मोरङ । विभिन्न मन्त्रालयहरुबाट प्रदान गरिने सिपमुलक तालिमलाई एक रुपता दिन प्रदेश नम्बर १ मा अध्ययनका लागि कार्यदल गठन गरिएको छ ।
सामाजिक विकाश मन्त्रालयको संयोजकत्वमा तिन मन्त्रालयका महाशाखा प्रमुख सदस्य रहने गरि कार्यदल गठन गरिएको हो । सामाजिक विकाश मन्त्रालय, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय बिच भएको छलफलले बनाएको कार्यदललाई तालिम सञ्चालनको खाँका तयार गर्ने जिम्मेवारी दिईएको छ ।
सीपमुलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरुपता दिनेगरि मन्त्रालयवीच छलफल भएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा छलफल भएको थियो । प्रदेश स्तरमा उद्यमशिलता संवन्धि तालिम सञ्चालन गर्दा दोहोरोपना आउने गरेकाले त्यसलाई हटाउने गरि तीनवटा मन्त्रालयवीचमा छलफल गरिएको सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखाका शाखा अधिकृत प्रदीप गौतमले बताए ।
उनका अनुसार चालु आर्थिक बर्ष २०७७÷०७८ मा तीनवटै मन्त्रालय, संघको सशर्त र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभीटी) ले तालिमका लागि करिव ३० करोड बजेट विनियोजन भएको छ । कोरोना संक्रमणका कारण सवै तालिम सञ्चालन गर्न नसकिने र सञ्चालित तालिममा पनि दोहोरोपना हटाउन र पारदर्शीताका लागि छलफल भएको उनको भनाई छ ।
कार्यदलको सुझाव अनुसार नीतिगत रुपमा कार्यक्रम सञ्चालनको मार्गदर्शन तयार गरिएको श्रम तथा रोजगार शाखाका अधिकृत गौतमले बताए । छलफल कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर, भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले लगायतको सहभागिता रहेको थियो ।