धरान । पर्यटकीय गन्तव्यको विकाशमा अग्र रहेको धरान उपमहानगरपालिकाले थप गन्तव्यका लागि वडा नम्बर ६ को पानवारीमा पाँचकन्या पार्क निर्माण गर्ने भएको छ ।
पार्क निर्माणका लागि विस्तृत परियोजना रिपोर्ट समेत तयार गरेको छ । पाँचकन्या सामुदायीक वन उपभोक्ता समुहले विस्तृत परियोजना रिपोर्ट बनाएको छ ।
वनको परिषरमा करिब ५ विगाहा क्षेत्रफलमा बन्ने पार्कमा चिल्ड्रेन्स पार्क, मिनि चिडिया घर, पिकनिक स्पोर्ट, हरियाली पार्क, स्विमिङ पुल, सेमिनार हल, मनोरञ्जन स्थल लगायतको निर्माण गरिने वनका अध्यक्ष रमेश पौडेलले बताए ।
उनका अनुसार धरान पर्यटकीय नगर भएको र विशेष गरी पूर्व पाँचकन्या गाविस धरानमा समाहित भएपछि पाँचकन्याको अस्तित्व नै लोप भएका कारण पनि पाँचकन्या पार्कको नामले आफ्नो पहिचान कायम राख्न पार्कको अवधारणा ल्याइएको हो ।
पार्कको डिपिआर निर्माण भइसकेको बताउँदै वनका उपाध्यक्ष मेघराज खत्रीले आवश्यक बजेटका लागी पहल भइरहेको बताए । पाँच करोड बढीको लगानीमा बन्ने पार्कले पानवारीको मात्र नभइ धरानकै एक उत्कृष्ट गन्तव्य बन्ने खत्रीको भनाइ रहेको छ ।