आम्दानी गरेको छ । यस अवधिमा सरकारले साधारण खर्च बाहेक विकास बजेट खर्च गर्न सकेको छैन । प्रदेश १ सरकारको बजेट खर्च १२ प्रतिशत हाराहारी मात्र छ ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको नाममा निकै ठूलो आर्थिक चलखेल भएको तर जनताले भने राम्रो उपचार सेवा नपाएको कांग्रेसको आरोप छ । कार्कीले भने, “अस्पताल पुगेर धरौटी राख्नुपर्ने क्रम अझै रोकिएको छैन । सरकार छ कि छैन भन्ने जनताले कसरी महसुस गर्ने ?”
मुख्यमन्त्रीहरु शिलान्यासमा मात्र केन्द्रीत भएको र पार्टीको माथिको किचलो देखाएर प्रदेशमा पनि काम गर्न असक्षम भएको कार्कीको आरोप छ । सरकारले वहुवर्षीय योजनालाई प्राथमिकता दिने भने पनि खासै उपलब्धी नदेखिएको कामको भुक्तानी हुन नसक्दा पूर्वाधार कार्यालयका प्रमुखहरु मोबाइल स्वीचअफ गरेर बस्नुपर्ने अवस्था आएको कार्कीले बताए ।
कोभिड अस्पताल निर्माणदेखि संचालनसम्म भएका खर्चको शीर्षगत पारदर्शीता हुनुपर्ने कांग्रेसले माग गरेको छ ।
मन्त्रीहरुले फुल अप्सनसहितका सवारी साधन हुँदाहुँदै फेरि टोयोटा ब्रान्डको करोडौ मोल पर्ने गाडीमोह देखाउनुले उनीहरु जनउत्तरदायी नभएको देखिएको कार्कीले बताए । प्रदेश १ का कतिपय मन्त्रीले फूलअप्सनका स्कारपियो गाडी हुँदाहुँदै फेरि टोयोटा गाडी खरिद गरी चढ्न थालेका छन ।