धरान । बराहक्षेत्र–२ मा रहेको आदर्श माविको नवनिर्मित भवनको आज (शुक्रबार) उद्घाटन भएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं. १ का संघिय सांसद जयकुमार राईबाट प्राप्त रकमबाट विद्यालयको दुई तले भवन निर्माण सम्पन्न भएको हो । शुक्रबार सांसद जयकुमार राईले भवनको उद्घाटन गर्नुभएको हो ।
२० लाखको लागतमा विद्यालयको भवन निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद जयकुमार राईले विद्यालयको शैक्षिक विकासकालागी संघिय सरकारले महत्वका साथ हेरिरहेको बताए ।
उनले शिक्षाको क्षेत्र अहिले आइटिको युगमा प्रवेश गरेको भन्दै सोही अनुरुप शिक्षाको विकास गरिने बताउनुभयो । सरकारले अहिले निःशुल्क शिक्षाको अवधारणा अघि सारेको भन्दै ग्रामिण भेगमा समेत प्राविधिक शिक्षा र व्यवहारिक शिक्षाको विकास गर्न सरकारले योजना बनाइसकेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधानाध्यापक प्रल्हाद भट्टराईले विद्यालयलाई भौतिक सुविधा सम्पन्न बनाउन सबै पक्ष लागि पर्न आह्वान गरे ।
उनले संघिय सांसद जयकुमार राईले आदर्श माविको भवन बनाउन पहल गरी बजेट विनियोजन गरिदिनुभएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताए ।
प्रअ भट्टराईले आदर्श माविमा बराहक्षेत्रको मात्र नभई उदयपुर तथा भोजपुरको दक्षिणी भेटबाट समेत विद्यार्थी आएर अध्ययन गर्ने भएकोले विद्यालयको विकासकालागी तीनै तहका सरकारबाट सहयोग हुनुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सांसद उमिता बराईली, बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, २ नं. वडाका वडाध्यक्ष हरिशरण भट्टराई, ४ नं. वडाका आशाराम चौधरी लगायतले बोलेका थिए ।