धरान । प्रदेशको सरकारको तिन तहको संरचना बने पछि देशमा समृद्धि र विकाश सम्भव भएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दाबी गरेका छन् । देशको समृद्धि र विकाश संघीयताकै कारण भइरहेकोमा उनले जोड दिएका छन् ।
बेलका नगरपालिकामा निर्माण भएका भौतिक संरचनाहरुको उदघाटन गर्दै मुख्यमन्त्री राईले विकाश र पुर्वाधारका लागि काठमाण्डौंको सिंहदरबार पुग्नुपर्ने बाध्यताबाट हटेर स्थानीय तहबाटै विकाश सम्भव बनाएको बताए ।
उनले भने, एउटा सानो झोलुंगे पुल बनाउनका लागि दशौं वर्ष सिंहदरबारमा धाउनुपथ्र्यो, मन्त्री, सचिवको ढोका ढकढकाउनु पथ्र्यो र पनि बन्दैनथ्यो अहिले सहज भएको छ, देश संघीयतामा गए पछि विकाश सम्भव भएको हो ।’
अहिले स्थानीय तह र प्रदेश सरकारबाटै छिटो भन्दा छिटो विकाश र उन्नतीको चाहनालाई जनताको घरआँगनमा पुर्याएर जनतालाई धनी बनाउने अभिप्राय रहेको उनको भनाई छ ।
उनले भने, ‘कम्तीमा पनि सडकले जनताको घर आँगन जोड्न सकियोस्, ग्रामिण क्षेत्रमा उत्पादन गरेर बजार पुर्याउन सहज बनाउन सकियोस्, प्रदेश सरकारको लक्ष्य रहेको छ ।’
स्थानीय स्तरमै रोजगार, श्रमलाई आफ्नै जमिनमा खर्च गर्ने गरिको अभियानमा केन्द्रित रहेर काम गरिरहेका छौं । संघीयतामा देश नगएको भए अहिलेको जस्तो विकाश र समृद्धि सम्भव नभएको उनको भनाई छ । ३ वर्षमा ठुलो परिवर्तनको महशुष गरिएको उनले बताए ।
कार्यक्रममा उनले कोशीमा जलयात्राको लागि दोलखा सम्मको दुधकोशी, सुनकोशी, अरुण तर्फको किमाथाङका र तमोर तर्फ समेत विस्तृत अध्ययन थालिएको बताए । उनले भने, ‘विश्वको सबै भन्दा होचो क्षेत्र केचनाकवल र सबै भन्दा अग्लो सगरमाथालाई जोड्न फास्ट ट्रयाक निर्माण गरेर वार्षिक रुपमा ५५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अध्ययन भइरहेको छ, केचना देखि सगरमाथा सम्म फास्ट ट्रयाक निर्माण गरेर भविष्यमा लाखौ लाख मानिसलाई सगरमाथा पुर्याउने लक्ष्य लिएका छौं, श्रीलंका टप्पुमा जमिनको उपयोगिता, केबलकार संचालन जस्ता विकाश र समृद्धिका सम्भावनाहरुको अध्ययन भएको छ ।’
भारतको विहार, पश्चिमतिर बंगाल, सिक्कीम, बंगलादेश, भुटानका जनसंख्याको सानो हिस्सा मात्रै आए भने पनि पर्याप्त हुने उनको भनाई छ । प्रदेश सरकारले महत्वकांक्षी योजनाका साथ अघि बढिरहेको उनले बताए ।
देशै भरका सुकुम्बासी समस्या २०७८ को असोज महिना सम्ममा समाधान हुने उनले दाबी गरेका छन् । उनले भने, ‘सुकुम्बासी समस्या समाधानका लागि ऐन बनिसकेकोले अव चाडै नै समाधान हुन्छ, कानुन, ऐन, आयोग बनाएर देशै भरी पुर्जा वितरण गर्ने गरि स्थानीय तहलाई जिम्मेवार बनाएर काम अघि बढेको छ । जमिनको लालपुर्जा वितरण बेलका नगरपालिकाबाटै शुरु हुने पनि उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख दुर्गा कुमार थापाले बेलकामा निर्माण भइरहेका अन्य पुर्वाधारहरु सम्पन्न गर्न पनि प्रदेश सरकारको आवश्यक पहलका लागि आग्रह गरेका छन् । बेलका नगरमा उत्पादन भएका कृषिजन्य वस्तुहरुको सहजता पुर्वक बजारीकरणका लागि समेत टेवा पुग्ने कार्यक्रम संचालन गरिदिन अनुरोध गरेका छन् ।
उनले बेलका नगरपालिकामा निर्माण भएका ९ वटा भौतिक संरचनाहरुको उदघाटन गरेका छन् । उनले बेलका वडा नम्बर ८ मा रहेको सेती खोलामा निर्माण भएको झोलुङगे पुल, वडा नम्बर ९ को सिटि हल, आदिवासी जनजाती भवन, वडा नम्बर ४, ५, ६ को कार्यालय भवन, कोभिड अस्पताल आधारभुत स्वास्थ्य केन्द्र, खसी बोका बिक्रि केन्द्र र नगरपालिका परिषरमा रहेको महिला सुरक्षा आवासको उदघाटन गरेका थिए ।