बराहक्षेत्र । स्थानीय उत्पादनको चिस्यानका लागि वराहक्षेत्र नगरपालिकाले ७० मेट्रिक टनको कोल्डस्टोरको निर्माण अन्तिम चरणमा पुर्याएको छ ।
प्रदेश १ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा विनियोजित ७५ प्रतिशत रकम र वराहक्षेत्र नगरपालिकाको २५ प्रतिशत अनुदानमा कोल्डस्टोर निर्माण भइरहेको छ ।
वराहक्षेत्र ६ स्थित निर्माणाधीन कोल्डस्टोर भवनमा कूल ७० मेट्रिक टन क्षमताको ३ वटा च्याम्बर राखिने वराहक्षेत्र नगरपालिकाकी कृषि शाखा प्रमुख तुलसा लिम्बूले जानकारी दिइन् ।
वराहक्षेत्रमा उत्पादित आलु र प्याज लगायतका उत्पादन चिस्यानका लागि विराटनगर लानुपर्ने बाध्यता रहेको छ । उनले भनिन्, ‘यहाँ उत्पादित आलु तथा प्याज चिस्यानका लागि विराटनगर लानुपर्ने बाध्यता भएकाले कोल्डस्टोरको आवश्यक्ता थियो, पुषभित्रमा काम सम्पन्न भइसक्ने छ ।’ कोल्डस्टोर निर्माण भए पछि बराहक्षेत्र नगरपालिकाका कृषकहरुले उत्पादन गरेका वस्तुहरु लामो समय सम्म स्टोर गर्न सक्ने भएका छन् ।
कृषि तथा पशु उत्पादनका दृष्टिले वराहक्षेत्र नगरपालिका आत्मनिर्भर नगर हो । तराईदेखि पहाडी क्षेत्र रहेको नगरमा विभिन्न उत्पादनका ब्लक, जोनका रुपमा विकास भएको नगर प्रमुख निलम खनाल बताउँछन् ।
नगरको तराई क्षेत्रमा पर्ने वडा नं. ९, १० र ११ लाई माछा जोनका रुपमा विकास गरिएको छ । बंगुर जोनका रुपमा पनि यो क्षेत्रलाई विकास गरिएको नगर प्रमुख खनाल बताउँछन् । वराहक्षेत्रको पहाडी क्षेत्र वडा नं. १ लाई बेसार, अदुवा जोनका रुपमा विकास गरिएको छ ।
अम्लिसो लगायतको उत्पादनमा प्रोत्साहित गरिएको छ भने व्यवसायिक रुपमा तरकारी खेती, कफी र स्ट्रबेरी खेतीलाई प्रोत्साहित गरिएको छ ।
सिचाइको उचित व्यवस्था भएका कारण तरकारी खेतीमा समेत नगरको तल्लो भूभाग आत्मनिर्भर रहेको कृषि शाखाका जेटिए निरबहादुर राई बताउँछन् ।
उनी भन्छन् ‘वडा नं. ६, ८, ९, १० र ११ लगायतका वडामा व्यवसायिक तरकारी खेती गरिन्छ, नगर धान, मकैमा आत्मनिर्भर छ ।’ जेटिए राईका अनुसार तेलहन बाली अन्तर्गत तोरी लगायतको उत्पादनमा आत्मनिर्भर छ भने सूर्यमुखी खेतीलाई ब्लकका रुपमा विकास गरी उत्पादन गर्न कृषकलाई प्रोत्साहित गरिएको छ ।